• २७ पुस २०८१, शनिबार

पुराना खेलाडीलाई ब्याडमिन्टन एकेडेमीको सम्मान

blog

काठमाडौं ब्याडमिन्टन एकेडेमीबाट सम्मानित पुराना खेलाडीहरु । तस्बिर सौजन्य : ग्राफिक आर्टस

काठमाडौं, असार २९ गते । काठमाडौं ब्याडमिन्टन एकेडेमीले गुरु पूर्णिमाको अवसरमा ब्याडमिन्टनका पुराना खेलाडी एवं प्रशिक्षकहरुलाई सम्मान गरेको छ । एकेडेमीले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका प्रणवकुमार तालुकदार, उत्तम सिंखडा, प्रकाश उदय, धर्मलाल श्रेष्ठ, रजनी जोशी, उदयकुमार श्रेष्ठ, महेन्द्रलाल श्रेष्ठ, शान्ति मानन्धरलाई सम्मान गरेको छ ।

यस्तै, एकेडेमीले नेपालको ब्याडमिन्टन खेलमा महत्वपूर्ण योगदान दिनुभएका त्रिरत्न मानन्धरलाई विशेष सम्मान तथा खेल पत्रकार कुशल तिमल्सिनालाई १५ हजार रुपियाँसहित सम्मान गरेको छ । खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष तासी घले, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले सम्मान गर्नुभएको थियो । 

यसैगरी, काठमाडौं ब्याडमिन्टन एकेडेमीलाई प्रेसिडेन्सियल विजनेस स्कुलले मुख्य प्रायोजन सम्झौता समेत गरेको छ । प्रायोजन बापत एकेडेमीलाई स्कुलले वर्षिक १५ लाख रुपियाँ बराबर सहयोग गर्नेछ । जसमा पाँच लाख नगद तथा १० लाख रुपियाँ बराबरको खेलाडीलाई अध्ययन सुविधा दिइने बताइएको छ ।