• २५ मंसिर २०८१, मङ्गलबार

घोडाघोडीमा राजलाहाँचे वृद्धि

blog

घोडाघोडी चरा अभयारण्य क्षेत्रमा देखिएको दुर्लभ राजलाहाँचे चरा । तस्बिर : हिरुलाल डङ्गौरा

धनगढी, असार २७ गते । कैलालीको प्रसिद्ध घोडाघोडी सिमसार क्षेत्र चराको सुरक्षित बासस्थान मानिन्छ । सो क्षेत्रलाई पन्छी अभयारण्य क्षेत्र (बर्ड सेन्चुरी) घोषणा गरिएको छ । सो क्षेत्रमा विश्वमै दुर्लभ मानिने राजलाहाँचे चराको सङ्ख्या बढेको छ ।

विश्वमा तीव्र रूपमा सङ्ख्या घटिरहेको यो चरा प्रजाति घोडाघोडी चराको सुरक्षित बासस्थान मानिन्छ । अभयारण्य क्षेत्रमा भने केही बढेको पाइएको हो । सन् २०१४ मा पहिलो चोटि तत्कालीन घोडाघोडी सिमसार क्षेत्रमा जम्मा एकजोडी राजलाहाँचे देखापरेका थिए । हाल सङ्ख्या बढेर १२ वटा पुगेको नेपाल पन्छी संरक्षण सङ्घ (बीसीएन)का चरा विशेषज्ञ हिरुलाल डङ्गौराले बताउनुभयो । उहाँ र चराविद् दयाराम चौधरीले पहिलो पटक  घोडाघोडी सिमसार क्षेत्रमा राजलाहाँचे अभिलेख गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “पछिल्लो गणनाको क्रममा १२ वटा राजलाहाँचे पुगेका छन् ।” आधा दशकभन्दा बढी समयमा जम्मा १० वटा राजलाहाँचे बढेको देखिएको छ । अन्तर्राष्ट्रिय प्रकृति सरक्षण सङ्घ (आईयूसीएन) ले संवेदनशील सूचीमा राखेको यो चरा घोडाघोडी चरा अभयारण्य क्षेत्रको सीताकुण्ड सामुदायिक वन, माघी, लट्ठहुवा सामुदायिक वन, घोडाघोडी ताल क्षेत्र, रामपुर क्षेत्रमा देखा पर्दछन् । यसैगरी चुरे भावर क्षेत्रमा पनि यी चराहरू पुग्ने गरेको जनाइएको छ । 

सालका अग्ला–अग्ला रुखमा बस्ने यो चराहरू सालका वन भएका क्षेत्रमा बढी देखापर्ने गरेको जनाइएको छ । राजलाहाँचेले प्रायः एकै रुखमा धेरैले सामूहिक रूपमा गुँड लगाउने र बच्चा कोरल्ने गरेको डङ्गौराले बताउनुभयो । सामूहिक रूपमा एकै रुखमा धेरैले बच्चा कोरल्ने गरेका कारण यी चरा प्रजातिको सिकार हुने सम्भावना बढी रहने गरेको जनाइएको छ । 

घोडाघोडी चरा अभयारण्य क्षेत्रमा पनि चोरी सिकार हुने कार्य पूर्ण रूपमा नरोकिएको बताइएको छ । राजलाहाँचेहरू यत्रतत्र पुग्ने गरेकाले चोरी सिकारको सम्भावना रहेको १४ वर्षसम्म वनहेरालुको काम गर्नुभएका घोडाघोडी नगरपालिकास्थित माघी गाउँका दिलबहादुर चौधरीले बताउनुभयो । ‘नकरोड, घोडाघाडी ताल क्षेत्रमा फाटफुट रूपमा त्यो चरा देखा पर्दछन्,” उहाँले भन्नुभयो ।

स्थानीयवासीले राजलाहाँचेलाई ‘बड्का कठ्खोलिया’ भनेर चिन्ने गरेका छन् । घोडाघोडी चरा अभयारण्य क्षेत्रबाहेक कैलालीको बसन्ता संरक्षित क्षेत्र र कर्णाली नदी जैविक मार्गमा पनि राजलाहाँचे चरा बस्ने गरेको जनाइएको छ । त्यसगैरी कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित मोहना लालझाडी संरक्षित वन र ब्रह्मदेव जैविक मार्गमा पनि राजलाहाँचे पाइने गरेका छन् । यी तीनवटै ठाउँमा गरेर २०१९ मा आठवटा राजलाहाँचे अभिलेख गरिएको छ । चराविद् डङ्गौराले नै सो ठाउँमा आठवटा राजलाहाँचे अभिलेख गर्नुभएको थियो । उहाँका अनुसार विश्वमा २३९ प्रजातिका लाहाँचे पाइन्छन् । नेपालमा हालसम्म २६ प्रजातिका लाहाँचे भेटिएका छन् । जसमध्ये राजलाहाँचे विश्वमै दुर्लभ हो ।

नेपालको पर्सा, चितवन, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा समेत पाइने राजलाहाँचेको नेपालभरिको सङ्ख्या १९० देखि २५० सम्म रहेको अनुमान छ ।  नेपालमा बासस्थानको विनाश नै चराका लागि मुख्य खतरा हो । यसका कारण ८६ प्रतिशत चरा सङ्कटापन्न अवस्थामा पुगिसकेको जनाइएको छ । नेपालबाट हालसम्म आठ प्रजातिका चरा लोप भइसकेका छन् । त्यस्तै विश्वमै दुर्लभ मानिएका ४३ प्रजातिसहित १६८ प्रजातिका चरा राष्ट्रिय रूपमा अति सङ्कटापन्न अवस्थामा पुगिसकेका छन् । कैलालीको घोडाघोडी चरा अभयारण्य क्षेत्रमा हालसम्म ३६० प्रजातिको चरा अभिलेख गरिएको छ । जसमध्ये ६४ प्रजाति जलचर र बाँकी थलचर रहेको जनाइएको छ । यसैगरी यो क्षेत्रमा विश्वमै दुर्लभ १२ प्रजातिका चरा पाइने गरेका छन् ।