• ११ मंसिर २०८१, मङ्गलबार

उत्पादन केन्द्रित नीति ल्याउन सुझाव

blog

काठमाडौँ, असार ३० गते । नेपाल उद्योग परिसङ्घले स्वदेशी उत्पादन प्रवद्र्धन र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी केन्द्रित गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन सुझाएको छ । मङ्गलबार नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर अर्थतन्त्रको अहिलेको प्रतिकूलतालाई सम्बोधन हुने नीति ल्याउन सुझाव दिएको हो ।  

लगानीयोग्य तरलताको अभाव, भुक्तानी सन्तुलन, विश्व भू–राजनीति र मूल्य वृद्धिजस्ता चुनौती सामना गर्नेगरी मौद्रिक नीति ल्याउन परिसङ्घले सुझाव दिएको छ । परिसङ्घले तरलताको राम्रो व्यवस्थापन, विदेशी मुद्रा नेपालमा भिœयाउने एवं लगानीलाई उत्पादनशील र प्राथमिकताप्राप्त क्षेत्रमा निर्देशित गर्नेगरी मौद्रिक नीति ल्याउन आग्रह गरेको छ ।

आगामी आर्थिक वर्ष नेपालको आयात, भुक्तानी सन्तुलन, विदेशी मुद्रा सञ्चितिजस्ता बाह्य क्षेत्रमा सुधार हुने सङ्केत देखिएको भन्दै परिसङ्घ अध्यक्ष विष्णुकुमार अग्रवालले समग्र मागमा सङ्कुचन नआउने गरी मौद्रिक नीति ल्याउन सुझाउनुभयो । अधिकांश क्षेत्रमा मागमा कमी आएको कारण उद्योग व्यवसायको आयमा नकारात्मक प्रभाव पर्ने र यसले गर्दा बैङ्क तथा वित्तीय संस्थाको लगानीलाई थप सङ्कुचित बनाउनेतर्फ सचेत हुन राष्ट्र बैङ्कलाई आग्रह गरिएको छ ।