• १९ साउन २०८२, सोमबार

प्रधानमन्त्री ओली तुर्किमेनिस्तान प्रस्थान (फोटो फिचर)

blog

प्रधानमन्त्री ओली चार दिनका लागि तुर्किमेनिस्तान प्रस्थान गर्नुहुँदै । तस्बिरः केशब गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १९ गते । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार मध्यराति तुर्किमेनिस्तान प्रस्थान गर्नुभएको छ । तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको हो । 

साउन २० देखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्रीसँग भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्यबहादुर थापा क्षेत्री र उच्चपदस्थ सरकारी अधिकारीहरूको सहभागिता रहेको छ । प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री ओलीलाई विदाई गर्न विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, परराष्ट्र मन्त्री डा. आरजु राणा, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव लगायतको उपस्थिति रहेको थियो । 

प्रधानमन्त्रीको अनुपस्थितिमा जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहज्यूले सम्हाल्नेगरी तोक्नुभएको छ।"