काठमाडौं, असार २८ गते । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद देवेन्द्र दाहालले संसदमा अड्किएर बसेका विधेयकहरुको अवस्था हेर्नका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने बताउनुभएको छ ।
मङ्गलबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्नुहुँदै सांसद दाहालले प्रतिनिधिसभा र राष्ट्रिय सभामा धेरै विधेयकहरु अड्किएर बसेको बताउनुभयो ।
उहाँले संसदमा अड्किएर रहेका तथा विचाराधिन विधेयकहरुलाई हेर्नेगरी दुवै सदनमा अनुगमन, सुपरिवेक्षण र सुझाव समिति गठन गर्नुपर्ने बताउनुभएको हो ।
सांसद दाहालले सरकारको बेवास्ताका कारण संसदमा विधेयक र कानुनहरु अलपत्र परेको भन्दै सो समितिले विधेयकको अवस्थाको सम्बन्धमा कुनै पनि समयमा अनुगमन, सुपरिवेक्षण गर्ने र झक्झकाउने काम गर्नसक्ने उल्लेख गर्नुभयो ।
सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रियसभामा दर्ता गरेकोप्रति विरोध जनाउनुभयो । विगतमा केपी ओली नेतृत्वको सरकारले जे कुरा ल्याएको थियो विधेयकमा सोही कुरा ल्याएको भन्दै उहाँले सरकारले जे कुराको विरोध गरेको हो सोही कुरा ल्याएको दाबी गर्नुभयो ।
सो विधेयकको सम्बन्धमा सभामुख अग्निप्रसाद सापकोटाले विगतमा सर्वोच्च अदालतमा मुद्दा हालेको भन्दै राष्ट्रिय सभाका अध्यक्षले सभामा छलफल गराउनु पूर्व सभामुखको धारणा पुरानै हो कि फेरिएको हो सोध्नुपर्ने उहाँले बताउनुभयो । सरकारले सत्ता टिकाउनका लागि मात्रै विधेयक ल्याएको उहाँको भनाइ छ ।
सांसद दाहालले शून्य समय र विशेष समयमा प्रस्तुत विषयहरुको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सदनमा उपलब्ध गराउनुपर्ने व्यवस्था भएपनि मन्त्रीहरुले जवाफ नदिने गरेको आरोप लगाउनुभयो । उहाँले जवाफ नदिने मन्त्रीहरुलाई नियमावलीको व्यवस्था अनुरुप मुद्दा हाल्ने पनि बताउनुभयो ।