ललितपुर, पुस ३० गते । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आयोजनापछि उत्पन्न परिस्थितिको निकासका लागि सघन विमर्श भएको छ । पुस २७ गतेदेखि जारी कांग्रेसको विशेष महाधिवेशनले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि सकिएकाले विघटन गर्ने र १५ औँ महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित नहुँदासम्मका लागि केन्द्रीय कार्यसमिति निर्वाचित गर्ने कार्यविधि पारित गरेपछि नयाँ समझदारीका लागि शृङ्खलाबद्ध संवाद अगाडि बढाइएको हो ।
विशेष महाधिवेशनलाई सुरक्षित र सहमतिका साथ समापन गर्नेगरी सभापति शेरबहादुर देउवा पक्ष, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा नेतृत्वको विशेष महाधिवेशन पक्ष र नेता डा. शेखर कोइराला पक्षबिच त्रिपक्षीय संवाद भएको छ । सस्थापनतर्फबाट विशेष महाधिवेशनका सन्दर्भमा संवाद अगाडि बढाउन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेताहरू बालकृष्ण खाँण र रमेश लेखकलाई जिम्मेवारी दिनुभएको छ ।
विशेष महाधिवेशन आयोजक समितिका तर्फबाट नेताहरू देवराज घिमिरे, मधु आचार्य, गुरुराज घिमिरे र प्रदीप पौडेल हुनुहुन्छ । त्यसै गरी डा. कोइरालाका तर्फबाट सहमहामन्त्री जीवन परियार र नेता डा. मीनेन्द्र रिजाल सहभागी हुनुहुन्छ । उहाँहरूबिच चरणबद्ध वार्तामा विशेष महाधिवेशनसहित पार्टीभित्र रूपान्तरणका सन्दर्भमा उठाइएको विषय सम्बोधन गर्नेगरी संवाद भएको छ ।
वार्ता सकारात्मक
नेपाली कांग्रेसको विशेष महाधिवेशनले उठाएका माग सम्बोधन गर्नेगरी सहमति जुटाउने प्रयासमा नेताहरू जुट्नुभएको छ । विशेष महाधिवेशन आयोजक समितिले उठाएका विशेष महाधिवेशनको स्वामित्व लिने, निर्वाचनमा गठबन्धन नगर्ने, विधान संशोधनसहितका विषयमा वार्ता निष्कर्ष उन्मुख छ । नेता रमेश लेखकका अनुसार वार्तामा केही सकारात्मक कुरा आएका छन् । उहाँले भन्नुभयो, “सकारात्मक रूपमै संवाद अघि बढाइएको छ ।
वार्ता निष्कर्षमा पुग्छ भन्ने हाम्रो विश्वास हो ।” महामन्त्री गगनकुमार थापाले निकासका लागि संवादको प्रयास गरिएको बताउनुभयो । उहाँले बाहिर जे समझदारी भए पनि त्यसलाई विशेष महाधिवेशनबाट अनुमोदन गराउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बाहिर आए जस्तो कुनै सहमति भएको छैन, संवाद भएको हो तर विशेष महाधिवेशनको बन्दसत्रको हलबाट बाहिर गएर कुनै निर्णय हुँदैन । जे हुन्छ, हलमै हुन्छ । यहाँ पारित भएको निर्णय अन्तिम हुन्छ ।”
केन्द्रीय कार्यसमिति बैठक बस्ने
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्ने भएको छ । मङ्गलबारका लागि तय भएको बैठक दुई पटक सरेर स्थगित भएपछि बुधबारका लागि आह्वान गरिएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा समसामयिक विषयमा छलफल हुने बताउनुभयो ।
यसअघि केन्द्रीय कार्यसमिति बैठकका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू सानेपा पुग्नुभएको थियो तर पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेपछि केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको जानकारी दिइयो ।
समझदारी निर्माण हुने विश्वास
कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन आह्वानपछि उत्पन्न परिस्थितिको निकास आउने विश्वास व्यक्त गर्नुभएको छ । संस्थापन पक्षका नेताहरूसँगको बैठकमा उहाँले पार्टीको नियमित १५ औँ महाधिवेशनबाटै नयाँ नेतृत्व आउने र पार्टीलाई
विग्रहमा लान नहुने बताउनुभएको हो । बैठकमा सहभागी प्रवक्ता प्रकाशशरण महतका अनुसार सभापति देउवाले पार्टी बलियो बनाउनका लागि समझदारी गर्नुपर्ने बताउनुभयो ।
महामन्त्रीको प्रतिवेदन पारित
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक प्रतिवेदन र महामन्त्री विश्वप्रकाश शर्माले साङ्गठनिक सुधारसहितको प्रतिवेशन सुझावसहित सर्वसम्मत पारित भएको छ । नेतृ मुक्ताकुमारी यादवका अनुसार समूहगत छलफलपछि विशेष महाधिवेशनको बन्दसत्रले प्रतिवेदन पारित गरेको हो । बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि विशेष महाधिवेशनको आवश्यकता, विशेष महाधिवेशन वैधानिक प्रावधान, कांग्रेसले गर्नुपर्ने सङ्कल्पका सन्दर्भमा प्रतिवेदनमा प्राप्त सुझाव
समेटेर प्रतिवेदन पारित गरिएको बताउनुभयो । उहाँले कांग्रेसलाई रूपान्तरण गर्ने अठोट व्यक्त गर्नुभयो ।
महामन्त्री विश्वप्रकाश शर्माको
‘बदलिएको देश, बदल्नुपर्ने कांग्रेस, सद्भाव, सुशासन र समुन्नतिको नवीन यात्रा’ शीर्षकको साङ्गठनिक प्रतिवेदन पनि सर्वसम्मत पारित भएको छ । साथै बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले विशेष महाधिवेशनले महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर फागुन २१ गतेको निर्वाचनमा होमिने उद्घोष गर्नुभयो । उहाँले आत्मनिर्भर उद्यम अभियान, जलवायु जनचेतना, प्रशासनिक ढिलासुस्ती निराकरण, शैक्षिक क्षेत्रमा सुधार, सामाजिक विसङ्गतिविरुद्ध गर्नुपर्ने काम, भूमिहीन समस्या समाधानसहित आशाको पुनर्निर्माण गर्नुपर्ने विषय प्रतिवेदनमा समावेश गर्नुभएको छ ।
विधान संशोधन
कांग्रेसको विशेष महाधिवेशनले विधान परिमार्जन र संशोधन गरेको छ । संशोधन गरिएका विषयमा बौद्धिक र व्यावसायिक क्षेत्रमा योगदान गरेको व्यक्तिलाई पार्टीको १० प्रतिशत संरचनामा समावेश गराउने, प्रत्यक्ष मतदानबाट उम्मेदवार छनोट, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक व्यक्तिलाई एक पटक मात्रै अवसर दिइने विषय समावेश छन् ।
केन्द्रीय कार्यसमितिमा ४० वर्षमुनिका युवा समावेश गर्ने, सार्वजनिक पदमा जाने व्यक्तिले उम्मेदवार बन्नुअघि नै सम्पत्ति विवरण बुझाउनुपर्ने र स्वघोषणा गर्ने बाध्यकारी व्यवस्था गर्ने र एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र प्रत्यक्षतर्फ चार पटक मात्र सांसद् बन्न पाउने व्यवस्था गरिएको छ ।
मनोनयन दर्ता गरिँदै
विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि मनोनयन प्रव्रिmया आरम्भ गरिएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार मनोनयन बुझाउने समय बुधबार बिहान ९ः१५ सम्म तोकिएको छ ।