• १३ साउन २०८१, आइतबार

कांग्रेसले ७० प्रतिशत युवालाई टिकट दिनुपर्छ : नेता महर

blog

गोरखापत्र अनलाइन
ललितपुर, असार २७ गते ।
नेपाली कांग्रेसका नेता नैनसिंह महरले आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले ७० प्रतिशत युवालाई उम्मेदवारका रूपमा अघि सार्न पार्टीका लागि हितकर हुने बताउनु भएको छ ।

ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको मुख्य कार्यालयमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा महरले पार्टीले युवा पङ्क्तिलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभएको हो ।

कांग्रेसमा चार पुस्ताको समन्वय, समझदारी र अपनत्वले मात्रै आगामी दिनमा संघ तथा प्रदेशको निर्वाचनमा हाम्रा लागि सहज हुन्छ । एउटा ६० माथिको पुस्ता छ, अर्को ६० देखि ४५ सम्मको पुस्ता छ, तेस्रो भनेको ३० देखि ४५ र अर्को ३० मुनीको छ ।

नेता महरले सुझाव दिँदै भन्नुभयो, ‘‘नेपालको संविधानले १८ वर्षभन्दा माथिकालाई वयस्क मानेर मतदानको अधिकार दिएको छ, यस्तो अवस्थामा यी सबै उमेरहरूका मानिसलाई मिलाएर लगे मात्रै निर्वाचन जित्न सकिन्छ ।

संविधानले नै २५ वर्षमाथिका व्यक्तिलाई उम्मेदवार बन्न सक्ने व्यवस्था गरेको बताउँदै महरले अबको स्थानीय तहमा २५ देखि ६० वर्ष उमेर समूहका ७० प्रतिशत व्यक्तिलाई उम्मेदवार बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेता महरले पार्टीका क्रियाशील रहेको ठूलो समूह युवा नै भएकाले उनीहरूको मनोभावना बुझ्नुपर्छ, यसरी हेर्दा ३२ वर्षमुनिका मतदाताले मतपरिणामलाई धेरै तलमाथि पार्नसक्ने देखिएकाले युवामाझ लोकप्रिय बन्ने गरी पार्टी अघि बन्नुको विकल्प नहरेको धारणा राख्नुभयो ।

उहाँले स्थानीय निर्वाचनको सन्दर्भमा पार्टी पराजित भएको ठाउँमा पार्टीले समीक्षा गर्नुपर्ने र जितेको ठाउँमा पनि अन्तर्घात भएकाले त्यसको पनि समीक्षा हुनुपर्ने माग गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘‘बागी उम्मेदवार, तिनका समर्थक, प्रस्तावकसँगै गठबन्धनमा असहयोग गर्नेलाई अनुशासनको कारबाही गर्ने कुरा त छँदैछ तर जनताले प्रश्न उठाउने खालका अयोग्य उम्मेदवारलाई टिकट दिएर चुनाव हारियो भने त्यस्तो टिकट दिने व्यक्तिलाई पनि अनुशासनको दायरामा ल्याउनुपर्छ ।’’

अहिले स्वतन्त्रहरूको उदय भइरहेको बेला युवालाई अवसर दिँदा सबैसँग लड्न सहज हुने महरको भनाइ छ । यसका अलावा पार्टी जनजीविकाका सवालमा गम्भीर हुनुपर्ने, मूल्य वृद्धिका कुरामा, पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कुरामा, सुशासनका कुरामा, विकासका कुरामा, शिक्षा र स्वास्थ्यका कुरामा पार्टी गम्भीर हुनुपर्छ, नेता सुझाव महरको सुझाव छ ।

पार्टीले जनताका मुद्दा उठाएर उनीहरूकै माझमा रहेर काम गर्न सकेमात्रै प्रदेश र केन्द्रको निर्वाचन सहजै जित्न सकिन्छ भन्दै उहाँले स्थानीय तहमा जितेका जनप्रतिनिधिलाई देश र पार्टीका लागि बढी जवाफदेही बनाउनुपर्छ भन्नुभयो ।

उहाँले पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको पूर्णतामा समेत पार्टी नेतृत्व गम्भीर हुन नसकेको आरोप लगाउनुभयो । पार्टी, भ्रातृ संस्था र शुभेच्छुक संस्था तीनवटै गठन गर्न सक्यो भने ३५ हजारभन्दा बढीले जिम्मेवारी पाउँछन् । चुनाव आइरहेको समयमा ३५ हजारलाई किन सक्रिय पार्नुपर्ने भनाइ पनि उहाँले बैठकमा राख्नुभयो ।