केशब राज भट्ट
वाशुलिङ बैतडी, माघ १ गते । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, डोटी, डडेल्धुरा, बाजुरा, बझाङ तथा तराईका कैलाली र कञ्चनपुर क्षेत्रमा माघ १ गते परम्परागत रूपमा नरहरी पर्व श्रद्धा, विश्वास र सामाजिक सद्भावका साथ मनाइँदै आएको छ ।
माघे सङ्क्रान्तिकै दिन मनाइने यो पर्व सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको छ । पुस महिनाको अन्तिम दिन राति घरघरमा तरुल, सखरखण्ड, चामलको पिठोबाट बनाइने सेलरोटी, माणा (सेलपुरी) तथा अन्य मिठा–मसिना परिकार पकाउने चलन छ ।
तीमध्ये पहिलो रोटी कागका लागि छुट्याइन्छ । पुस मसान्तको राति पकाइएको उक्त पहिलो रोटी माघ १ गते बिहान स्नान–धुवाइपछि कागलाई चढाउने परम्परा रहेको स्थानीय महिला जानुका देवी भट्टले बताउनुभयो । यसो गर्दा पाप नष्ट भई पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको उहाँको भनाइ छ ।
सनातन धर्म अनुसार कागलाई सन्देशवाहक तथा यमराजको दूतका रूपमा लिने गरिन्छ । त्यसैले नरहरी पर्वका दिन कागलाई रोटी खुवाउने चलन रहँदै आएको स्थानीय पण्डित दिवाकर अवस्थीले बताउनुभयो । बालबालिकाले घरको छानामा उक्लिएर ‘‘काँ कौवा काँ, सेलरोटी खाँ” भन्दै काग बोलाउने परम्परा अझै जीवित रहेको उहाँले उल्लेख गर्नुभयो ।
नरहरी पर्वका अवसरमा चामलको रोटी, तरुल, सखरखण्ड, गिठा, पिडालु, तेकना, फर्सी तथा कन्दमूलजन्य परिकार पकाएर खाने गरिन्छ । वर्षमा एक दिन भए पनि बनजङ्गलमा पाइने माटोमुनिका कन्दमूल खानुपर्छ भन्ने मान्यता रहेको संस्कृतिका जानकार विष्णुदत्त जोशीले जानकारी दिनुभयो ।
धार्मिक अर्थमा ‘नर’ भनेको मानव र ‘हरी’ भनेको भगवान् हो । धार्मिक तथा आध्यात्मिक कार्यको शुभारम्भ भएको दिनका रूपमा नरहरी पर्व मनाइने गरिएको संस्कृतिका जानकार आचार्य लवदेव भट्टले बताउनुभयो । माघ १ गतेदेखि धार्मिक कार्यका ढोका खुल्ने विश्वास पनि रहेको उहाँको भनाइ छ ।
माघ १ गते सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । यसै दिनदेखि सूर्य उत्तरायण हुने विश्वास रहिआएको छ । धार्मिक मान्यता अनुसार माघ १ गतेदेखि असार मसान्तसम्म उत्तरायण काल र साउनदेखि पुस मसान्तसम्म दक्षिणायन काल मानिन्छ । उत्तरायणको समयलाई शुभ र मांगलिक कार्यका लागि उपयुक्त ठानिने भएकाले ब्रतबन्ध, विवाह, गृहप्रवेशजस्ता संस्कारहरू यही अवधिमा बढी गरिन्छ ।
नरहरी पर्वसँगै माघ स्नान पनि सुरु हुन्छ । बैतडीको पाटन नगरपालिका–६ स्थित रामेश्वर धाम (सूर्नया नदी किनार), दशरथचन्द नगरपालिका–६ स्थित ईश्वरी गंगा धाम, सूर्नया गाउँपालिकास्थित पत्तभुमेश्वर धामलगायत स्थानमा महिनाभर स्नान गर्ने परम्परा छ । यस दिन नदी, कुण्ड, तलाउ, कुवा, पँधेरो लगायत जलाशयमा स्नान गर्दा गंगास्नान सरह पुण्य प्राप्त हुने विश्वास छ । स्नानका क्रममा ‘‘नरहरि नरहरि, पाप पहरी” मन्त्र उच्चारण गर्ने चलन रहेको छ ।
नरहरी पर्वलाई चेली तिहारका रूपमा पनि लिने गरिन्छ । यस अवसरमा विवाहित छोरी–बहिनी माइत आउने, मिठा परिकार पकाउने र परिवारसँग बसेर खाने चलन छ । बझाङ, बाजुरा, डडेल्धुरा र डोटी जिल्लामा छोरी–बहिनीलाई भेट्न जाने ‘भिटौलो’ चलन माघमै रहँदा बैतडी र दार्चुलामा भने चैत्र महिनामा भिटौलो मनाइने गरिन्छ ।
धार्मिक मान्यताअनुसार यस दिन रुख–विरुवा काट्न, लसुन, धनियाँ वा केराको पातसमेत भाँच्न हुँदैन भन्ने विश्वास छ । कुनै पनि सजीव प्राणी वा वनस्पतिको ज्यान लिनु महापाप हुने सन्देश यस पर्वले दिने धार्मिक अगुवाहरू बताउँछन् ।
यस दिन तिलको लड्डु, घ्यू–गुड, घ्यू–चाकु, तिलकुटी, रिउडी खाने, ब्राह्मण, सन्त र सन्यासीलाई दान–दक्षिणा दिने, कन्यालाई भोजन गराउने तथा ऊनी र न्यानो कपडा दान गर्ने परम्परा पनि छ । मठमन्दिरमा पूजा–आराधना, भजन–कीर्तन गरिन्छ ।
नरहरी पर्वले प्रकृतिप्रतिको सम्मान, आपसी सद्भाव, बाँडेर खाने संस्कार र मानव मात्र होइन सम्पूर्ण जीव–जगतको संरक्षण गर्नुपर्ने सन्देश दिने संस्कृतिका जानकारहरूको भनाइ छ । पछिल्ला वर्षहरूमा यस्ता मौलिक संस्कार लोप हुँदै गएकाले यसको संरक्षण र संवद्र्धन आवश्यक रहेको सरोकार वालाहरूले जोड दिएका छन् ।