• १३ साउन २०८१, आइतबार

बजेटमाथि मुख्यमन्त्रीको स्पष्टीकरण

blog

सन्तोष सुवेदी

कास्की, असार ३० गते  । गण्डकी प्रदेश सरकारको बजेटमा आफन्त तथा परिवारलाई समेटेको विषयमा चर्को आलोचना बढ्दै गएपछि मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले संसद्माजवाफ दिनुभएको छ । 

मुख्यमन्त्री पोखरेलले सभामुखसँग विशेष समय मागेर ‘बजेट कुनै व्यक्ति र परिवारले दिएको दान उपदान नभएको’ प्रस्ट पार्नुभयो । ट्रस्ट वा प्रतिष्ठानका नाममा छुट्ट्याइएको बजेटलाई प्रदेशको प्राथमिकताका आधारमा खर्च गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको जानकारी पनि उहाँले दिनुभयो । 

उहाँले भन्नुभयो, “गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रममा समावेश गरेका कार्यक्रम तथा बजेटका विषयमा नागरिकस्तरबाट जुन असन्तुष्टि व्यक्त भयो, त्यसप्रति उच्च कदर गर्दै प्राथमिकताको क्षेत्रमा खर्चिने निर्देशन दिइसकेको छु ।”

मुख्यमन्त्री, मन्त्री, सांसददेखि नेताहरूले परिवारका नाममा ट्रस्ट र प्रतिष्ठानलाई बजेट छुट्ट्याएपछि व्यापक विरोध भएको छ । प्रतिपक्ष दल नेकपा एमालेले सडकदेखि सदनसम्म विरोध गर्दै आएको छ । 

प्रदेश सरकारको बजेटमा मुख्यमन्त्री पोखरेलका पिताको ट्रस्टमा ५० लाख, शिक्षा तथा बालबालिकामन्त्री मेखलाल श्रेष्ठका मातापिताको ट्रस्टका लागि एक करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । मन्त्री श्रेष्ठले विरोधपछि बजेट फिर्ता घोषणा गरिसक्नुभएको छ । 

त्यस्तै कांग्रेस नेता अर्जुन जोशीका पिताको नामको पार्कलाई २० लाख, जनमोर्चा सांसद पियारी थापाका श्रीमान् अध्यक्ष रहेको गाउँमैत्री कोषलाई ६० लाख, जसपा सांसद धनमाया लामाका जेठाजु भीमसेन पोखरेल नामको संस्थालाई ५० लाख र नेकपा माओवादी केन्द्रका सांसद विनोद केसीका दाइको स्मृति प्रतिष्ठानलाई १२ लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो । 

मुख्यमन्त्री पोखरेलले ‘हिजोको सरकारले मन्त्री रवीन्द्र अधिकारीको नामको संस्थामा रकम विनियोजन हुँदा कोही केही नबोलेको उल्लेख गर्दै भन्नुभयो, “जसले मुलुकको परिवर्तनका लागि लड्यो, इतिहासका लागि आफूलाई समर्पित ग¥यो, त्यस्ता व्यक्तिलाई राष्ट्रबाट सम्मान हुनुपर्छ । म सम्मानसाथ नाम लिन्छु, हिजोको सरकारले रवीन्द्र अधिकारी नामको संस्थामा रकम विनियोजित ग¥यो, हामीले विरोध गर्न जरुरी ठानेनौँ, केही बोलेनौँ ।” उहाँले थप्नुभयो, “किनभने त्यो हैसियत उहाँमा थियो, हामीले नै उहाँको योगदानको कदर गर्नुपर्छ भन्यौँ ।” 

त्यस्तै बीपी कोइराला, पुष्पलाल र गणेशमान सिंहका नाममा प्रतिष्ठानहरू छन् । तिनलाई सङ्घीय सरकारले बजेट दिने गरेको छ । उहाँले भन्नुभयो, “केन्द्रीय सरकारले पनि यस्ता धेरै व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । हामीले पनि नयाँ कार्यको थालनी गर्ने जमर्को गरेका हौँ ।” 

यो बजेट परिवारलाई बाँडेर खान दिएको होइन, परिवारले खान नपाएर मागेको पनि होइन, ती व्यक्तिहरूको नाम अमर रहोस् भन्ने उद्देश्यले बजेट छुट्ट्याइएको स्पष्टोक्ति उहाँको थियो । गोवद्र्धन शर्मा आफ्नो पिताजी भएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “गोवद्र्धन शर्मा मेमोरियल ट्रस्ट छ, त्यसलाई बढी हाइलाइट गरिएको, उहाँको योगदानलाई बिर्सने काम भयो । लोकतान्त्रिक आन्दोलन हाँक्ने पुराना नेताहरूमध्ये गोवद्र्धन शर्मा र एकदेव आले तनहुँ जिल्लावासी हुनुहुन्छ ।”

२००७ सालको क्रान्तिमा एकैपटक छ जना सहिद भए पनि शर्मा र आले बाँचेर शैक्षिक, छुवाछूत, हलो क्रान्तिको आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । समाज परिवर्तनका लागि आफूहरू जातबाट पनि च्यूत भएर बस्नुपरेको मुख्यमन्त्री पोखरेलले स्मरण गर्नुभयो । 

२०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरिसकेपछि उहाँहरू आठ वर्ष प्रवासमा बस्नुपरेको सुनाउँदै उहाँले इतिहासमा त्यस्ता पनि व्यक्तिहरू हुनुहुन्छ, जो न राष्ट्रको कुनै पदमा बस्नुभयो, न पदको लाभमै, जो जिन्दगीभर आफ्नो व्यक्तिगत 

लाभको कुरामा लाग्नुभएन । यस्ता व्यक्तिलाई राष्ट्रले सम्झने कि नसम्झने ? उहाँले प्रश्न राख्नुभयो । प्रदेश सरकारबाट विभिन्न व्यक्तिको ट्रस्टका नाममा छुट्ट्याइएको बजेट चर्को विरोधपछि फिर्ता गरिएको छ ।