• १३ साउन २०८१, आइतबार

किसानलाई राहत वितरण

blog

अमरगढी समाचारदाता

डडेल्धुरा, असार ३० गते । सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गत वर्षको बाढीले क्षति पु¥याएका परिवारलाई राहत रकम प्रदान गरेको छ । गत वर्ष असोज, कात्तिक महिनामा परेको पानीले डडेल्धुराका सातवटा स्थानीय तहमा बालीनाली बगाएको थियो ।

बुधबार जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल एवं पशुविज्ञ केन्द्रले सङ्कलन गरेको क्षतिको विवरणका आधारमा पीडितलाई राहत वितरण गरिन लागेको जनाइएको छ । 

धानबाहेक कृषिबाली र पशुपन्छीमा भएको क्षतिअनुसार राहत उपलब्ध गराउन लागेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समिति संयोजक मोहनराज जोशीले बताउनुभयो । धानमा भएको क्षतिको राहत वितरणका लागि प्राप्त भएको ७५ लाख रुपियाँमध्ये ७२ लाख रुपियाँ पीडितलाई वितरण गरिसकेको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । 

क्षतिको विवरणअनुसार हुन आउने रकम पीडितका बैङ्क खातामा जम्मा गरिएको उहाँले बताउनुभयो । अहिले पनि ठूलो रकम र बैङ्कमा खाता भएकालाई खातामा नै र बैङ्कको पहुँचमा नभएकालाई पालिकाले घरमै राहत रकम पु-याउने निर्णय भएको उहाँले बताउनुभयो । 

कृषि विकास अधिकृत चन्द्रदेव भट्टका अनुसार ६६६ जनाको अन्नबालीमा क्षति भएको विवरण कृषि ज्ञान केन्द्रमा सङ्कलन भएको छ । डडेल्धुरामा जम्मा ३९ लाख १६ हजार तीन सय रुपियाँ बराबर क्षति भएको विवरण सङ्कलन भएको छ । यस्तै पशुपन्छीतर्फ ५० जना स्थानीयले पालेका पशुपन्छीमा भएको क्षतिको रकम तीन लाख ६१ हजार रुपियाँ बराबर रहेको विवरण सङ्कलन प्राप्त भएको पशु विकास अधिकृत देवराज भट्टले बताउनुभयो ।