• ८ मंसिर २०८१, शनिबार

एउटा नयाँ क्षितिज (कविता)

blog

प्रेम गर

भावनाको सागरमा डुबुल्की लगाऊ

चञ्चल हुन्छ मनको पाइला... अक्सर बहकिरहन्छ

ठेस लागेर कतै दुखिहाल्यौ भने 

भन्दिनँ...

रुँदै नरुनू ...

बगाइदिनू निस्फिक्री आफूलाई हृदयको अक्षयकोष खोलेर

बरु रुँदा रुँदैको आफूलाई उठाएर एकपल्ट ऐना अगाडि राख

देख्नेछौ त्यहाँ आफ्नै धमिलो छाया 

क्षितिजभन्दा पर नियाल्न त बाँकी नै छ अझै तिमीले

जीवनका इन्द्रेणी‌ रहरहरू ।


संशयको चौकोसबाट निक्लेर 

शिरमाथिको आकाशलाई हेर

सिङ्गो आकाश तिम्रै त हो 

पाउमुनिको माटोलाई छोइहेर

सिङ्गो धर्ती आफूमै समाहित पाउनेछौ 

मात्र अब 

तिमी सिर्जनामा आयामहरू थप्दै जाऊ...

कविता बुन÷गीत गुनगुनाऊ÷नृत्य गर

जीवनको क्यानभासमा आफ्नै सामथ्र्यहरू रङ्गाउँदै 

निर्धक्क अघि बढ ।


कदाचित अझै डगमगाएछन् भने खुट्टाहरू...

बचेरा हुर्काइरहेकी सानी चरीलाई हेर

आफ्नै पौरखले च्यापेर ल्याउँछे चारो 

एकै उडानमा लामबगर नाघेर 

उसो त बघिनी पनि...

बाघलाई शिकारमा पठाएर 

कहिल्यै कुरेर बस्दिनँ भान्सा 

लोग्नेको कमाइमा भागबण्डा खोज्दिनँ ।


मात्र एक धक्का लगाऊ बुलन्द आवाजले 

मक्किँदै गएको पर्खाल 

तम्तयार छ विनिर्माणका लागि 

र पर्खिरहेछ भविष्यले 

तिम्रै हत्केलाबाट बनेको एउटा नयाँ क्षितिज ।