सन्तोष दहित
दाङ, माघ १ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री आचार्यले माघे संक्रान्ति देशका विभिन्न समुदायले आ–आफ्नै परम्परा र सांस्कृतिक विधिअनुसार मनाउँदै आएको महत्वपूर्ण पर्व भएको उल्लेख गर्नुभएको छ । उहाँले थारु समुदायले माघलाई नयाँ वर्षका रूपमा मनाउँने परम्परा रहेको र मगर, यादवलगायत अन्य समुदायका लागि पनि यो पर्व विशेष महत्व राख्ने बताउनुभयो ।
उहाँका अनुसार लुम्बिनी प्रदेश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिएको भएकाले यस विविधतामा निहित मौलिक संस्कृति र परम्पराहरू नै पहिचान र शक्ति हुन् । उहाँले प्रदेश सरकारले यस्ता सांस्कृतिक मूल्य र मान्यताको संरक्षण, संवर्धन र प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै आर्थिक तथा सामाजिक विकासलाई अघि बढाइरहेको बताउनुभयो । ‘‘मौलिक कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न सकिने भएकाले प्रदेश सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको छ’’ शुभकामना सन्देशमा भनिएको छ, ‘‘हाम्रा मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । मौलिकता जोगाउन सके मात्र नेपालीपनको पहिचान सुरक्षित रहन्छ ।’’
मौलिक कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्ने लक्ष्यअनुसार सरकारले काम गरिररहेको स्पष्ट पार्नुभएको छ ।
मुख्यमन्त्री आचार्यले मौलिक संस्कृति र परम्पराको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै मौलिकता जोगाउन सके मात्र नेपालीपनको पहिचान सुरक्षित रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो पर्वले आपसी सद्भाव, आत्मीयता, सहयोग र एकताको भावना अझ मजबुत बनाउने अपेक्षा व्यक्त गर्नुभएको छ ।