• १३ साउन २०८१, आइतबार

‘प्रतिगमनकारीले संघीयता विरुद्ध अफवाह फैलाए’

blog

पुरस्कृत पत्रकारहरु । तस्बिर : गोरखापत्र

कपिल ज्ञवाली

सिद्धार्थनगर, असार २९ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अहिले संघीयताविरुद्ध अफवाह फैलाउने काम भईरहेको बताउनुभएको छ । यसमा प्रतिगमनकारीको षडयन्त्र रहेको उहाँको आरोप छ ।

परिवर्तनलाइ उल्टाउन खोज्नेहरुले गरेको गोयबल्स शैलीलाइ निस्तेज गर्नेगरी पत्रकारले कलम चलाउनुपर्ने उहाँको आग्रह छ । उहाँले प्रतिगमनलाई बल पुग्नेगरी कुनै प्रकारका समाचार सामाग्री प्रकाशन र प्रसारण नगर्न पनि आग्रह गर्नुभयो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बुटवलमा मंगलबार आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले संघीयताको विरुद्धमा प्रतिगमनकारी शक्ति सलवलाएको बताउनुभयो ।

लामो संघर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउनेगरी प्रतिगमनकारी शक्तिले संघीयतालाई गलत ढंगले प्रचार गर्ने काम गरेको भन्दै त्यसको सहि विश्लेषण गरेर उपलब्धिको रक्षा हुनेगरी कलम चलाउन केसीले आग्रह गर्नुभयो ।

संघीयतालाई बोझिलो भयो, अनावश्यक खर्चिलो भयो र संघीयताबाट उपलब्धि पनि भएन भन्नेगरी प्रचारप्रसार भईरहेको बताउँदै उहाँले संघीयताकै कारण क्षेत्रगत विकासको आधार तयार भएको दावी गर्नुभयो । आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले पनि प्राप्त उपलब्धिको रक्षामा सबै लाग्नुपर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारद्वारा पाँच पत्रकार पुरस्कृत

 लुम्बिनी प्रदेश सरकारले लुम्बिनीका पाँच जना पत्रकारलाई सम्मान गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयलेले अग्रज पत्रकार खिमानन्द भट्टराई र स्वर्गीय विन्दुकुमार चौहान तथा सिर्जनसिल पत्रकारको रुपमा सञ्जु पौडेल, डिलाराम भुुसाल र प्रेम विकलाई नगद पुरस्कार सहित सम्मान गरेको हो ।

अग्रज पत्रकार रुपन्देहीका खिमानन्द भट्टराई र स्वर्गीय विन्दुकुमार चौहान (मरणोपरान्त) लाई जनही ५० हजार रुपियाँ पुरस्कार र सम्मान पत्रसहित मुख्यमन्त्री केसीले सम्मान गर्नुभएको हो । रुपन्देहीकी सञ्जु पौडेल, कपिलबस्तुका डिलाराम भुसाल र बर्दियाका प्रेम विकलाई पनि जनही ५० हजार रुपियाँ र सम्मान पत्रबाट सम्मान गरिएको छ । 

लुम्बिनी प्रदेश सरकारले २० वर्ष काम गरेका अग्रज एकजना र सिर्जनसिल तीन जना पत्रकारलाई पुरस्कृत गर्नेगरी पत्रकारलाई प्रत्येक वर्ष एक जना पत्रकारलाई अघिल्लो वर्षदेखि सम्मान गर्न सुरु गरेको थियो । 

पुरस्कृत अग्रज पत्रकार खिमानन्द भट्टराईले लामो संघर्षबाट संघीयता प्राप्त भएको बताउँदै त्यसको संस्थागत विकास हुन नसक्दा आम नागरिकका आशा र अपेक्षा अनुसारको विकास हुन नसकेको र संघीयता प्रति नै नैराश्यता सिर्जना गरेको भनाई राख्नुभयो ।