• ७ माघ २०८२, बुधबार

उपराष्ट्रपति यादवसँग भारतीय निमित्त राजदूत पाण्डेको शिष्टाचार भेट

blog

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेट गर्नुहुँदै नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा. राकेश पाण्डे।

काठमाडौँ, माघ ७ गते। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा. राकेश पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बुधबार भएको भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीय सम्बन्ध, सहयोग तथा अन्य विविध आयामका विषयमा छलफल भएको थियो ।

उपराष्ट्रपति यादवले नेपाल–भारत सम्बन्ध सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, प्राविधिक तथा जनस्तरमा सदियौंदेखि प्रगाढ रहिआएको उल्लेख गर्नुभयो।

उहाँले नेपाल–भारत सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको बताउँदै नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको बताउनुभयो। साथै, भारत सरकारले छिमेकीसँगको सम्बन्धलाई विशेष प्राथमिकता दिने नीति अवलम्बन गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो। 

उपराष्ट्रपति यादवले भारत नेपालको एक महत्त्वपूर्ण विकास साझेदारको रूपमा रहेको उल्लेख गर्दै आर्थिक तथा प्राविधिकसहित विभिन्न क्षेत्रमा भारतले पुर्याउँदै आएको उल्लेखनीय सहयोगप्रति धन्यवाद समेत व्यक्त गर्नुभयो।

उहाँले निमित्त राजदूत डा. पाण्डेमार्फत् भारतका उपराष्ट्रपति सिपी राधाकृष्णनको सुस्वास्थ्य तथा भारतीय जनताको प्रगति र समृद्धिको शुभकामना दिनुभयो।

उक्त अवसरमा भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा. राकेश पाण्डेले नेपाललाई भारतले हरेक क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताउनुभयो।

उहाँले विशेषगरी खेलकुदको क्षेत्र, विशेषतः क्रिकेटमा सहयोग गर्न भारत इच्छुक रहेको उल्लेख गर्दै नेपालका रेलवे क्षेत्रमा समेत सक्दो सहयोग गर्न भारत तयार रहेको बताउनुभयो।