• १३ साउन २०८१, आइतबार

प्रादेशिक अस्पतालमा प्लास्टिक सर्जरी

blog

बुटवल, असार २९ गते । बुटवलस्थित प्रादेशिक अस्पताल लुम्बिनीले प्लास्टिक सर्जरी सेवा सुरु गरेको छ । यो अस्पतालमा अबदेखि आगोले पोलेको, अनुहारको दाग, खत, कोठी, गिर्खा, ओठ फाटेको, अनुहार र हातखुट्टाको खतलगायतका बिरामीको उपचार हुने भएको छ ।सो सेवा सञ्चालनसँगै सहरी विकासमन्त्री मेटमणि चौधरीले अस्पतालद्वारा निर्मित मातृत्व भवन निरीक्षण गर्नुभएको थियो । उहाँले प्रादेशिक अस्पताल सुविधासम्पन्न र सबै सेवा प्राप्त हुने नमुना अस्पतालका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो । 

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले असार दोस्रो साताबाट प्लास्टिक सर्जरीका अतिरिक्त आँखा, नाक र ओठको कस्मेटिक सर्जरी सेवा सुरु भएको बताउनुभयो । सो अस्पतालबाट हरेक आइतबार, मङ्गलबार र बिहीबार सो सेवा उपलब्ध हुने जनाइएको छ । यसअघि मिर्गौैलासम्बन्धी डायलासिस सेवासमेत सुरु गरिसकिएको छ ।रोटरी क्लब अफ बुटवलले रुपन्देहीको देवदह मेडिकल कलेजसँगको सहकार्यमा देवदहमा रक्तसञ्चार सेवा केन्द्र स्थापना गर्ने भएको छ । 

त्यस्तै बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा बर्निङ युनिट (जलेका बच्चाको उपचार कक्ष) स्थापना गर्ने योजना अगाडि बढाइएको छ । रोटरीको ३०औँ पदस्थापनका अवसरमा आयोजित कार्यक्रममा वर्ष २०२२÷२३ का अध्यक्ष बोनिन पियाले सो सेवाहरू सञ्चालन गर्न लागिएको जानकारी दिनुभएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सामाजिक क्षेत्रमा रोटरीले महत्त्वपूर्ण काम गर्दै आएको भन्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा अझ बढी क्रियाशील भएर अघि बढ्न आग्रह गर्नुभयो ।