• २७ पुस २०८२, आइतबार

सहुलियत मूल्यमै आधुनिक आवास

सहरीकरणमा नवीन अभ्यास

blog

  • व्यवस्थित र आधुनिक आवास निर्माण गरी चलेकोभन्दा सस्तो मूल्यमा उपभोक्तालाई किस्ताबन्दीमा रकम लिने र घर निर्माण गरेर हस्तान्तरण गर्ने तयारी
  • झापा, नवलपुर बर्दघाटपूर्व र बर्दियामा सुविधासम्पन्न सहर विस्तारको योजनाका साथ चालु आर्थिक वर्षमै सहरी आवास योजना (टाउन प्लानिङ) निर्माण कार्य अघि बढाइने 

काठमाडौँ, पुस २७ गते । धेरैलाई थाहा नहुन सक्छ तर सरकारी निकायले नै आधुनिक, सुविधासम्पन्न र सहुलियत मूल्यमा आवास योजना निर्माण गरी नागरिकलाई सुम्पिने भएको छ । आधुनिक बस्ती विस्तारको योजना अनुसार राष्ट्रिय आवास कम्पनी लिमिटेडले जनताका लागि सहुलियतको मूल्य र किस्ताबन्दीमा घर बनाएर हस्तान्तरण गर्ने भएको हो । 

राष्ट्रिय आवास कम्पनी लिमिटेडका महाप्रबन्धक रामकृष्ण निरौलाका अनुसार झापा, नवलपुर (बर्दघाटपूर्व) र बर्दियामा सुविधासम्पन्न सहर विस्तारको योजनाका साथ चालु आर्थिक वर्षमै सहरी आवास योजना (टाउन प्लानिङ) निर्माण कार्य अघि बढाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

उहाँले प्रारम्भिक अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर मन्त्रालयमा बुझाइएको र आवास योजना निर्माण आरम्भ गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चलेको मूल्यभन्दा सहुलियतमा व्यवस्थित र आधुनिक आवास योजना निर्माण गरिँदै छ । उपभोक्तालाई सहज हुने गरी किस्ताबन्दीमा रकम लिने र घर निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।”

महाप्रबन्धक निरौलाका अनुसार झापाको मेचीनगर नगरपालिकास्थित जोरसिमल, बर्दघाटपूर्व र बर्दियाको तारातालमा बृहत् आवास योजना निर्माण हुने छ । उहाँले राष्ट्रिय आवास कम्पनी लिमिटेडकै जग्गामा आवास योजना निर्माण गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “योजनाबद्ध रूपमा आवास तथा बस्ती विकास गरी आवासीय योजना निर्माण गरेर नागरिकलाई दिइने छ र यसका लागि तीन किस्तामा मूल्य तिर्न सक्ने व्यवस्था पनि गरिएको छ ।”

सुविधायुक्त चार तहका घर 

राष्ट्रिय आवास कम्पनी लिमिटेडले ए, बी, सी र डी गरी चार श्रेणीका घर निर्माण गर्ने छ । झापाको जोरसिमलमा १०७ वटा आवासगृह बन्नेछन् । चार तहका घरमध्ये अधिकतम मूल्य ६८ लाख ४७ हजार र न्यूनतम ६० लाख २९ हजार रुपियाँ पर्ने छ । महाप्रबन्धक रामकृष्ण निरौलाका अनुसार उक्त परियोजनाको सम्पूर्ण खर्च एक अर्ब दुई करोड २२ लाख रुपियाँ निर्धारण गरिएको छ । तीन वर्षमा सम्पन्न हुने परियोजनामा पहिलो वर्ष ३१ करोड ८३ लाख, दोस्रो वर्ष ४३ करोड ७४ लाख, तेस्रो वर्ष १९ करोड ३२ लाख रुपियाँ खर्च हुने लागत अनुमान गरिएको छ । 

बर्दघाटमा १३६ वटा घर बनाउने आवास परियोजनामा प्रतिकट्ठा १५ लाख रुपियाँका दरले मूल्य निर्धारण गरिएको छ । साथै एउटा घरको अधिकतम मूल्य ९८ लाख ९६ हजार र न्यूनतम मूल्य ८६ लाख ५५ रुपियाँसम्म पर्ने छ । पहिलो वर्ष ३९ करोड ४७ लाख, दोस्रो वर्ष ४६ करोड १२ लाख, तेस्रो वर्ष ३२ करोड ९७ लाख रुपियाँको लागत निर्धारण गरिएको छ । 

बर्दियाको तारातालमा पहिलो वर्ष १६ करोड ५७ लाख, दोस्रो वर्ष ३९ करोड ६० लाख र तेस्रो वर्ष आठ करोड २३ लाख रुपियाँ लागत निर्धारण गरिएको छ । महाप्रबन्धक निरौलाले ७० वटा घर निर्माण गरिने तारातालको आवास परियोजनाका लागि ७९ करोड १८ लाख रुपियाँको लागत मूल्य निर्धारण गरिएको बताउनुभयो । उक्त परियोजनामा एउटा घरको अधिकतम मूल्य एक करोड सात लाखदेखि न्यूनतम ९० लाख रुपियाँ पर्ने छ । 

‘आधुनिक र व्यवस्थित बस्ती’

राष्ट्रिय आवास कम्पनी लिमिटेडको महत्वाकाङ्क्षी परियोजना निर्माणको तयारी गरिरहँदा स्थानीयले पनि चासो व्यक्त गरेका छन् । झापा मेचीनगर नगरपालिकाका पूर्वप्रमुख विमल आचार्यले आधुनिक र व्यवस्थित रूपमा बस्ती विस्तारको आवास कम्पनीको परियोजना सफल बनाउनुपर्ने बताउनुभयो । 

उहाँले एकीकृत, सुविधासम्पन्न आवास परियोजना निर्माण गर्दा उक्त क्षेत्रकै लागि उदाहरण बन्ने बताउनुभयो । उहाँले एकीकृत सहरीकरणले बस्ती र खेतीयोग्य जमिन छुट्टिने भएकाले दोहोरो फाइदा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, 

“अव्यवस्थित सहरीकरण र मापदण्डविपरीत संरचना निर्माण हुँदा त्यसले दीर्घकालीन असर गर्छ । त्यसैले सुरक्षा, स्वास्थ्य, शिक्षासहित आधुनिक पूर्वाधारको विकासका लागि यो अत्यन्तै प्रभावकारी अवधारणा हो ।” बर्दियाको मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीले एकीकृत बस्ती निर्माण गर्दा स्थानीयवासीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले एकीकृत आवास परियोजना निर्माण भएपछि अन्य आधारभूत पूर्वाधारको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।