• ११ मंसिर २०८१, मङ्गलबार

उनन्तीस महिनापछि चयन हुँदै उपसभामुख

blog

काठमाडौँ, असार ३० गते । पद रिक्त भएको साढे दुई वर्षपछि प्रतिनिधि सभाका उपसभामुख चयनको प्रक्रिया अघि बढाइएको छ । सत्ता गठबन्धनमा आबद्ध दलबीचको राजनीतिक समझदारीपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिनुभएको छ । सदनबाट भएको निर्देशनसँगै सचिवालयले बुधबार नै निर्वाचन कार्यतालिका प्रकाशन गरिसकेको छ । कार्यतालिकाअनुसार शुक्रबार उपसभामुख चयनका लागि निर्वाचन हुनेछ । 

पद रिक्त भएको २९ महिनापछि पदपूर्ति हुन लागेको हो । २०७६ माघ ६ गते तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि पद रिक्त थियो । तत्कालीन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तुम्बाहाङ्फेले राजीनामा दिनुभएको थियो । सभामुखमा उहाँले दाबी पेस गर्नुभएको थियो । 

प्रतिनिधि सभाको सभामुख तथा उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ । सोअनुसार अब नेकपा (माओवादी केन्द्र) बाहेकका दलबाट महिला नै उपसभामुखको उम्मेदवार हुनेछन् । प्रतिनिधि सभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बिहीबार बिहान ११ देखि अपराह्न १ बजेसम्म मनोनयनको समय तोकिएको छ । यस्तै उम्मेदवारको नामावली प्रकाशन बिहीबारै हुनेछ । शुक्रबार अपराह्न ३ बजेको बैठकमा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ । एकमात्र प्रस्ताव परेमा निर्विरोध चयन हुनेछ । 

दलीय समझदारी नबन्दा सदन २९ महिनासम्म उपसभामुखविहीन थियो तर प्रतिनिधि सभाको चुनावको मिति घोषणाको तयारी भइरहँदा उपसभामुख चयनमा दलहरू सहमत भएका हुन् । यसअघि सङ्घीय संसद्मा सभामुखमा कृष्णबहादुर महरा र उपसभामुखमा तुम्बाहाङ्फे निर्वाचित हुनुभएको थियो । तत्कालीन अवस्थामा माओवादी केन्द्रबाट महरा सभामुख चयन हुनुभएको थियो । 


Author

नारायण काफ्ले