• ७ जेठ २०८१, सोमबार

लिम्बू समुदाय सिरिजङ्गा सिक्दै

blog

ठाकुर सेनेहाङ

तेह्रथुम, असार ३० गते । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१ का बृखनारायण लिम्बूले ५७ वर्षको उमेरमा लिम्बू सिरिजङ्गा लिपि सिक्ने अवसर पाउनुभयो । बाल्यकालदेखि नै लिम्बूभाषा बोल्दै आउनुभएका उहाँलाई लिपिबारे भने जानकारी थिएन । “हाम्रो पनि लिपि हुन्छ भन्ने सुनेको थिएँ तर देखेको थिइन,” उहाँले भन्नुभयोे, “आफूले बोल्ने भाषाको लिपि सिक्न पाउँदा खुसी लागेको छ ।” 

खस भाषाको प्रभावले आफ्नो भाषा तथा लिपि हराउँदै गएको भन्दै म्याङ्लुङ नगरपालिकाका लिम्बू समुदाय सिरिजङ्गा लिपि सिक्न थालेका छन् । मातृभाषालाई प्राथमिकता दिन आवश्यक भएकाले नगरपालिकाका लिम्बू समुदाय आफ्नो मातृभाषा तथा लिपि सिक्न थालेका हुन् ।

देशमा अनेक राजनीतिक परिवर्तन आए पनि भाषा तथा लिपि संरक्षणमा राज्यले ध्यान नदिएकाले किराँत याक्थुङ चुम्लुङको अगुवाइ र पहलमा लिपि सिकाउन सुरु गरिएको हो । म्याङ्लुङ नगरपालिका–१ को सहयोगमा लिपि प्रशिक्षणमा किराँत सिरिजङ्गा लिपिको स्वर वर्ण, व्यञ्जन वर्ण, व्याकरण, शब्दार्थ, गणितीय सङ्ख्यालगायत विभिन्न विषयमा प्रशिक्षण गराइएको चुम्लुङका पूर्वअध्यक्ष गणेशकुमार सेनेहाङले जानकारी दिनुभयो । “आफ्नो भाषा र लिपि संरक्षणका लागि पहल गरिरहेका छौँ, यसमा सरकारको साथ र सहयोग पनि आवश्यक छ,” उहाँले भन्नुभयो ।

आफ्नो अस्तित्व र पहिचान झल्किने सिरिजङ्गा लिपि सिक्न पाउँदा सहभागी उत्साहित छन् । हरेक जातिको आफ्नै भाषा र लिपि भएकाले राज्यले यसको निरन्तरता दिनेबारे नीति बनाउन आवश्यक रहेको सहभागी इक्सा लिम्बूले बताउनुभयो । “प्रत्येक सामुदायिक विद्यालयमा ऐच्छिक विषयमा सिरिजङ्गा लिपिको पाठ्यपुस्तक समावेश गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

बहुजाति, बहुभाषी तथा बहुसांस्कृतिक मुलुक भएकाले हरेक जातजातिको भाषा र लिपि संरक्षण गर्न राज्यले ध्यानदिनु जरुरी रहेको म्याङ्लुङ नगरपालिका–१ का वडाध्यक्ष बुद्धिराज लिम्बूूको भनाइ छ । वडाले वार्षिक कार्यक्रममा ‘सिरिजङ्गा लिपि संरक्षण कार्यक्रम’ अघि सारेको पनि उहाँले जानकारी दिनुभयो ।

स्थानीय सरकार जनताको सरकार भएकाले विभिन्न जातजातिको भाषा, लिपि, संस्कार र संस्कृति बचाउनु आफ्नो कर्तव्य भएको उहाँको तर्क छ । स्थानीय सरकार सञ्चालन ऐनमा मातृभाषाबाट शिक्षा दिन र लिनका सोहीअनुसारको शैक्षिक संस्था खोल्न पाउने अधिकार उल्लेख छ तर हालसम्म कार्यान्वयन नभएको चुम्लुङका पूर्वसचिव तेजमान कन्दङ्वाले गुनासो गर्नुभयो । “सङ्घीयता आएपछि हाम्रो भाषा र लिपि झन धरापमा पर्दै गएको छ,” उहाँले भन्नुभयो, “आयातित भाषाले लिपिलाई विस्थापित गरेको छ ।” 

प्राचीन सभ्यतादेखि नै अस्तित्वमा रहेको किराँत सिरिजङ्गा लिपि पछिल्लो समय हराउन लागेकोमा लिम्बू समुदायका अगुवाले चिन्ता व्यक्त गरेका छन् । तेह्रथुममा लिम्बू समुदायको ४२ प्रतिशत जनसङ्ख्या छ । किराँत सभ्यताअन्तर्गत आफ्नै भाषा, लिपि, संस्कार, संस्कृति बोकेको लिम्बू समुदायको तेह्रथुमका साथै पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, धनकुटा, इलामलगायत जिल्लामा सघन बसोबास छ ।

Author

किरात सिरिजङ्गा लिपि सिक्दै म्याङलुङको लिम्बू समुदाय ।तस्बिर : ठाकुर सेनेहाङ