• १० मंसिर २०८१, सोमबार

‘मिर्गौला बचाउ अभियान’ सञ्चालन गर्न माग

blog

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङमा मिर्गौला बचाउ अभियान सञ्चालन गर्न माग गरिएको छ । पछिल्लो समय थाहै नपाई मिर्गौला बिग्रिनेक्रम बढेको भन्दै फुङ्लिङ नगरपालिकाका सर्वसाधारणले अभियान सञ्चालन गर्न माग गरेका हुन् ।

नेपाल पत्रकार महासङ्घ ताप्लेजुङले फुङ्लिङ नगरपालिका–११, फावाखोलामा आयोजना गरेको जनतासँग जनप्रतिनिधि कार्यक्रमका सहभागीले मिर्गौला बचाउ अभियान सञ्चालन गर्नुपर्ने माग गरेका छन् । फावाखोलाका स्थानीय त्रिभुव लिम्बूले थाहा नै नपाई मिर्गौला फेल हुने भएकाले मिर्गौला बचाउ अभियान सञ्चालन गर्न नगरपालिकासँग माग गर्नुभयो ।

यस्तो अभियान चलाएर बेला–बेलामा मिर्गौला परीक्षण गर्ने व्यवस्थासहित नगरपालिकाले शिविर सञ्चालन गर्नुपर्ने लिम्बूको भनाइ छ । आफ्नै क्षेत्रमा स्वास्थ्य परीक्षण गराइ मिर्गौलाको अवस्थाबारे जानकारी लिने अवसर पाएमा उपचारको व्यवस्था गर्न सकिने भन्दै उहाँले अभियान आवश्यक भएको बताउनुभयो ।

यसैबीच कार्यक्रमका सहभागीले फुङ्लिङबजार–फावाखोला जोड्ने सडकको कालोपत्रेसहित स्तरोन्नति गर्नुपर्ने माग गरेका छन् । स्थानीय पशुपालक किसानले पशु चिकित्सकको व्यवस्था गर्नुपर्ने माग गरेका छन् भने सामाजिक सुरक्षा भत्ताको रकम सहजगरी गाउँमै पाउने व्यवस्थाका लागि सर्वसाधारणले नगरपालिकासँग माग गरेका छन् ।

विद्यालय तथा शैक्षिक सुधार, स्थानीय भाषा शिक्षण, सबै धर्म–संस्कारको संरक्षण र विकासलगायतको कार्यमा नगरपालिकाले सघाउनुपर्ने माग उनीहरूको छ । त्यस्तै वडाका सबै टोल वा क्षेत्रको आवश्यकताअनुसार समानरूपले योजना छनोट गरी कार्यान्वयन गर्न पनि जनप्रतिनिधि पदाधिकारीसँग माग राखेका छन् । 

जवाफदेही पक्षको तर्फबाट नगरप्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, वडाध्यक्ष युवराज भट्टराई (योगेश)लगायतले उठेका सवालको जवाफ दिनुभएको थियो । जवाफ दिने क्रममा नगरप्रमुख मादेनले आफ्नो कार्यकालभित्र सुकेटार–देउराली–लालीखर्क–तेम्बेवा–फावाखोला सडक कालोपत्रे गरिने बताउनुभयो । मादेनले प्रदेश तथा सङ्घीय सरकारलाई गुहारेरै भए पनि उक्त सडक कालोपत्रे गर्ने वचन दिनुभयो ।

नगरप्रमुख मादेनले मिर्गौला बचाउनेलगायत स्वास्थ्य सम्वेदनशीलताप्रति सबै सजग हुनुपर्ने बताउनुभयो । उपप्रमुख ओझाले नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना ल्याएको र सोही शिविरका क्रममा मिर्गौला परीक्षण गर्न सकिने बताउनुभयो ।

महिलाको स्वास्थ्य परीक्षण तथा प्रसूति सेवाका लागि पनि नगरपालिकाले नीति कार्यक्रममा व्यवस्था गरेको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाका अध्यक्ष आनन्द गौतमलगायतका पदाधिकारी तथा सदस्यको उपस्थिति थियो ।