• १ माघ २०८२, बिहिबार

पाथीभरामा २४ लाखभन्दा बढी भेटी सङ्कलन

blog

भेटी गणना गर्दै पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीहरू । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू
फुङलिङ, माघ १ गते ।
ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा एक महिनामा २४ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पुस महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक गर्दै आइरहेको विवरण अनुसार पुस महिनामा भक्तजनहरूले २४ लाख २५ हजार रुपियाँ भेटी पाथीभरा मन्दिरमा चढाएका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी पोकामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् ।

फेदीमा करिब एक साता सम्मको सङ्लकन गरी फुङलिङ रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरी बैंकमा जम्मा गर्ने प्रचलन रहेको छ । कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने गरी समितिले व्यवस्थापन गरेको छ । बुधबार सार्वजनिक तथ्याङ्क अनुसार पुस महिनामा पाँच हजार नौ सय जना भक्तजन दर्शनका लागि पाथीभरा मन्दिर आएका छन् ।