• १ माघ २०८२, बिहिबार

सुरु भयो मकरसङ्क्रान्ति मेला

blog

भरतपुर समाचारदाता

देवघाट (चितवन),माघ १ गते । पवित्र तीर्थस्थल देवघाटधाममा बुधबार बिहान विधिपूर्वक मकरसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल वेणीमा लिङ्गो गाडेर विधिवत् मकर स्नान एवं मेलाको शुभारम्भ गरिएको हो । गलेश्वर आश्रमका पीठाधीश अनन्तश्री विभूषित आत्मानन्द गिरीजी महाराज, गलेश्वर आश्रमका पीठाधीश महामण्डेश्वर आत्मानन्द गिरी, हरिहर आश्रमका पीठाधीश ज्ञानानन्द गिरी महाराज, महेश सन्न्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरीलगायत सन्तमहन्त, वटुकको सामूहिक स्वस्ती वाचनसहित लिङ्गो गाडिएको हो ।

लिङ्गो गाड्नुपूर्व गलेश्वर आश्रममा भेला भएर विधिपूर्वक लिङ्गोेसहित शोभायात्रा वेणीमा पुगेको थियो । सो अवसरमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारी, कार्यकारी निर्देशक सदन बराल र सदस्यहरूसहितको टोली वेणीमा पुगेको थियो । 

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बरालका अनुसार यस वर्ष विधिवत् रूपमा मेलाको शुभारम्भ गरिएसँगै बाहिरबाट भक्तजन आउने व्रmम सुरु भएको छ । प्रत्येक वर्ष माघेसङ्व्रmान्तिको अवसर पारेर देवघाटमा पाँच लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ । यो सङ्ख्यामध्ये तीन लाख माघेसङ्क्रान्तिकै दिन देवघाट आउने अनुमान छ ।

समितिले यस पटक देवघाट मेला भर्न आउनेका लागि प्रवेशद्वार रामनगर, ठिमुरा, दासढुङ्गा र कालीगण्डकी पुलबाट प्रवेश र आँपटारीबाट बाहिरिने रुट बनाएको छ । पुसको अन्तिम रात देवघाट क्षेत्रमा पुग्ने भक्तजन जाग्राम बस्ने प्रचलन छ । शास्त्रानुसार सौरमासको हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकरसङ्क्रान्ति’ भनिएको हो । सोही दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । 

यसैबिच मेलालाई व्यवस्थित गर्न देवघाट क्षेत्र विकास समितिले स्थानीय प्रशासन र पालिकासँग समन्वय गरिसकेको बताइएको छ । कार्यकारी निर्देशक बराल भक्तजन एवं तीर्थयात्रिमा निवेदन गर्दै भन्नुहुन्छ, “सवारीसाधन सञ्चालन मार्ग एकतर्फी भएकाले सोही अनुसार आवागमन गरौँ ।” उहाँले झोलुङ्गे पुलको प्रयोग गर्दा सुरक्षाकर्मी र स्वयंसेवकको अनुरोध पालना गर्न र यात्रामा आउँदा धूमपान, मांस–मदिरा र सूर्तिजन्य पदार्थको बेचबिखन र प्रयोग नगर्न अनुरोध गर्नुभयो । समितिले मेलालाई मध्यनजर गर्दै नदीमा स्नान गर्ने बखत पर्याप्त सतर्कता अपनाउन अनुरोध गरेको छ । नदीमा डोरी लगाएको स्थानभन्दा अन्यत्र जथाभाबी स्नानका लागि नजान अनुरोध गरेको छ ।

यस पटक देवघाट क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको हुँदा प्लास्टिकजन्य सामग्रीको प्रयोग नगर्न, प्लास्टिकलाई निर्धारित स्थानमा व्यवस्थापन गर्न कडाइ गरिएको छ । समितिले स्नान स्थलनजिकै कपडा बदल्ने स्थान र शौचालय बनाएको छ भने रात्रिकालिन अवस्थाका लागि ठाउँ ठाउँमा धुनी जगाउने व्यवस्था गरेको छ । मेला व्यवस्थापनका लागि विभिन्न उपसमिति बनाइएको र नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवकको सहयोगमा मेला व्यवस्थित गरिएको समितिले जानकारी दिएको छ ।।