सौभाग्यको गाउँ जङ्गलले घेरिएको थियो । जङ्गली जनावरहरूले हैरान पारेपछि कतिपय गाउँले पहाड छोडेर तराई झरिसकेका थिए । गाउँ नजिकै जङ्गल बढदै जानुका कारण जङ्गली जनावरहरूको समेत बिगबिगी बढ्दै थियो । बेलाबेलामा गाउँ पस्ने बाँदहरूले समेत गाउँका अन्नबाली सखाप पार्थे ।
एकदिन सौभाग्यलगायत उनका परिवारका सबै सदस्य बिहानै खोलाको छेउमा रहेको खेतमा रोपाइँ गर्न गएका थिए । असारको महिना हु्नाले सबैको घरमा रोपाइँको चटारो अनि मीठो मीठो तरकारी मासुको बासना चलिरहेको थिायो । दिउँसोको खाजा खाने बेला हुँदै थियो । रोपाहारहरू गाउँदै, रमाउँदै, हिलो छ्याप्दै, धान रोप्दै थिए । बाउसेहरू मच्चिदै खेत सम्याइरहेका थिए ।
त्यति नै बेला खोलाको अर्को पट्टिबाट बाँदरको ठूलो फौज गाउँ पस्यो । घरका बूढापाकाहरू दिउँसोको समयमा घरभित्र आराम गरिरहेको थिए । कोही भने सुतिरहेका पनि थिए । सौभाग्य जस्तै अरूका खेतमा पनि आरु, आरुबखडा, केरा, मेवा आदि फलेका थिए । गाउँमा पसेको बाँदरको फौजले छिनमै सबै ध्वस्त पारे । रुखका सबै फलफूलहरू खाएर, चुँडालेर, टोकेर, फालेर गए ।
बेलुकी पख रोपाइँबाट थकाइले चुर भएर आएका गाउँलेहरू वर्षभरि जोगाएर राखेका फलफूलहरूको हालत देख्दा रुन मात्रै सकेनन् । असारमा पाक्न सुरु गर्ने आँपहरू कसरी जोगाउने होला भन्ने चिसो सबैको मनमा पस्यो । सौभाग्यले एउटा जुक्ति सुझाए । बाँदरहरू गुलेली देखेपछि कुलेलम ठोक्ने सबैलाई थाहा नै थियो ।
सौभाग्यले भनेअनुसार सबैका घरमा एकभाँडा सानासाना ढुङ्गाहरू जम्मा गरेर राख्ने र सँगै प्रत्येक घरमा एउटा गुलेली पनि राख्ने निर्णय भयो । अरू काममा गएको बेला बूढापाकाहरूले समेत बाँदरहरू आएको बेला एक ठाउँमा बसेर गुलेली देखाएर तर्साउने निधो भयो ।
साथै बढी भएर खान नसकेका फलफूल, सागपात, अन्नहरू बाँदरहरू गाउँ पस्ने टाढाको जगलमा लगेर छोडिदिने निर्णयसमेत गरे । बाँदरहरूले जङ्गलमै खान पाएपछि गाउँ नपस्ने हुनाले सबैले यो कुरालाई मान्नैपर्ने फैसला भयो । जङ्गल जाँदा गुलेली पनि सँगै लिएर जाने र बाँदरहरूलाई घरमा पनि गुलेलीले देखाउने गर्दा साच्चै बाँदर देखिएन । सौभाग्यले लगाएको जुक्तिले काम ग¥यो । उसलाई सबैले स्यावबासी दिए ।