पलेशालाई ट्रेल ब्लेजर अफ दी इयर सम्मान
पोखरा, पुस २४ गते । केही समयअघिसम्म नेपाल र ओलम्पिक/पारा ओलम्पिक पदक, यो एउटा यस्तो विरोधाभास थियो, जसलाई प्रमाणित गर्न जरुरी थिएन । किनभने हरेक ओलम्पिक/पारा ओलम्पिकमा नेपालको उपलब्धि सहभागितामा मात्र सीमित थियो । विश्व खेलकुदको ठुलो मेलामा नेपालले सहभागिताको परम्परालाई मात्र पछ्याउने गर्दथ्यो । गत वर्ष नेपालको दशकौँको पर्खाइलाई पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले समाप्त पार्नुभयो, पेरिस पारा ओलम्पिकमा कांस्य पदक जितेर । जुन नेपाली खेलकुदको अहिलेसम्मको ठुलो उपलब्धि बन्यो । के–४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजीमुनि पलेशाको उपलब्धि पारा ओलम्पिकमा नेपालको यो पहिलो पदक हो ।
पलेशा सोही उपलब्धिका कारण बुधबार एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८१ मा ट्रेल ब्लेजर अफ दी इयरको अवार्डले सम्मानित हुनुभयो । नेपाल खेलकुद पत्रकार मञ्चले पलेशालाई नेपाली खेलकुदकी पथप्रदर्शकको विशेष अवार्ड प्रदान गरेको हो । गत वर्ष पलेशा एनएसजेएफ पारा एथलेट अवार्डबाट सम्मानित हुनुभएको थियो ।
कराँतेकी एरिका गुरुङ र क्रिकेटर दीपेन्द्रसंह ऐरी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८१ को वर्ष खेलाडी घोषित हुनुभयो । यस अवार्डका लागि क्रिकेटकै कुशल भुर्तेल, उसुका विजय सिन्जाली, खो खोका जनक चन्द, टेबलटेनिसका स्यान्टु श्रेष्ठ पनि मनोनयनमा हुनुहुन्थ्यो । गत वर्ष चार अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्ने एरिकाले लगातार दोस्रो पटक वर्षका सर्वश्रेष्ठ महिला खेलाडीको अवार्ड जित्न खो खोकी मानमती धामी, कराँतेकी एलिसा रास्कोटीमगर, भलिबलकी सलिना श्रेष्ठ र फुटबलकी रेखा पौडेललाई पछाडि पार्नुभयो । एरिका २०८० को पनि वर्ष महिला खेलाडी घोषित हुनुभएको थियो ।
भलिबलका हिमाल सुनारीले पिपुल्स च्वाइसको अवार्ड जित्नुभयो । इसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा हिमाल विजेता बन्नुभएको हो । हिमालले सर्वाधिक ४०.१० प्रतिशत मत प्राप्त गर्नुभयो । यस अवार्डमा फुटबलर रेखा पौडेल दोस्रो स्थानमा रहनुभयो । क्रिकेटकी पूजा महतो, टेबलटेनिसकी इभाना थापामगर र उसुका विजय सिन्जाली पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
पारा तेक्वान्दोका कविराज नेगी लामाले वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड हासिल गर्नुभयो । पलेशाले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक पदक जित्दा नेगी प्रशिक्षकको भूमिकामा हुनुहुन्थ्यो । नेगीले दीपक महर्जन (बक्सिङ), लक्ष्मीनारायण वैद्य (खो खो), महेश रिजाल (क्रिकेट) र पछिल्लो वर्षका विजेता कुशल श्रेष्ठ (कराँते) लाई निराश बनाउनुभएको हो ।
युवा वर्ष खेलाडी अवार्डमा महिला क्रिकेटर पूजा महतो घोषित हुनुभयो । पूजा उत्कृष्ट भएको यस विधामा अजय विक (एथलेटिक्स), अञ्जली महर्जन (कराँते), स्वस्तिका तिरुवा (बक्सिङ) र समीर तामाङ (फुटबल) पनि मनोनयनमा हुनुहुन्थ्यो ।
एनएसजेएफ पारा एथलेट अवार्डबाट प्रभा आङदम्बे सम्मानित हुनुभयो । प्रभा पारा एथलेटिक्स खेलाडी हुन् । नेपाली खेलकुद क्षेत्रमा प्रवेश गरेको एक वर्ष पनि पूरा नभएकी प्रभाले नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटिक्समा ऐतिहासिक रजत पदक जित्न सफल हुनुभएको थियो । टी–४७ क्याटगोरीमा प्रभाले लङजम्पमा ऐतिहासिक रजत पदक जित्नुभएको हो । जवाहरलाल नेहरू रङ्गशालामा भएको खेलमा उहाँले ३.९६ मिटर उचाइ नाघ्नुभएको थियो । यो नै पारा एथलेटिक्समा नेपालले जितेको अहिलेसम्मको ठुलो पदक हो ।
एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको सबैभन्दा प्रतिष्ठित र सम्मानित विधा लाइफ टाइफ एचिभमेन्ट अवार्डबाट एथलेटिक्सका खड्गबहादुर रानाभाट सम्मानित हुनुभयो । पोखरालाई आफ्नो कर्मथलो बनाउँदै आउनुभएका उहाँ नेपाली खेलकुदको पहिलो पुस्ताका खेलाडी र प्रशिक्षक हुनुहुन्छ । आफ्नो जीवनको आठौँ दशकतर्फ अग्रसर रानाभाट कीर्तिमान धावक जितबहादुर केसीका समकालीन हुनुहुन्छ । त्यसपछि पनि प्रशिक्षणमा उत्तिकै व्यस्त रहनुभयो । नामी विदेशी विश्वविद्यालयबाट प्रशिक्षणको अवसर पाउनुभएका उहाँ सिक्ने सिकाउने क्रममा ७७ जिल्ला पुग्नुभएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको सङ्गठन बनाउनसमेत महत्वपूर्ण भूमिका खेल्नुभएका उहाँले पोखरा म्याराथनलाई स्थापित मात्र गर्नुभएन सफलतापूर्वक अगाडि बढाउनुभएको छ । सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा वैकुण्ठ मानन्धरको म्याराथनमा कीर्तिमान बनाउँदा रानाभाट नेपाली टिमका प्रशिक्षक हुनुहुन्थ्यो । स्पेसल अवार्डबाट तेक्वान्दोकर्मी तुलसीकुमार गुरुङ सम्मानित हुनुभयो । पोखरेली गुरुङले गत वर्ष दक्षिण कोरियाको कुक्किवोनबाट नवौँ डान ब्ल्याक बेल्ट प्राप्त गर्नुभएको थियो । तेक्वान्दोमा यस्तो उपल्लो डानको मान पाउने उहाँ पहिलो नेपाली हुनुहुन्छ । गुरुङ करिब तीन दशकको तेक्वान्दो यात्रामा नेपाली खेलकुद विकासमा जोडिनुभएको छ । सन् २०१३ मा उहाँ हङकङ राष्ट्रिय तेक्वान्दो टिमका मुख्य प्रशिक्षक नियुक्त हुनुभएको थियो ।
भारतको नयाँ दिल्लीमा भएको पहिलो खो खो विश्वकपमा उपविजेता बनेर ऐतिहासिक रजत पदक दिलाउने खो खो पुरुष र महिला टिमलाई टिम अफ दी इयरको अवार्ड प्रदान गरियो । टिम गेममा नेपाल विश्वकप खेलेर उपविजेता बनेको खो खो पहिलो खेल हो । यसै गरी बङ्गलादेशका खेल पत्रकार राना हसनले एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्राप्त गर्नुभयो ।
वर्ष खेलाडी पुरुष/महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गरे । अन्य विधाका विजेतालाई जनही एक लाख रुपियाँ प्रदान गरिएको थियो । स्पोर्ट्स अवार्डको २२ औँ संस्करण पोखराको राष्ट्रिय सभा हलमा आयोजना भएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले पहिलो पटक मोसफलमा स्पोर्ट्स अवार्ड सञ्चालन गरेको हो ।