• १९ माघ २०८२, सोमबार

जाडो बिदाको उपयोग

blog

“पहिला पहिला काठमाडौँमा निकै जाडो हुन्थ्यो नि ! बर्सैभरि लामखुट्टे देखा पर्दैनथे,” आमाले भन्ने गर्नुहुन्छ । आमाको कुरा सुन्दा मलाई अनौठो लाग्छ । पुस–माघमा काठमाडौँ वरपरका डाँडामा पर्याप्त हिउँ पर्ने गरेको पनि आमाले सुनाउनुहुन्छ । आमाले भन्नुभएको जस्तो मैले त काठमाडौँमा कहिल्यै पनि हिउँ देख्न पाएकी छैन । 

आमाले भन्नुभएका कुरा मलाई कथा जस्तो लाग्छ । सामाजिक शिक्षाका गुरुले त झन् माछालाई पनि चिसो हुने खालको जाडो काठमाडौँमा हुन्थ्यो भन्नुहुन्छ । ५० दिनसम्म चिसो पानीमा बसेर बानी परेको माछाले पनि मानिसको जस्तै लुगा लाउन पाए हुन्थ्यो भन्ने जत्तिकै जाडो हुन्थ्यो रे । यसै कारण त्यतिबेला जाडो बिदालाई मिन पचास भनिन्थ्यो । मिनको अर्थ माछा हो । त्यतिबेला हिउँ पर्ने किसिमको जाडो हुन्थ्यो र बिदा पनि दुई महिना जति हुन्थ्यो । अहिले पहाडी जिल्लामा समेत हिउँ देख्न पाइन्न । मैले पत्रिकामा ‘हिमालमा हिउँ देखिन छोड्‌यो’ शीर्षकका समाचार पढेकी थिएँ । तराईमा त जाडो मौसम खासै धेरै दिनसम्म रहँदैन जस्तो लाग्न थालेको छ तर शीतलहरको मार पनि धेरै ठाउँमा छ भन्ने कुरा पनि सुनेकी छु । 

अब पुस–माघको जाडो बिदा आउँदै छ । हिउँ नपरे पनि स्वेटर, ज्याकेट लगाउने खालको जाडो चाहिँ हुने गर्छ । यस पटकको बिदा कसरी उपयोग गर्ने भनेर मैले योजना बनाइरहेकी छु । विद्यार्थीले स्कुलबाट छु‌ट्टी भएको समयलाई मौकाका रूपमा लिन सिक्नु पर्छ । विद्यालयमा विशेष गरी किताबी ज्ञान सिकिन्छ तर छुट्टीको दिन किताबबाटै सिक्नु पर्छ भन्ने हुँदैन । छुट्टीको दिन समय मिलाएर पारिवारिक भ्रमणमा जान सकिन्छ । घुम्न गएको ठाउँमा मानिसको जीवनशैली, पोसाक, खानेकुरा आदिका बारेमा सिक्न सकिन्छ । 

यसको अर्थ छुट्टीको बेला बाहिर जानै पर्छ भन्ने पनि होइन । घरभित्र बसेर पनि धेरै कुरा गर्न सकिन्छ । परिवारसँग बसेर फलदायी कुराकानी गर्न सकिन्छ । अचेलको व्यस्त जीवनमा एउटै छानोमुनि बस्ने परिवारलाई पनि एउटै टेबलमा खाना खान भ्याइनभ्याइ हुन्छ । बिदाको बेला सबै जना मिलेर आनन्दले गफ गर्न सकिन्छ । नयाँ कुरा सिक्न वा सिकाउन पनि सकिन्छ । छुट्टीको समयमा केही सिर्जनात्मक क्रियाकलापमा पनि संलग्न हुन सकिन्छ । कविता र कथा लेख्न सकिन्छ अथवा चित्र पनि बनाउन सकिन्छ । उमेरगत बानी व्यवहार तथा संस्कार सिक्न र सिकाउन सकिन्छ ।

कविता लेखन प्रतियोगितामा जाँदा निर्णायक मण्डलले ‘हामी डटपेन समयका, तिमीहरू डट कम समयका’ भन्नुभएको थियो । मैले यो कुरा भित्रैबाट मनन गरेकी थिएँ । डट कम राम्ररी चलाउन आउनेलाई नयाँ कुरा सिक्न सहज छ । मैले छुट्टीको समयमा मोबाइल चलाउन बसेँ भने बुवाले भन्ने गर्नुहुन्छ– अचेलका केटाकेटी मोबाइलमै झुन्डिरहेका हुन्छन् । हामी त जति हिउँ परे पनि बाहिर साथीहरूसँग खेल्न जान्थ्यौँ । तिमीहरूलाई त झन् खेल्नका लागि मजाको वातावरण छ । बुवाआमाको समयमा बाहिर खेल्ने मात्र एउटा मनोरञ्जनको तरिका थियो । हाम्रो समयमा भने मोबाइल, ट्याब, ल्यापटप आएका छन् । यी साधनको हामीले राम्रो उपयोग गर्न सिक्नु  पर्छ । सदुपयोग गर्न जानेमा यी सामग्री हाम्रा असल मित्र बन्न सक्दछ ।  

विद्यार्थी भनेको सिक्दै गरेका व्यक्ति हुन् । विद्यार्थीले किताबी ज्ञान मात्रै नभई सिपमूलक ज्ञान पनि सिक्नु पर्छ । सिपमूलक ज्ञान चाहिँ छुट्टीको बेला सिक्नु राम्रो हुन्छ । जाडो बिदामा सबै जना घरभित्रको तातोमा गफ गर्दै, लेख्दै र बनाउँदै, खेल्दै, रमाउँदै र सिक्दै बस्न सक्छन् । तालिका बनाई दैनिक त्यही अनुसार क्रियाकलाप गर्न सक्यौँ भने जाडो बिदा जति लामो भए पनि कति छिट्टै बित्यो जस्तो अनुभव हुन सक्छ । 

      मुना