• ११ वैशाख २०८१, मङ्गलबार

ताप्लेजुङमा दुई लाख ८० हजार बिरुवा उत्पादन

blog

डिभिजन वन कार्यालय परिसरमा रहेको नर्सरी फार्म । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङमा रुख प्रजाति तथा जडीबुटीका दुई लाख ८० हजार बिरुवा उत्पादन गरिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले एकै वर्षमा उक्त सङ्ख्यामा बिरुवा उत्पादन गरेको हो ।

ताप्लेजुङको भूगोल तथा यहाँको हावापानी सुहाउँदो विभिन्न प्रजातिका बिरुवा उत्पादन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं सहायक वन अधिकृत ललितकुमार यादवले एकै वर्ष अर्थात चालू आर्थिक वर्षमा कूल दुई लाख ८० हजार बिरुवा उत्पादन गरिएको बताउनुभयो ।

सहायक वन अधिकृत यादवका अनुसार यो उत्पादित बिरुवामध्ये एक लाख ८० हजार रुख तथा डाले घाँस प्रजाति र एक लाख जडीबुटीको बिरुवा उत्पादन गरिएको छ । डिभिजन वन कार्यालय परिसरमा रहेको नर्सरी फार्ममार्फत ७० हजार बिरुवा उत्पादन गरिएको यादवले जानकारी दिनुभयो । 

यस्तै फुङ्लिङ सव–डिभिजन वन कार्यालयमार्फत ३० हजार, तेल्लोक सव–डिभिजन कार्यालयमार्फत ३० हजार बिरुवा उत्पादन गरिएको छ । पाथीभरा याङ्वरकको तिरिङ्गेमा ३० हजार, मिक्वाखोला सव–डिभिजन कार्यालयमार्फत मेरिङ्देनको सान्थाक्रामा ३० हजार र आठराई त्रिबेणीको दोभान सव–डिभिजन कार्यालयमार्फत ९० हजार बिरुवा उत्पादन गरिएको छ । 

प्रदेश हरित अभियान कार्यक्रमअन्तर्गत वार्षिक बिरुवा उत्पादनमा १८ लाख र बहुवर्षीय बिरुवा उत्पादनमा ६ लाख रुपियाँ रकम खर्च भएको छ । यस्तै जडीबुटी विकास कार्यक्रमअन्तर्गत बिरुवा उत्पादनमा १५ लाख रुपियाँ खर्च भएको डिभिजन वन कार्यालयले जनाएको छ । 

रुख प्रजातिमा मयुरपङ्खी, जापानिज सल्ला, गोभ्रे सल्ला, टाँकी, बकाइनो, निभारोजस्ता बिरुवा उत्पादन गरिएको छ । जडीबुटीमा अमला, हर्रो, बर्रो, रिठ्ठा, लौठसल्ला, बोझोजस्ता प्रजातिका बिरुवा उत्पादन गरिएको सूचना अधिकारी यादवले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय र सव–डिभिजन वन कार्यालयहरुमार्फत उत्पादन गरिएका बिरुवा किसानलाई निःशुल्क रुपमा वितरण गर्दै आएको डिभिजनल वन अधिकृत वीरेन्द्र शाहले जानकारी दिनुभयो ।