• १८ असार २०८१, मङ्गलबार

बूढीगङ्गा नदी कटानको जोखिममा बल्दे बस्ती

blog

बाढीपहिरोको जोखिममा रहेको बूढीगङ्गा –२ को बल्दे वस्ती । तस्बिर- शेरबहादुर सार्की, बाजुरा

शेरबहादुर सार्की

बाजुरा, असार २८ गते । बाजुराको बूढीगङ्गा नगरपालिका वडा नं २ बल्दे बस्ती बूढीगङ्गा नदी कटानको उच्च जोखिममा रहेको छ । सो वस्तीको माथिबाट पहिरो आउने र तलबाट बूढीगङ्गा नदीले काट्ने गरेपछि त्यो बस्ती अहिले निकै जोखिममा रहेको हो ।

बूढीगङ्गा नगरपालिका –२ का वीरबहादुर केसीले, यो बस्ती भिरालो तथा पाखो ठाउँमा भएकाले माथिबाट पहिरो बग्ने तलबाट बूढीगङ्गा नदीले कटान गर्दै आएपछि अहिले पूरै बस्ती जोखिममा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “२०६४ भदौमा गाउँमाथिबाट आएको पहिरोले चारघर पुरिँदा दुई जनाले ज्यान गुमाउनु परेको थियो, भने लाखौंको धनजन क्षति भएको थियो ।’’

उहाँका अनुसार त्यतिबेला त्यो बस्तीका पहिरो पीडितलाई त्रिपाल, भाँडा तथा खाद्यान्न सामाग्री दिएको भए पनि वस्ती स्थानान्तरण गर्नका लागि कुनै पहल भएन ।

२०७८ साल साउनमा फेरि बूढीगङ्गा नदीले तलबाट कटान गर्दै आएपछि अहिले यो वस्ती निकै जोखिममा रहेको केसीले बताउनुभयो । 

२५ वटा घर परिवारको अन्यत्र बसोबास गर्ने जमिन छैन । त्यसैले यो बस्तीका स्थानीय जोखिम भएकै ठाउँमा बस्नु बाध्य भएका छन् ।

बूढीगङ्गा –२ बल्देका ममता केसीले बूढीगङ्गाले कहिले बगाउने होला भनेर चिन्ता गर्नुबाहेक आफूहरुसँग अरु कुनै विकल्प नभएको बताउनुभयो । 

वस्ता सार्नको लागि दुई वर्षअघि नै जिल्ला विपत व्यवस्थापन समितिमा तथ्याङ्क पठाएको बूढीगङ्गा –२ का पूर्व वडाध्यक्ष हीरा थापाले बताउनुभयो ।

जिल्ला विपत व्यवस्थापन समितिमा आएका तथ्याङ्कलाई सम्बन्धित निकायमा पठाइएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयो ।