टोपलाल अर्याल
रेसुङ्गा, जेठ २२ गते । गुल्मीको घमिर–सिलादी सडक एक हप्ता बन्द हुने भएको छ । यो सडक कालोपत्रे तथा ढलानका लागि बन्द हुने गाउँपालिकाले प्रकाशन गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।
जेठ २१ देखि २७ गतेसम्म उक्त सडकमा सवारी साधन आवत–जावत गर्न नहुने भएकाले मालिका गाउँपालिका–६ स्थित फुलवारी र वडा नं ७ को अर्चेङ् हुँदै बरारुखको सडक प्रयोग गर्न सर्वसाधारणलाई गाउँपालिकाले आग्रह गरेको छ । सडक पूर्वाधार विकास कार्यालय गुल्मीमार्फत करिष्मा कन्ट्रक्सन एण्ड सप्लार्यस प्रालिले तीन सय मिटर कालोपत्रे र दुई सय मिटर ढलानको काम गर्दैछ ।
निर्माण व्यवसायी बिष्णु अधिकारीका अनुसार गत चैतमा एक करोड २४ लाअ ८३ हजार रुपियाँको लागतमा सडक कालोपत्रे र ढलानको सम्झौता गरिएको थियो । अहिले सम्झौता अनुसारको ८० प्रतिशत काम भएको व्यवसायी अधिकारीले दाबी गर्नुभयो ।