गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १९ गते । सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड विश्वकै प्रतिष्ठित बैङ्क अफ दी इयर २०२५ को अवार्डबाट लन्डनमा लगातार दोस्रो वर्ष सम्मानित भएको छ । संयुक्त अधिराज्यस्थित दी फाइनान्सियल टाइम्सले बुधबार आयोजना गरेको कार्यक्रममा सिटिजन्स बैङ्कलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
सिटिजन्स बैङ्क सञ्चालक समितिका अध्यक्ष प्रबलजङ्ग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले संयुक्त रूपमा उक्त सम्मान ग्रहण गर्नुभएको सिटिजन्स बैङ्कले जनाएको छ । यसअघि सन् २०२४ को अवार्डसमेत सिटिजन्स बैङ्कले पाएको थियो ।
१२५ भन्दा बढी देशका बैङ्कका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतलगायतका अधिकारीलगात चार सयभन्दा बढीको उपस्थिति रहेको समारोहमा सञ्चालक समितिका अध्यक्ष प्रबलजङ्ग पाण्डेले बैङ्किङ क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वकै प्रतिष्ठित अवार्ड प्राप्त गरी लगातार दुई वर्ष विश्वकै प्रतिष्ठित घोषित हुन पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेको बताउनुभयो । उहाँले यसबाट आगामी दिनमा अझ जिम्मेवार बनेर उत्कृष्ट ग्राहकमैत्री आधुनिक सेवा सुविधा ल्याउन हौसला मिलेको बताउनुभयो ।
सिटिजन्स बैङ्कका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यस अवार्डको प्राप्ति सम्पूर्ण सरोकारवाला निकायको सहयोग एवं कर्मचारीको अहोरात्र मेहनतबाट सम्भव भएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट कार्यसहित सुशासन र प्रुडेन्ट बैङ्किङ र हरित बैङ्किङका सेवा सुविधामा थप बल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालमा सन् २००२ देखि लगातार बैङ्कले यस अवार्ड प्राप्त गरिरहेका छन् । हाल अस्तित्वमा रहेका नौ वटा बैङ्कले मात्र यो अवार्ड प्राप्त गरेका छन् ।
सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले नेपालका ६१ जिल्लाका दुई सय शाखा, १६९ वटा एटिएम, तीन विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैङ्किङ एकाइबाट १९ लाख ५६ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाइएको छ ।