• ७ जेठ २०८१, सोमबार

अठ्ठाइस वर्षमा पनि पूरा भएन सडक

गाईघाट–दिक्तेल सडकको प्रगति शून्य

blog

गाईघाट, असार ३० गते । ठेक्का लिने अनि काम नगर्ने निर्माण व्यवसायीको चरम लापरबाहीका कारण गाईघाट–दिक्तेल सडक निर्माणमा व्यापक ढिलासुस्ती भएको छ । सगरमाथा लोकमार्गअन्तर्गत खोटाङ र उदयपुर जिल्ला सदरमुकाम जोड्ने गरी २०५१ सालबाट निर्माण सुरु भएको उक्त सडक २८ वर्ष बितिसक्दा पनि अझै कालोपत्रे हुन सकेको छैन । 

यस सडकको उदयपुर खण्डमा हालसम्म २५ किलोमिटर मात्र कालोपत्रे भएको छ । त्यसमाथि अघिल्ला वर्ष गरिएको कालोपत्रे उक्किएर ठाउँठाउँमा खाल्टासमेत पर्न थालेको छ । १७ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेकोमा निर्माण व्यवसायीले काम नगर्दा आर्थिक वर्ष २०७८/०७९ मा प्रगति शून्य भएको यहाँस्थित गाईघाट–दिक्तेल सडक आयोजना प्रमुख गोपालप्रसाद खकुरेलले बताउनुभयो ।

वार्षिक शून्य दशमलव ८८ प्रतिशतको क्रममा कालोपत्रे हुने गरेको कूल १०१ किलोमिटर लम्बाइको गाईघाट–दिक्तेल सडक खण्डमा चार वर्षअघि आयोजना कार्यालय गाईघाटले तीनवटा प्याकेज बनाई बोलपत्र आह्वान गरेर कालोपत्रे गर्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । त्यसमध्ये दुईवटा निर्माण कम्पनीले कालोपत्रको काम शून्य र एउटाले करिब चार किलोमिटर मात्र काम गरेको आयोजना प्रमुख खकुरेलले बताउनुभयो । दुईवटा राष्ट्रिय गौरवका आयोजना मदन भण्डारी र मध्यपहाडी लोकमार्गलाई जोड्ने यो सडक निर्माणमा भइरहेको ढिलासुस्तीका कारण आयोजना नै प्रभावित बनेको खकुरेलको भनाइ छ ।

खोटाङ जिल्लालाई गाईघाट हँुदै तराईसँग जोड्ने र दुर्गम क्षेत्रका जनतालाई आर्थिक समृद्धितर्फ अघि बढाउने उद्देश्य अनुरुप २९ वर्ष अघिबाट यो लोकमार्गको काम सुरु गरिएको हो । निर्माणका क्रममा व्यापक ढिलासुस्ती भएको खोटाङ जिल्लाका प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वी र दक्षिणी भेगका जनताका लागि असाध्यै छोटो र भरपर्दो भनेकै सगरमाथा लोकमार्ग हो । यो सडक निर्माण हुनासाथ आवागमनमा मात्र सहज हुने होइन, आर्थिक समृद्धिको हिसाबले पनि अत्यन्तै फलदायी हुने भएकोले समयमा निर्माण सम्पन्न गर्नका लागि प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्मलाई ध्यानाकर्षण गराएको छु ।” 

आयोजना प्रमुख खकुरेलका अनुसार काम छिटो सक्न तीनवटा प्याकेज बनाइ बोलपत्र आह्वान गरिएको थियो । त्यसमध्ये खोटाङ खण्डको फोक्सिन्टार–सिम्पानी २६ किलोमिटर सडकको कालोपत्रे चार वर्षभित्रमा सम्पन्न गर्ने गरी देवनारायण पवन–मैनाचुली–खम्पाच्यले भ्याटसहित ५५ करोड ८७ लाख रुपियाँमा २०७३ साउन ११ गतेमा सम्झौता गरेको थियो । 

त्यसैगरी खोटाङ खण्डकै सिम्पानी–माहुरे २२ किलोमिटर सडक चार वर्षभित्र कालोपत्रे गरिसक्ने गरी भारत कन्सट्रक्सन–सिद्धिसाही जेभीले ४१ करोड ५० लाख रुपियाँमा २०७३ असार ३० गते सम्झौता गरेको प्रमुख खकुरेलले बताउनुभयो । दुवै प्याकेजले कटिङ, नाला निर्माण, सम्याउनेजस्ता काम गरे पनि मुख्य कार्यभार कालोपत्रे भने नगरेको उहाँको भनाइ छ ।

सबैभन्दा लामो उदयपुर खण्डको साउने–फोक्सिन्टार ३० किलोमिटर सडक दि–कञ्चनजङ्घा गोल्डेनगेट गुड जेभीले चार वर्षमा सम्पन्न गर्नेगरी २०७३ भदौ १२ गते कालोपत्रेका लागि मात्र २७ करोड रुपियाँमा सम्झौता गरेकोमा यसले पनि करिब चार किलोमिटर मात्र काम गरेको छ ।

त्रियुगा नगरपालिका–१४, साउनेदेखि रौतामाई गाउँपालिका–५, फोक्सिन्टारसम्मको यो खण्डमा निर्माण कम्पनीले करिब चार किलोमिटर मात्र कालोपत्रे गरेको उहाँको भनाइ छ । उहाँका अनुसार १०१ किलोमिटरमध्ये हालसम्म कालोपत्रे २५ किमी, ग्रावेल ३१ किमी र माटे सडक ४५ किलोमिटरको काम भैसकेको छ । कतिपय स्थानमा कमजोर धरातलीय अवस्थिति भएकोले निरन्तर खसिरहने पहिरोका कारण पनि काम गर्न जटिलता रहेको उहाँ बताउनुहुन्छ । 

दिक्तेलसम्मको १३१ किलोमिटर सडकमध्ये ३० किलोमिटर मध्यपहाडी लोकमार्गमा पर्ने भएपछि त्यसबाहेकको १०१ किलोमिटरको काम गर्नुपर्ने भएको हो । सरकारले यस सडकलाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४० करोड रुपियाँ विनियोजन गरेको र निर्माण कम्पनीहरूले भने अनुसार एक वर्षको म्याद पनि थप्ने निर्णय गरेकोले आगामी भदौबाट सडक कालोपत्रे गर्ने कामले गति लिनसक्ने उहाँले बताउनुभयो ।

आयोजनाअन्र्तगत उदयपुर खण्डतर्फ ५२ दशमलव ५० र खोटाङतर्फ ४८ दशमलव ५० किलोमिटर पर्दछ । सडक निर्माणका क्रममा बीचमा रहेका सानाठूला गरी सुनकोसी नदीबाहेकका पाँचवटा पुल भने निर्माण सम्पन्न भइसकेको आयोजना कार्यालयले जानकारी दिएको छ ।

Author

भक्तिविलास पोखरेल