• १२ असार २०८१, बुधबार

गाउँघरमा युवाको खडेरी

blog

सर्लाहीको बसबरिया गाउँपालिकास्थित एक बस्तीमा मोबाइलमा व्यस्त बालबालिका ।तस्बिर : जनार्जन खत्री

सर्लाही, असार २७ गते । केही वर्षयता सर्लाहीका प्रत्येक बस्तीमा महिला, बालबालिका र वृद्धवृद्धा मात्रै भेटिन थालेका छन् । बस्तीका अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएपछि गाउँघरमा महिला, बालबालिका र वृद्धवृद्धा मात्रै भएका हुन् । अहिले युवा उमेरका पुरुष घरमा भेट्न मुस्किल हुँदै गएको छ । 

वैदेशिक रोजगारीप्रति युवाको आकर्षण बढेसँगै यो अवस्था आएको हो । वैशाखको स्थानीय तह निर्वाचनमा गाउँ फर्किएका युवा पुनः वैदेशिक रोजगारीमा फर्किएसँगै बस्ती युवा विहीन बनेको हो । जिल्लाको बसबरिया गाउँपालिका–१, मानपुरका ६७ वर्षीय वृद्ध धनञ्जय यादवले गाउँघर पुरुष विहीन जस्तै बनेको बताउनुभयो । उहाँका अनुसार गाउँका अधिकांश पुरुष रोजगारीका लागि छिमेकी मुलुक भारतसहित मलेसिया, कतारलगायत खाडी मुलुक पुगेका छन् । 

गाउँमा युवा नहुँदा खेतीपातीको समय र कुनै आपत्विपत् पर्दा उनीहरूको अभाव खड्किने गरेको यादवले बताउनुभयो । “गाउँघरमा केटाहरू खासै छैनन्, खेतीपातीको समयमा काम गर्ने मान्छे नै नपाउँदा उनीहरूको अभाव खड्किन्छ,” गाउँका अगुवासमेत रहनुभएका यादवले भन्नुभयो, “गाउँमा रोजगारी नपाएपछि यहाँका अधिकांश युवा कतार, मलेसिया पुगेका छन् । उता जान नसक्नेहरू छिमेकी मुलुक भारतमा भए पनि काम गर्न पुगेका छन् ।”

सर्लाहीका ११ नगरपालिका र नौवटा गाउँपालिकाबाटै युवा वैदेशिक रोजगारीमा गएका छन् । जिल्लाको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले वैदेशिक रोजगारीकै कारण धेरै परिवारको आर्थिक स्थिति सबल बनेको बताउनुभयो । 

नवनिर्वाचित गाउँपालिका अध्यक्ष यादवले पाँच वर्षको कार्यकालमा युवालाई गाउँमै रोजगारी सिर्जना गर्नेगरी काम गर्ने बताउनुभएको छ । “केही ठगी तथा बिचल्लीमा परेको घटनाबाहेक वैदेशिक रोजगारीले मानिसको जीवनस्तर त फेरिएकै छ,” गाउँपालिका अध्यक्ष यादवले भन्नुभयो, “अब हामी निर्वाचित भएर आएसँगै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने कुरामा जोड दिएका छौँ ।”