काठमाडौँ, पुस १५ गते । जेनजी आन्दोलनका क्रममा घाइते हुनुभएका प्रकाश बोहोरा राष्ट्रिय ट्रमा सेन्टरको चौथोतलामा पाँच महिनादेखि उपचार गराइरहनुभएको छ । गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा घाइते हुनुभएका बोहोरालाई चिकित्सकले उहाँको उपचारका लागि पाँच वर्षको उपचार योजना सुनाएपछि भविष्यप्रतिको चिन्ताले उहाँका मनमा गम्भीर चिन्ता छाएको छ ।
“२९ वर्ष भएँ, उपचार सकिँदा ३५ वर्ष हुने रहेछु,” बोहोराले भन्नुभयो, “काम गर्ने र कमाउने उमेर उपचारमा लाग्ने भएपछि त्यसपछिको भविष्य के गर्र्ने भनेर मन पिरोलिरहन्छ ।” पाँच वर्षको उपचारपछि के काम गरेर कमाउनु, कसरी परिवार पाल्नु, बालबच्चाको भविष्य के होला, रोजगार केही छैन, कसरी उपचार गर्ने होला भन्ने अनेकौँ प्रश्न बोहोराका मनमा खेलिरहन्छन् ।
हेल्थ असिस्टेन्ट (एचए) अध्ययन पूरा गरी विश्व बैङ्क, युएसएआइडीलगायतका विभिन्न गैरसकारी निकायमा जागिर खाइसक्नुभएका बोहोरालाई यतिखेर अबको भविष्य कस्तो होला भन्ने चिन्ताले सताइरहेको छ । उपचार गर्नै पाँच वर्ष लाग्छ, भदौ २३ गतेदेखि अस्पतालको शय्यामा बिताइरहनुभएका बोहोरालाई बाहिरी संसार कस्तो छ भन्ने केही जानकारी हुन्न । “न त खाना खान मन लाग्छ, अस्पतालमा आफूलाई कुरिरहनुभएकी आमाले खाना खान कर गर्दासमेत दिक्क लागेर आउँछ,” उहाँ भन्नुहुन्छ,
“खाना खानै मन लाग्दैन, दिमाग एकोहोरो भइसक्यो । अबको भविष्य कस्तो होला, घाइते शरीरले के गर्ने होला भनेर पिरोलिरहन्छ ।” घाइते बोहोराका श्रीमती र डेढ वर्षीय छोरा पनि हुनुहुन्छ । दैलेख नारायण नगरपालिका–८ का बोहोरा वैदेशिक रोजगारीमा जानुभएको थियो । “विदेशमा काम गर्दा कति गाह्रो हुन्छ, त्यो विषय कल्पना गर्नसमेत सकिँदैन । आफ्नै देशमा अध्ययन अनुसारको रोजगार हुने हो भने बिदेसिन पर्ने थिएन,” अस्पतालको शय्यामा बसेर घाइते बोहोराले सुनाउनुभयो ।
उहाँ नयाँ बानेश्वरमा बस्दै आउनुभएको थियो । आन्दोलन हुन्छ भन्ने पाँच दिनअघि मात्र थाहा भयो । सामाजिक सञ्जाल बन्दको विरोध र देशमा भ्रष्टाचारविरुद्ध जेनजीको आन्दोलनमा जानैपर्छ भन्ने लाग्यो । माइतीघरसम्म आफन्तसँग बाइकमा आउनुभएका बोहोराले बाइक सुरक्षित राखेर आन्दोलनमा समाहित भएर नारा लगाउँदै बानेश्वर पुग्नुभयो । बानेश्वर पुगिसकेपछि आन्दोलनले अर्कै रूप लियो । प्रहरीसँग टकराब बढ्दै गयो । आन्दोलनको भिडले जब संसद् भवनमा प्रवेश गर्न खोज्यो, त्यसपछि अन्धाधुन्ध रूपमा गोली चल्न सुरु ग¥यो । त्यही भिडमा बोहोराको घुँडामाथि गोली लाग्यो । गोली लागेको खुट्टा छैन जस्तो अनुभव भयो, अत्यधिक दुख्यो, पोल्यो । साथीले तत्काल एम्बुलेन्समा हालेर उपचारका लागि ल्याइँदै थियो । जुत्ताले गाह्रो भएपछि जुत्ता त्यहीँ फालेर एम्बुलेन्समार्फत ट्रमा आइपुगुन्जेल उहाँलाई निकै छटपटाहट भइसकेको थियो । “म आफैँ पनि स्वास्थ्यकर्मी परेँ । खुट्टा छैन जस्तो भयो । जति छिटो अस्पताल पु¥याउन सकिन्छ, त्यति बाँच्छु कि जस्तो लाग्यो,” आन्दोलनमा घाइते भएको बेलीविस्तार सुनाउँदै उहाँले भन्नुभयो, “बानेश्वरबाट ट्रमा आउँदासम्म दसौँ पटक कहाँ आइपुग्यो भनेर सोधेँ ।”
बोहोराले जेनजी आन्दोलनको कुनै पनि सुनुवाइ नभएकामा चिन्ता व्यक्त गर्नुभयो । भ्रष्टाचारविहीन नेपाल, विकास, रोजगार, शिक्षा, स्वास्थ्य जस्ता आवश्यकता निःशुल्क हुनुपर्ने, रोजगारका लागि बाध्यताले बिदेसिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने जेनजी आन्दोलनको मूल मर्म रहेको सुनाउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल राष्ट्रिय ट्रमा सेन्टरमा दुई जना, त्रिवि शिक्षण अस्पतालमा एक जना र काठमाडौँ मेडिकल कलेजमा एक जना गरी चार जना घाइते उपचाररत रहेका छन् ।