• १४ वैशाख २०८१, शुक्रबार

रासायनिक मलको विकल्पमा ढैँचा

blog

ढल्केबर, असार २६ गते ।  धनुषाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियाका किसान रामपुकार यादवले ढैँचा मलको प्रयोग गरेर धान रोपाइँ सुरु गर्नुभएको छ । उहाँले विगत तीन वर्षदेखि ढैँचाको बिरुवा उमारेर मलका रूपमा प्रयोग गरी धान, गहुँलगायत अन्नबाली उत्पादन गर्दै आउनुभएको छ । किसान रामपुकारले रासायनिक मलको विकल्पमा ढैँचा मल उत्तम रहेको बताउनुभयो । उहाँले धान उत्पादनका लागि माटोमा चाहिने सम्पूर्ण पोषण पूर्ति गर्ने भएकाले आफूले यो मलको प्रयोग गर्दै आएको जानकारी दिनुभयो । 

सामुदायिक सुधार केन्द्र, धनुषाले जिल्लाको वीरेन्द्र बजारमा सञ्चालन गरेको कृषि तालिमबाट यो मलबारे जानकारी प्राप्त भएपछि त्यसयता अन्नबालीमा यही मलको प्रयोग गर्दै आएको उहाँले बताउनुभयो । किसान रामपुकारले यहाँका अन्य किसानलाई समेत यो मलको विशेषताबारे जानकारी गराएपछि धेरैले यो विधि अपनाउन थालेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “यो कुनै नयाँ प्रयोग होइन । बाबुबाजेले ढैँचा मलकै प्रयोग गरेर अन्नपात उब्जाउनुहुन्थ्यो । रासायनिक मलको प्रवेश भएपछि यो विधि हराउँदै गएको थियो । अहिले पुनः प्रयोगमा ल्याउन थालिएको छ ।” 

बीउ छरेको २० देखि २५ दिनपछि तयार हुने ढैँचाको बोटलाई खेत हिल्याउने क्रममै जोतेर माटोमा मिलाइन्छ । यसरी जोतेर माटोमा मिलाएपछि ढैँचाको एक साताभित्रै कुहिएर मल बन्दछ । त्यसपछि लगाइने बालीमा अरू मल राख्नुनपर्ने रामपुकारले बताउनुभयो । न्यून खर्चमा तयार हुने ढैँचा मलको प्रयोग गर्न सके रासायनिक मलमाथिको निर्भरता हट्ने र मल खरिदका लागि बाहिरिने रकम पनि जोगिने उहाँले बताउनुभयो ।

गणेशमान चारनाथ नगरपालिकाका कृषि शाखा प्रमुख अर्जुनकुमार महतोले रासायनिक मल अभावमा पनि ढैँचा र प्राङ्गारिक मलको प्रयोग गरी मल अभावलाई पूर्ति गर्नुपर्ने बताउनुभयो ।उहाँले रासायनिक मलको विकल्पमा ढैँचा मलको प्रयोग बढाउन किसानलाई प्रोत्साहन गर्नेजस्ता कार्यक्रमका लागि नगरपालिकामा योजना पेस गरिएको जानकारी दिनुभयो । 

यसैगरी धनुषाको मिथिला नगरपालिकाले यस वर्ष दुई क्विन्टल ढैँचाको बीउ निःशुल्क वितरण गरेको छ । रासायनिक मलको अभावलाई पूर्ति गर्न ढैँचा मलको बीउ निःशुल्क वितरण गरिएको कृषि शाखा प्रमुख सञ्जयकुमार महतोले बताउनुभयो । उहाँले रासायनिक मलमाथिको निर्भरता कम गर्न तथा माटोको उर्बरा शक्ति बढाउन ढैँचा मल निकै उपयोगी रहेको जानकारी दिनुभयो । 

Author

विजयकुमार साह