• १६ असार २०८१, आइतबार

संसदमा उपसभामुख र उपाध्यक्ष पदमा महिला नहुनु लाजमर्दो : वामदेव गौतम

blog

काठमाडौं, असार २८ गते । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण सङ्घीय संसद्का उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको दाबी गर्नुभएको छ ।

मङ्गलबार राष्ट्रियसभाको विशेष समयमा बोल्नुहुँदै सदस्य गौतमले प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको बताउनुभएको हो ।

उहाँले पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने दाबी गर्दै महिला रिक्त पदकै कारण प्रतिनिभिसभामा चार वर्ष र राष्ट्रिय सभामा करिब चार महिना यता पदपूर्ति हुन नसक्नु दुःखको विषय भएको बताउनुभयो ।

सदस्य गौतमले संविधानको धारा ९२ मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष भन्ने व्यवस्था गरेको भन्दै उपाध्यक्ष बिनाको अध्यक्षको परिकल्पना गर्न नसकिने उल्लेख गर्नुभयो ।

उहाँले दुईमध्ये कुनै एक पदमा महिला अनिवार्य हुने कुरा संविधानले नै उल्लेख गरेको भन्दै पुरुष नभए पनि हुने तर महिला अनिवार्य हुनुपर्ने बताउनुभयो । सदस्य गौतमले आफू संविधानको निर्माता भएकोले संविधानविपरीत भइरहेका गतिविधि सहन नसक्ने चेतावनी दिनुभयो ।

उहाँले पदमा पूर्ति गर्नको लागि सरकार, राजनीतिक दल र संसदले नै चासो नदेखाउनु दुःखद भएको औंल्याउनुभयो ।

राष्ट्रियसभा सदस्य गौतमले करिब चार महिना यता राष्ट्रिय सभाका ४ समितिमध्ये ३ वटामा सभापति नरहेको उल्लेख गर्दै सरकार, राजनीतिक दल, राष्ट्रियसभाका अध्यक्ष, कार्यव्यवस्था समितिको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकार र राजनीतिक दलहरुको लापरबाहीप्रति महिला सदस्यहरुले आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।