• १३ साउन २०८१, आइतबार

दुई पालिका सडक सञ्जाल बाहिर

blog

२०७५ साल पुसमा पुल निर्माणका लागि सर्भे भएको पचालझरनाको घाटलाइने ढुङ्गा । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट, असार २९ गते । कालीकोट जिल्लाका दुई गाउँपालिका अझै सडक सञ्जालमा जोडिन सकेका छैनन् । कर्णाली नदीमा पुल नभएका कारण पलाँता गाउँपालिका र पचालझरना गाउँपालिकाका कर्णाली कोरिडोरसँग जोडिन नसकेका हुन् ।

२०७५ साल पुस महिनामा दुई गाउँपालिकालाई कोरिडोरसँग जोड्ने भन्दै बेलिब्रिज पुलका लागि सर्भेसमेत भएको थियो । अहिलेसम्म पुल नबनेका कारणले पालिका सडक सञ्जालबाहिर रहेका छन् । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहपालिका पचालझरना गाउँपालिकाको जारकोटमा बेलिब्रिज पुल बनाउन दुई गाउँपालिकाबीच सहमति भएको थियो । 

कर्णाली कोरिडोरसँग गाउँपालिकालाई जोड्नका लागि पलाँता र पचालझरनाको सीमा क्षेत्र बेल्केढुङ्गामा पुल बनाउने योजना थियो । पछि पचालझरनाको घाटलाइने ढुङ्गामा बेलिब्रिजको सर्भे भयो । त्यहाँ पुल बन्दा उपयुक्त हुने तत्कालीन पचालझरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवाल र पलाँता गाउँपालिका अध्यक्ष लक्ष्ण्माबहादुर बमको निष्कर्ष भए पनि सर्भे गरिएको पाँच वर्षसम्म पनि पुल बन्ने कुनै तयारी भएको छैन । पचालझरना गाउँपालिका केन्द्र पडेक्षासँगै वडा नम्बर १ देखि ५ सम्मका बासिन्दा कर्णाली कोरिडोरको सम्पर्कबाहिर छन् । 

उता पलाँता गाउँपालिका पूरै कोरिडोरबाट अलग छ । निवर्तमान गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम आफूले सङ्घ र प्रदेश सरकारको ध्यान पुगोस् भनेर तेलका ड्रममाथि गाडी राखेर कर्णालीबाट तार्दा पनि ध्यान नगएको र अहिलेसम्म पुल नबनेको बताउनुहुन्छ । उहाँले पुलको ठेक्का भएको सुनेको तर काम कहिले सुरु हुने भन्ने कुनै थाहा नभएको जनाउनुभयो ।

कर्णालीमा पुल नभएकै कारण जनप्रतिनिधि पनि घुमाउरो सडक भएर गाउँ सभामा जाने गरेका छन् । बमका अनुसार यहाँका जनप्रतिनिधि पनि वडा नम्बर १ को सिकुबाट गाउँपालिका जानका लागि रास्कोट नगरपालिका–८, भात्तडी गई त्यहाँबाट गाडी चढेर लाफा उत्रिएर झोलुङ्गे पुल पार गरी एक घण्टा पैदलयात्रापछि गाउँपालिका केन्द्र पडेक्षा पुग्ने गरेका छन् । पचालझरना गाउँपालिका–१ का धनीराम न्यौपानेले आफ्नो बस्ती सीमापारिको जस्तै भएको बताउनुभयो ।