• १ माघ २०८२, बिहिबार

‘स्वजागरण जीवन हिस्सा बनाउनु पर्छ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १ गते । प्रधानमन्त्री सुशीला कार्कीले स्वजागरण अभियानले नैतिकता, सदाचारिता र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापनामा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपालका विविध सामाजिक–राजनीतिक आन्दोलन तथा जेनजी पुस्ताको सदाचार र सुशासनको मागलाई ध्यानमा राख्दै अब स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य भएको उहाँको भनाइ थियो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार सम्पन्न ‘सुशासन र समृद्धिका लागि स्वजागरण’ कार्यक्रममा प्रधानमन्त्री कार्कीले त्यस्तो बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरणसम्बन्धी प्रवचन दिनुभएको थियो । प्रधानमन्त्री कार्कीले भन्नुभयो, “स्वजागरण केवल आध्यात्मिक अभ्यास मात्र होइन, यो आन्तरिक रूपमा व्यक्तिलाई खुसी र शान्त रहन सिकाउने र बाह्य रूपमा जिम्मेवार, कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग पु-याउने प्रयोगात्मक जीवन पद्धति 

हो ।” उहाँले थप्नुभयो, “स्वजागरणले पहिले आफूलाई व्यवस्थित, अनुशासित र सचेत बनाउन सिकाउँछ । त्यसपछि परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्दछ । स्वजागृत व्यक्तिले अधिकार मात्र खोज्दैन, आफ्नो कर्तव्य के हो भन्ने प्रश्न आफैँसँग गर्छ ।” सो अवसरमा मन्त्रीहरू, नेपाली सेनाका प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, मुख्य सचिव तथा सचिवहरू, विभागीय प्रमुख, निजी क्षेत्रका प्रतिनिधिको समेत उपस्थिति थियो ।