• १० मंसिर २०८१, सोमबार

लोमान्थाङ क्यान्भास

blog

पुण्यप्रसाद भट्टराई

भित्ताहरूमा जीवन हुन्छ त ? प्रकाश सिग्देलको एउटा प्रश्न हो यो । कालीगण्डकीको मुहानको खोजीमा उकाली चढ्दा आएको यस प्रश्नको उत्तर थियो वा थिएन, त्यो पनि अर्को प्रश्न नै हो । जीवन नभए राजा जिग्मे परवल विष्टको घरवरिपरि रहेको पर्खालको के अर्थ ? त्यसलाई दायाँ पार्दै उक्लिँदै गर्दा पारिपट्टि देखिएका भेडाका लस्कर र तिनका वरपर रहेका मानिसको जिजीविषा के हो त ? यतिखेर भने त्यो प्रश्नको उत्तर भेटिएजस्तो लाग्यो । 

राज्य हुनलाई सामाजिक सम्बन्धहरू, माटोको परिधि, मानवीय आकाङ्क्षाको सम्मान र स्वयं राजा (सरकार) आवश्यक हुन्छ भनेर आधुनिक विद्वान्हरू भन्छन् । तसर्थ भन्न सकिएला करिब चौधौँ शताब्दीदेखि एक्काइसौँ शताब्दीको सुरुवातीसम्म अस्तित्वमा रहेको औपचारिक अनौपचारिक राज्यमा अवश्य जीवन थियो र चलिरहेको छ । समाजमा जीवन अवयव र सङ्ज्ञानको जालो भएर नै त्यहाँ राजा थिए होलान् । 

प्रश्न त अझै अनुत्तरित नै छ । मान्छेले बाँच्नलाई अनेक आवश्यकता पूरा गर्नुपर्छ । भूगोलको सतहमा उब्जिएका फसल र त्यसबाट निस्रित आधुनिक, उत्तरआधुनिक औद्योगिकीकरणबाट आर्जन हुने मुद्रा दुवैले जीवनको आवश्यकता पूरा गर्छ । माटोमा उब्जिएको फसलले मात्र जीवन धानेन भने मान्छेहरू बसाइँ सरेर भए पनि सहज जीवनको खोजीमा हिँड्छन् र उद्योगनजिक पुग्छन्, उत्पादनमूलक उद्योग र सेवा क्षेत्रले मानिसको कृषि जीवनलाई रूपान्तरण र स्थानान्तरण गरिदिन्छ । जीवन अर्थतन्त्रको संरचना कृषिबाट उद्योग हुँदै सेवा क्षेत्रमा प्रवेश गर्छ । यसको एक मात्र साध्य मानव सुख हो; जुन हाम्रा नीति दस्तावेजका पहिला अक्षर हुन् । सङ्खुवासभाको उर्वर भूमिमा जीवनको सन्तुष्टि नदेखेर झापा बसाइँ सरेका मनोज राउत प्रकाशको प्रश्नलाई मनन् गरिरहेकाझैँ लाग्थे । 

पारितिरको भित्ताको रातो माटोबाट रातो घाम परावर्तन भइरहेको थियो । काठमाडौँका पुराना मन्दिरका भित्ताजस्तो लाग्ने यी भित्ता कुनै थाङ्का कलाकारले बनाएका हैनन् ।  

हामीले भोगेको जीवन एउटा इन्फिनिटिभ समययात्राको एक पल मात्र हो । यसअघि अनगिन्ती समय बगिसकेको छ । यी भित्ताका अमूर्त चित्र कोर्न प्रकृतिले अर्बौं वर्ष हावाका झोक्काहरू प्रयोग गरेको छ । खर्बौं हिउँका डल्ला प्रयोग गरेको छ । यात्रामा पारिपट्टि भित्ताभरि देखिएको अमूर्त चित्रले त्यही भन्छ । भूगोलको पर्दाभरि अनगिन्ती अमूर्त चित्रहरू छन् । अनेक किसिमका गुफाजस्ता प्वालहरू र अन्य धर्साहरूले कला र संस्कृति बोकेकोजस्तो लाग्छ । उनी प्रकाशलाई विश्वस्त पार्न प्रश्न गरिरहेका थिए, “जीवन नभए भर्खरै पुलबाट नदी तरिरहेको भेडाका बथान के हो ? भित्तामा टाँसिएका घरहरू के के हुन् ?”

प्रकाशले खोजेको जीवनको अर्थ आधुनिक अर्थशास्त्रले परिभाषा गरेको जीवन नै हुनुपर्छ । अर्थशास्त्री अमात्र्य सेन भन्छन्, “जीवनमा मानिसले प्रश्नहरू गर्न पाउनुपर्छ ।” (अग्र्युमेन्टेटिभ इन्डियन्स), अर्थात् प्रश्नहरू गर्न सक्ने क्षमता निर्माण गर्नु नै जीवनको मूर्त रूप हो, जीवन्त चित्र हो । छनोटका अवसर प्राप्त गर्नु मानिसको जीवनस्तरको एक द्योतक हो । जीवनभित्र एउटा जीवनस्तरको सर्वस्वीकार्य रेखा भने अवश्य कोरिएको हुनुपर्छ । मल्लकालताका तिब्बतमा सामान ढुवानी गर्ने मान्छेको जीवनभन्दा आजका मान्छेको जीवनमा परिवर्तन अवश्य देखिनुपर्छ । मल्लकालमा व्यापार गर्ने व्यापारीको भन्दा आजको व्यापारीको नाफाको गुणस्तर फरक हुनुपर्छ । त्यस व्यापारीसँग संस्थागत सामाजिक दायित्व (कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी) फरक भएको हुनुपर्छ भन्ने तुलनात्मक सोचबाट प्रकाशले जीवनको अर्थ लगाएको हुनुपर्छ । 

“त्यो गुफामा रानी बस्ने हो ?”, काठमाडौँ सहरको नारायणहिटी दरबारनजिक हुर्किएका अर्का मित्र अनिल खत्रीले प्रश्नको सिलसिला अघि बढाए । उनलाई प्रस्ट थाहा छ, राजारानी बस्ने खोपीको महìव । अर्थ पनि छ । मान्छेको सोच वा धारणा बन्ने भूगोल, समाज र अर्थतन्त्रले नै हो । समाजको चरित्रअनुसारको सुरक्षा खोपीहरू बनाइएका हुन्छन् । विश्वका धेरै युद्धमा आधुनिक मानिस त्यस्तै खोपीभित्र पसेर बाँचेका छन् । विश्वका धेरै ठूला जलविद्युत गृहहरू पृथ्वीको गर्भमा खनेर बनाइएका छन् । यो ऊर्जा सुरक्षा र राष्ट्रिय सुरक्षाको विषय हो । अनिलको सोचको आधार उनी सानो छँदा देखेका राजाका कथा र दृष्टान्त हुन् । मानिसको प्रवृत्ति र व्यवहारको खाका बनाउने फ्रेम वा फर्मा समाज नै हो । समाजको अस्तित्वअनुसार सुरक्षा कवचको खाँचो पर्दछ । अनिलको बुझाइमा धेरै विश्लेषण गर्न सकिन्छ । वातावरण विज्ञानमा आचार्य गरिसकेका प्रकाश र मनोजलाई प्रस्ट थाहा छ, गुफा त मानव जीवनको पहिलो घर नै हो । रामापिथेकस युगका मानिस गुफामा बसेर जङ्गलमा आहारा खोज्थे हैन ?

मेरो मनमा पनि प्रश्नहरू अनगिन्ती थिए तर ती प्रश्नहरूभन्दा पनि भित्ताका अमूर्त चित्रहरू बबरमहलको आर्ट ग्यालरीमा झैँ मेरा अगाडि झुण्डिरहेझैँ लाग्थ्यो । त्यहाँ जीवन थियो÷थिएन, त्यो इतिहासको पुस्तकले भन्ला वा जीव विज्ञानका विद्वान्हरूले भन्लान् । मेरा लागि भने बाटामा देखिएका ससाना मुण्डाघर र त्यसको भित्ताबाट परावर्तित भइरहेको फुस्रोपना नै दिमागमा दुई सय फन्का प्रतिमिनेटभन्दा बढी घुमिरहेको थियो । कालीगण्डकी कोरिडोरको भित्तामा भर्खर देखिएको दृश्य जनैपूर्णिमाताका असनमा राखिएका क्वाँटीजस्ता देखिन्छन् । गेडागुडीलाई तहगत रूपमा राखेर प्याकिङ गरी बेच्न राखिएका दुरुस्तै क्वाँटीजस्तो । अझ भन्नुपर्दा रातो सिमी, सेतो सिमी, चना, केराउ, कालो दालको तहको बीचमा अलिकति सख्खरको एक तह राखेजस्तो भित्तो देखिन्छ । म्याग्दीबाट हामीसँगै यात्रामा सामेल भएका नवीन शाहीका अनुसार त्यही सख्खरजस्तो माटोको तह खनेर त्यसले मुण्डाघर छाउने रहेछ । माथि र तलका गोलाकार ढुङ्गा सदियौँदेखि नदीले निर्माण गरेका आदर्श कलाकृति हुन् ।

वि.सं. १८६३ मा तत्कालीन नेपालकी रानीले मुक्तिनाथ मन्दिरको तलपट्टि बनाउन लगाएको एउटा तीर्थयात्री भवनको छत आज पनि जस्ताको तस्तै छ । हिमालमा समय–समयमा परेको हिउँ पग्लँदै बग्दै आउनेबाहेक त्यहाँ पानी पर्दैन । पानी परिहाले पनि मसिना सेतो पिठोका रूपमा झर्छ । जीवन अवश्य त्यसैअनुसार चल्छ । प्रकृतिले दिएका पूर्वाधारमा मानिसले थपेका मूल्यहरूको आधारमा जीवन सहज वा असहज हुने हो । सहज यो आधारमा कि प्लेटोले भनेजस्तो आदर्श राज्यमा, अर्थशास्त्री अमत्र्य सेनले भनेजस्तो प्रश्न गर्न पाइने र सामाजिक उपजहरूको स्वतन्त्रतापूर्वक छनोट गर्न पाइने समाज । राजनीति, प्रशासन र नागरिक समाजको उत्तरआधुनिक र विवेकशील ज्ञानको आधारमा पूर्वाधार र शासन निर्माण भएको राज्यमा मात्र यी समाजको कल्पना होला । हामी भने घरीघरी बाटोमा चुच्चो परेको ढुङ्गोमा खुट्टा मज्जाले बजारिँदा मात्र सोच्छौँ, हामी कुन समाज विकासको कुन गति र तन्मयको बिन्दुमा अडिएका छौँ ? 

जीवन सहज गराउन त दिगो विकास लक्ष्यले दिएका विश्वव्यापी लक्ष्य पनि त यहाँ विश्लेषण गर्नुपर्ला । उसोभए खै त यहाँ जङ्गल ? रातो र फुस्रो माटोमा लेउ र काई पनि छैनन् । यहाँ वन्यजन्तु पनि त देखिँदैन । कतै कतै पुल तर्दै गरेका लामो लस्कर भेडाहरू तल्लो भेगमा चराएर उकालो लागेको जोक्पो (याक)बाहेक यहाँ बाँच्न सक्ने पारिस्थितिकीय प्रणालीको आधार के हो त ? मान्छेको बीउ फैलने प्रमुख आधार त केही त हुनुपर्ने । 

प्रश्नै प्रश्नको पर्खालसँग कालीगण्डकी कोरिडोर कोरला नाकासम्म पुग्यौँ । मतलव यसभन्दा उता जान अनुमति थिएन । यहाँ पुग्दा हिउँको ब्ल्याङ्केटले जमिन ढपक्क ढाकेको थियो । हिउँमुनि पनि शायद जीवन होला । हिमालपारिको जीवन साँच्चै फरक होला भन्ने लाग्थ्यो । कैलाशमा बस्ने शिवजीको वासस्थान नै त्यतै होलाजस्तो लाग्थ्यो । विश्वका धेरै स्थानमा हिउँसँगको सामीप्यता खोज्ने र त्यहाँ जीवन खोज्ने मानिसको सोच देखिएको छ, हाम्रो पर्यटनको आधार त्यही हो ।  पिल्लर नम्बर चौबीसलाई तुलसामोठ घुमाइमा तीन फन्का लगाएर यात्रा ओरालो लाग्यो । मनोजले जीपीएस निकालेर देखाए । हामी करिब १५ हजार ७० फिट उचाइमा थियौँ । बालचन्द्र शर्मा लिखित नेपालको ऐतिहासिक रूपरेखा नामक पुस्तकमा मल्लकालीन काठमाडौँ उपत्यकामा जीवनोपयोगी ‘काँचो माल’को पैठारी धेरै तिब्बतबाट हुने गरेको उल्लेख छ । भोटबाट सुन, चाँदी, ऊन आउँथे (पेज १९७) । अनि उपत्यकामा अनेक वस्तु तयार गरिन्थे । उपत्यका वरिपरि र हिमालपारिका भोटका दैनिक आवश्यकता उपत्यकामा निर्मित वस्तुबाट गरिन्थ्यो । त्यसताका भोटमा समेत नेपाली मुद्रा नै चलाइन्थ्यो । हिमाली जिल्लाहरू सायद सधैँ हिउँले ढाकिन्थ्यो । सायद यी नाका यिनै व्यापारका आधार हुन् । नेपालतिर खुला फाँट भए पनि चिनियाँ माटोमा ठूलो भवन थियो । सायद यो प्रशासनिक भवन हो । ऊबेला पृथ्वी प्राकृतिक अवस्थामा थियो । यही हिउँ छिचोलेर नेपाली भोटसँग व्यापार गर्थे । यो बाटो त दामोदर पाण्डेहरू पनि त हिँडेका होलान् । त्यही हिउँलाई हातमा राखेर सोध्नु थियो, “तिमीले दामोदर पाण्डे उकालो लागेको देख्यौ ? अरू के देख्यौ, उनीभित्रको साहस कस्तो थियो ?” 

लोमान्थाङको यो यात्रामा मित्रहरू मौन थिएनन् । उकालो लाग्दा देखिएका भित्ता र त्यसको अमूर्त चित्रहरूमा मित्रहरूको रुचि थियो । उनीहरू त्यही भित्ताका चित्र क्यामेरामा कैद गर्न व्यस्त छन् । क्यामेराको थुतुनो बटार्दै चित्र खिच्दै त्यसको आकारलाई तन्काएर हेर्छन् र एकपल्ट उफ्रन्छन् । “आहा यहाँ त टुँडाल देखियो । टुँडाल मात्र हो र काठमाडाँै सहरको टुँडालका कामक्रीडाजस्तो पनि देखियो ।” क्यामेराको मोनिटर हेर्दा पारिपट्टिको भित्ताका अनेक आकृतिलाई विभिन्न वर्णन गर्न सकिने रहेछ । यो क्यानभासभित्रको अमूर्तता पढ्न खोज्ने पर्यटक पनि त होलान् । उनीहरूलाई कसरी भिœयाउने भन्ने सोच मनमा मडारिन्छ । अमत्र्य सेनको जीवनस्तर त तब पो कल्पना गर्न सकिएला । 

“यहाँ आर्थिक स्रोतको खोजी गर्नुपर्ने भो ।” मेरो भनाइ भुइँमा खस्न नपाई प्रकाश बोले, “माथितिर हेर्नुस् युरेनियम खानी ।” त्यो बेच्ने हो भने मुस्ताङ मात्र होइन, नेपाल कुबेर बन्छ । धन्न पुराना पुस्ताले बेचिदिएनछन् । ढाकरमा जीवन बोकेर भए पनि यो भित्तो हाम्रा लागि बचाइदिएछन् । “उसो भए अब नातिलाई पनि त बचाएर राखिदिने होला नि ।” मेरो प्रश्नमा अनिलले ओठ लेपारे । त्यसो त कोरला वरिपरिको हिउँका फाँटमा कति स्कि क्षेत्र बनाउन सकिएला । स्कि रिसोर्ट, पर्यटन आदि आदि ।

कालीगण्डकीको फिजिएको किनार छेउको फाँटतिर कतै कतै देखिएको स्याउबारी पनि अर्को जीवन आधार हो । “स्याउ खेती पनि त होला नि ?” मेरो प्रश्न नटुङ्गिँदै मनोजले भने, “स्याउ मात्र हैन, यहाँको ढुङ्गा नै महँगोमा बिक्री हुन्छ, नपत्याए कागबेनीको पसलमा हेर्नुस् ।” मित्र नवीन शाहीले भने, “कालीगण्डकीको शिला मात्र हैन, बगरको बालुवामा सुन चाल्ने पनि गर्छन् ।” सुन चालेर बेचेका कति कथा हामीले सुनेका छौँ । “यहाँको धूलो पनि औषधीय हुनुपर्छ, फोक्सोभरि हावा लिँदा फाइदा नै हुन्छ होला,” मैले थपेँ ।

“क्यामेराको खोलमा एक पोका लाने हो त धुलो ?” मनोजले गिज्याए । मैले भनेँ, “धुलो हैन, शालिग्राम चाहिँ लाने हो ।” हामीसँग प्रविधि र सोच नभएर मात्र हो, विकसित देशले भए यो धुलोलाई प्रशोधन गरेर विभिन्न औषधिका चक्की बनाइसक्थे । “शालिग्राम कागबेनीमा किन्नुपर्छ,” मनोजले भने । “समुद्रमा गएर पनि कोही पानी किनेर लैजान्छ ? नदीमा आफैँ शालिग्राम खोजेर लाने हो ।” प्रकाशको व्यङ्ग्य प्रस्तावमा मैले सहमति जनाएँ । “हो नदीमा खोजेर पो लाने हो ।” प्रकाशले शालिग्राम उपहार दिनुपर्ने मान्छेको लिस्ट निकै लामो सुनाए । यति सुनिसकेपछि मनोजले लामो सास फेरे र भने, “आज तातोपानी नपुगिने निश्चित भो ।” 

पारितिरको भित्ताको रातो माटोबाट रातोघाम परावर्तन भइरहेको थियो । काठमाडौँका पुराना मन्दिरका भित्ताजस्तो लाग्ने यी भित्ता कुनै थाङ्का कलाकारले बनाएका हैनन् । प्रकृतिको अथक् मेहनतले आजसम्म यसरी बन्दै आएको हो । मलाई भने यहीँ टुक्रुक्क बसेर भित्तो हेरिरहुँजस्तो लागिरह्यो ।

केही क्षणको मौनतापछि प्रकाशले देवीभागवत, पुराण, ब्रह्मवैवत्र्य पुराणका कथा सुनाए । शालिग्राम, तुलसीका पौराणिक रहस्यमाथि उनको विश्लेषण सुनिसकेपछि नदीबगरमा गएर नै शिला खोज्ने मेरो आकाङ्क्षालाई पुनः दोहो¥याएँ किनकि कालीगण्डकीको बगरमा शालिग्राम खोज्नुको मज्जा कसरी वर्णन हुन सक्छ र ! 

साँझ परिसकेको थियो । हामी भित्ताको रिटेनिङ वाल समात्दै बगरमा पस्यौँ । अँध्यारोमा शालिग्राम र अन्य ढुङ्गा चिन्न सकिने अवस्था थिएन । कालो पाषाण उपहार दिने मान्छेको लिस्ट सम्झँदै गर्दा गोजी भरिए । जूनको उज्यालोमा कालो र सेतो ढुङ्गा प्रस्ट छुट्टिन्थ्यो । 

मान्छेका सपना र जीवनको सारथि भएर युगौँदेखि सुन र शालिग्राम उत्पादन गरिरहने एउटा रहस्य हो– कालीगण्डकी । मोबाइलको घण्टी बज्यो । मनोजको फोन रहेछ । केही पनि सुनिएन मोबाइलमा । फर्केर हेरेँ, प्रकाश अनिल कोही पनि त्यहाँ थिएनन् । पछिल्तिर फर्कें कालो पानीको दह र आकाश छुने भित्ता थियो । भित्ताको एकछेउमा जून अडिएकोजस्तो थियो । अघिको रिटेनिङ वाल कतापट्टि हो, ठम्याउन सकिरहेको थिइनँ ।