• २६ मङ्सिर २०८२, शुक्रबार

अङ्ग्रेजी नयाँ वर्षमा पोखराको लेकसाइडमा महोत्सव

blog

क्याप्सनः अङ्ग्रेजी नयाँ वर्षमा हुने पोखरा सडक महोत्सवबारे शुक्रबार सुरक्षा निकायसँग भएको छलफल। तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी 

लेखनाथ, कास्की, मङ्सिर २६ गते। आउँदै गरेको अङ्ग्रेजी नयाँ वर्षलाई पर्यटन राजधानी पोखरामा भव्य रुपमा स्वागत गर्ने तयारी भएको छ। फेवाताल किनारको लेकसाइडमा पुस १३ देखि १७ गतेसम्म २७ औँ पोखरा सडक महोत्सव हुन लागेको हो। 

आयोजक रेवान पोखराले महोत्सवको तयारी गरिरहेको छ। यसै क्रममा आयोजकले शुक्रबार सुरक्षा व्यवस्थापन चुस्त पार्न विभिन्न सुरक्षा निकायका प्रमुखसँग छलफल गरेको छ। कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले महोत्सवमा विगतको सुरक्षा व्यवस्थापन राम्रै देखिएको उल्लेख गर्दै यस पटक पनि व्यवस्थापनमा प्रशासनको तर्फबाट सहयोग हुने उल्लेख गर्नुभयो।

विगतमा भन्दा यस पटकको परिस्थिति केहि फरक भएको बताउँदै उहाँले सुरक्षा व्यवस्थापन चुस्त राख्न कुनै कसर बाँकी नराखिने जनाउनुभयो। सुरक्षा निकायका प्रमुखहरुले महोत्सवको सुरक्षाका लागि योजनावद्ध रुपमा काम गर्न जनाउनुभयो। 

अन्र्तक्रियामा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारीहरु चित्राङ्गत बराल र शिव लम्साल, नेपाली सेना कृष्ण दल गण फूलबारी ब्यारेकका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की, सशस्त्र प्रहरी बल कालिका गणका सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान विभाग कास्कीका उपअनुसन्धान निर्देशक मोहनबहादुर कुँवर, वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नमराज भट्टराई लगायतले बोल्नुभएको थियो।

कार्यक्रममा सडक महोत्सव सुरक्षा समिति संयोजक नरेश भट्टराईले महोत्सव व्यवस्थित पार्न आयोजकको अवलम्बन गर्ने रणनीतिबारे प्रकाश पार्नुभयो। महोत्सव अवधिभर लेकसाइडका बाहिरी तथा भित्री सडकको प्रयोग सुरक्षा निकायसँग समन्वय गरी गरिने उहाँको भनाइ छ। 

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महोत्सवको प्रचारप्रसारमा सहयोग गर्ने वाचा गर्नुभयो। रेवान पोखराका पूर्वअध्यक्ष गोपीबहादुर भट्टराईले सरकारी स्तरबाट पनि महोत्सवको अनुगमन गर्दै गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो। 

रेवान पोखरा अध्यक्ष विश्वराज पौडेलले महोत्सवमा कुनै अप्रिय घटना हुन नदिन सुरक्षा निकायहरुसँग समन्वय गरिने जनाउनुभयो।