• ३१ वैशाख २०८१, सोमबार

मेलम्ची बस्ती जोगाउन तटबन्ध

blog

मेलम्ची क्षेत्रमा निर्माण भइरहेको तटबन्ध । तस्बिरः चित्र मिजार

सिन्धुपाल्चोक, असार ३० गते । सिन्धुपाल्चोकको मेलम्चीबस्ती जोगाउन मेलम्ची कोरिडोरमा धमाधम तटबन्ध निर्माण भइरहेको छ । मेलम्ची नदी आसपासका बस्ती संरक्षणका लागि जालीगारो लगाउने काम तीव्र गतिमा भइरहेको हो । 

मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले नदीले कटान गर्न सक्ने र जोखिम निम्तिन सक्ने सडक, बजार र विद्यालय क्षेत्रमा तटबन्ध निर्माणको काम भइरहेको जानकारी दिनुभयो । गत वर्ष असार १ गते मेलम्चीमा आएको बाढीले क्षति पु-याएको हेलम्बुदेखि काभे्रको दोलालघाटसम्मको नदी कोरिडोरमा तटबन्ध निर्माण भइरहेको छ ।

तटबन्ध निर्माणले नदीको बहाव नियन्त्रण गर्न, बस्ती र सडकबाटो संरक्षण गर्न सहयोग मिल्ने स्थानीय रवीन कक्षपतिले बताउनुभयो । बागमती प्रदेशको भू तथा जलाधार व्यवस्थापन कार्यालयको चार करोड रुपियाँको लागतमा तटबन्ध निर्माण भइरहेको हो । तटबन्ध निर्माणअन्तर्गत अस्थायी संरक्षणका लागि ३१ योजनामध्ये अहिले २९ वटा योजनामा काम हुँदैछ ।  

तटबन्ध निर्माणबाट चार हजार घरधुरी लाभान्वित हुनेभएका छन् । पाँच मिटर अग्लो र ५५ मिटर लम्बाइको तटबन्ध निर्माण भएको छ । तटबन्ध निर्माणपछि ग्याल्थुमको मेलम्ची भ्याली क्याम्पस, तालामाराङको तेसे्र मावि, बाहुनेपाटीको जाल्पा माविलगायतका सार्वजनिक पूर्वाधार र निजी आवासका घर जमिन नदी कटानबाट जोगिएको जाल्पा माविका प्राचार्य विष्णु गौतमले जानकारी दिनुभयो ।

अर्कोतर्फ तटबन्ध आवश्यकताभन्दा पनि अनावश्यक स्थानमा कमसल तरिकाले निर्माण गरिएको भन्दै स्थानीय बाढीपीडितले गुनासो गरेका छन् । प्रदेश सरकारले पठाएको बजेटमा नगरपालिकासँग समन्वय नगरी गुपचुपमा आफूखुसी गुणास्तरहीन तटबन्ध निर्माण गरिएको मेलम्ची नगरपालिकाका प्रमुख तामाङको आरोप छ । सङ्घ र प्रदेश सरकारबाट आगामी दिनमा आउने बजेटमा नगरपालिकासँग समन्वय गरेर काम गर्नसमेत तामाङले आग्रह गर्नुभयो ।

Author

चित्र मिजार