काठमाडौँ, पुस ४ गते। नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक पुस २६, २७ र २८ गते बस्ने भएको छ।
शुक्रबार बसेको पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटी बैठकले पुसको अन्तिम साता दोस्रो केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।
त्यसैगरी बैठकले केन्द्रीय सल्लाहकार परिषद् पनि गठन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। बैठकले पार्टीको संशोधित विधान एक हप्ताभित्र प्रकाशन गरी पार्टीको सबै कमिटीमा पठाउने निर्णय गरेको छ।
११ औँ राष्ट्रिय महाधिवेशनले संशोधन गरेर विधान एक हप्ता भित्र प्रकाशन गरी पार्टीको सबै कमिटीमा पठाउने प्रस्ताव बैठकले पारित गरेको उपमहासचिव भट्टले बताउनुभयो। बैठकले नेताहरुको कार्यविभाजन गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिएको छ।
बैठकले पार्टीको ११ औँ महाधिवेशन सम्पन्न गरेको निष्कर्ष निकाल्दै त्यस काममा सहभागी सबैलाई धन्यवाद दिएको छ।