एकिन्द्र तिमिल्सेना
टीकापुर, माघ ७ गते । कैलालीको प्रतिनिधि सभा क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टी नेपालको तर्फबाट मनोनयन दर्ता गराउनुभएका रेशमलाल चौधरीको उम्मेदवारीविरुद्ध उजुरी परेको छ ।
स्वतन्त्र उम्मेदवार सत्यनारायण भट्टराईको उजुरी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ कैलालीले जनाएको छ । उजुरीकर्ता भट्टराईले प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका २०८२ को दफा १६ को (घ) अनुसार कुनै कसुरमा जन्मकैद सजाय पाई त्यस्तो फैसला अन्तिम भएमा त्यस्तो सजाय पाउने व्यक्तिले निर्वाचनको उम्मेदवार हुन नपाउने, अयोग्य हुने भन्ने कानुनी व्यवस्था रहेको छ ।
२०८० जेठ २ गते २०७७–सीआर १०७५ भई सर्वोच्च अदालतबाट जन्मकैद सजाय भई उक्त मुद्दाको अन्तिम फैसला भएकाले मनोनयनपत्र बदर गरी पाउँ निवेदन दिनुभएको निर्वाचन अधिकृत देवराज भारतीद्वारा जारी सूचनामा उल्लेख छ ।
२०७२ सालमा टीकापुरमा भएको घटनाका दोषी ठहर भएका चौधरी २०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । शपथ खाए पनि संसद भवन छिर्न पाउनुभएको थिएन । २०७८ मा जेलबाटै नागरिक उन्मुक्ति पार्टी खोलेका रेशमले राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएपछि नयाँ पार्टी खोल्नुभएको थियो ।
निर्वाचन कार्यालयले २०८२ माघ ८ गते बिहान १०ः३० बजेभित्र आफ्ना सबुत प्रमाणसहित उपस्थित हुन भनेको छ ।