• १३ वैशाख २०८१, बिहिबार

‘बाहिरी चक्रपथको अनियमितता छानबिन गर्छु’

blog

काठमाडौँ, असार २९ गते ।  प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले बाहिरी चक्रपथ विकास आयोजनाबारे दुई हप्ताभित्र लिखित जवाफ समितिसमक्ष दिन सहरी विकास मन्त्रालयलाई निर्देशन दिए पनि मन्त्रालयले अहिलेसम्म समितिलाई जवाफ बुझाएको छैन । समितिले असार १० गते मन्त्रालयलाई सो निर्देशन दिएको थियो ।

बाहिरी चक्रपथ आयोजनाबारे गोरखापत्रले असार ८, ९ र १२ गते समाचार र सम्पादकीय प्रकाशन गरेपछि समितिले तत्कालीन सहरी विकासमन्त्री रामकुमारी झाँक्री, मन्त्रालयका निमित्त सचिव पद्मकुमार मैनाली, काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाललगायतलाई असार १० गतेको समिति बैठकमा बोलाएर अहिलेसम्मको यथार्थ जानकारी दुई हप्ताभित्र दिन निर्देशन दिएको थियो । तोकिएको समयमा जानकारी नगराएपछि समितिले मन्त्रालयलाई तीन दिनअघि मौखिक र आज (२८ गते) पत्रमार्फत तीन दिनभित्र जानकारी दिन पुनः निर्देशन दिएको छ । समितिका सचिव ओमबहादुर कार्कीले तीन दिनभित्र लिखित जानकारी गराउन मन्त्रालयलाई ताकेतापत्र पठाइएको जानकारी दिनुभयो ।

यसैबीच सहरी विकासमन्त्री मेटमणि चौधरीले बाहिरी चक्रपथ विकास आयोजनाबारे विस्तृत छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मङ्गलबार उहाँले भन्नुभयो, “समाचारमा भनिएजस्तो अनियमितताबारे नोट गरिरहेको छु, आयोजना प्रमुखलाई बोलाउने, ‘डिटेल’मा बुझ्ने र त्यसपछि कस्तो ‘प्लान’ गर्ने हो ? अगाडि बढ्छु ।”