• १३ मंसिर २०८२, शनिबार

थेसिस

blog

म हाइस्कुलको खुड्किलो भर्खरै चढ्दै थिएँ । तिसको दशकको मध्य समयमा । काठमाडौँमा पढ्ने गाउँले छिमेकी दाइका गफ दसैँतिहारमा सुन्थेँ, “पढाइ त सकियो अब थेसिस लेख्न बाँकी छ ।” 

मलाई यो थेसिस भन्ने शब्दले बारम्बार कोतरिरहन्थ्यो– के रहेछ यो जन्तु ? पढाइ सकिए पनि बाँकी रहने ? मेरो मन एक तमासले उद्वेलित भइरहन्थ्यो । यो मेरा भागमा कुनै दिन पर्छ कि पर्दैन होला ? म सामान्य गाउँले एउटा असाक्षर किसानको छोरो, जो त्यहीँकै स्कुलमा जसरीतसरी पढाइरहेका गुरुको चेलो मैले त्यो सपना देख्नु ठिक थियो वा बेठिक ? मलाई यो आधा शताब्दी उमेर उकालो लाग्दै गर्दा पनि अचम्म लागिरहेको छ ।

अहिले मनको एउटा कुनामा लाग्छ, मलाई अरू थोकभन्दा पढ्न नै मन लाग्ने रहेछ क्यार ! उमेर पनि बढ्दै गयो, जसरीतसरी पढाइ पनि चल्दै गयो स्कुलमा । 

एक दिन सूर्यप्रसाद शर्मा सरले मलाई भनेको वाक्य थियो, “खेलभन्दा पनि तैँले साहित्यतिर ध्यान दिँदा राम्रो हुन्छ केटा ।” तिनै कुराले पो मेरो अन्तर्मनमा कतै बास लिएर म नजानिँदो पाराले साहित्यको पाठक बन्न पुगेँ कि ? भन्ने पनि कता कता लाग्छ । स्कुल पढ्दा मैले पाठ्यपुस्तकबाहेक सबैभन्दा पहिले पढेको पुस्तक उपन्यास थियो– अरुण शर्माको ‘एक डायरी सुशी र कञ्चनजङ्घा’ जुन पुस्तक साझा प्रकाशनले छापेको थियो । त्यो पुस्तक कसबाट मेरा हातमा परेको थियो, मलाई यकिन सम्झना अहिले छैन । त्यसका विषयवस्तु के थियो र पात्र को को थिए, त्यो त झन् सम्झने कुरै भएन ।

आग्राको कुरो गर्दा गाग्राको कुरो पो हुन गयो कि कसो ? म त थेसिसको कुरा पो गर्दै थिएँ, समयले मलाई पनि फलामे ढोकामा पु¥याएर एक पटक पुल्टुङबाजी खुवायो । डर पनि लाग्यो, मेरो उच्च शिक्षामा यसले अवरोध त गर्ने होइन ? तर मैले हरेस खाइनँ, अर्को वर्ष त्यो ढोकालाई छिचोल्न सफल भएँ । अब मेरो उच्च शिक्षाको बाटो तय भइसकेको थियो । म त्यसैको तयारी र रोजगारीको पनि खोजीमा थिएँ । केही समयको अन्तरालमा आफ्नै मेहनतका कारण रोजगारी पाउन पनि म सफल भएँ । उच्च शिक्षा पनि हासिल गर्दै थिएँ तर भने जस्तो सहज नहुने रहेछ । विविध कारणले स्नातक गर्न मेरा लागि केही समय विलम्ब हुन पुग्यो तर मैले आफ्नो कर्तव्य गर्न छाडिनँ, निरन्तर लागिरहेँ र प्रतिफल ढिलै भए पनि हात लाग्दै गयो ।

स्नातक उतीर्ण गरेपछि मेरो त्यो पुरानो थेसिसको कथाले मूर्त रूप लिने कुरामा म ढुक्क हुन पुगेँ । ढिलोचाँडो मेरो पुरानो सपना सार्थक हुने कुरा पक्का थियो । पढाइको महìवका कारण होला प्रवीणता प्रमाणपत्र तह र स्नातक तहमा जस्तो विलम्ब स्नातकोत्तर तहमा भएन । स्नातकोत्तर तहको दोस्रो वर्षको परीक्षाफल प्रकाशित भएका समयमा म कामविशेषले घर झापामा थिएँ । केही दिनको अलमलपछि क्याम्पसमा आउँदा शोधपत्र लेख्ने समय भइसकेको रहेछ । साथीहरू धमाधममा रहेछन् । अब म कुइरोमा हराएको काग जस्तो के गर्ने के नगर्ने अवस्थामा पुगेँ । सरले मलाई रत्न राज्यलक्ष्मी क्याम्पसमै गणित विषय प्राध्यापन गर्ने कथाकार ‘इस्माली’ (महेश पौडेल) का कथाबारे लेख्दा पनि हुने भनेर सामान्य सुझाव दिनुभयो । मैले फुटकर रूपमा उहाँका कथा पत्रपत्रिकामा पढेको पनि थिएँ र उहाँका कथा मलाई मन पर्थे । खोेजी गर्दा उहाँ क्याम्पसमा भेटिनुभएन । उहाँलाई खोज्दै उहाँको घर बानेश्वर पुष्पनगर पुगेर सबै वृत्तान्त सुनाएँ । उहाँ खुसी भएर आफूसँग रहेका केही थान कथासङ्ग्रह र अन्य सन्दर्भ सामग्री पनि दिनुभयो । ती सामग्री बोकेर म फर्किएँ र अन्य सामग्री पाठ्यसामग्री पुस्तक पसल जामे मस्जिद गएर खरिद गरेँ केही हजार रुपियाँ तिरेर ।

जब म शोधपत्र लेख्ने तरखरमा लागेँ, क्याम्पसबाटै सूचना पाइयो इस्मालीका बारेमा रत्नराज्यलक्ष्मी क्याम्पसका स्नातकोत्तर तह पहिलो वर्षका विद्यार्थी टेकबहादुर बलम्पाकीले शोध गरिहेका छन् र पूरा गरेका छैनन् । अब म झन् बिलखबन्दमा परेँ, के गरूँ, कसो गरूँको अवस्थामा पुगेँ । सामग्री खरिदमा केही रकमसमेत झ्वाम भइसक्यो, जुन फिर्ता हुनेवाला थिएन । मैले आफ्नो समस्या मेरा गुरु हेमनाथ पौडेलसमक्ष राखेँ । उहाँले एक छिन विचार गरेर विमल निभाका कवितामा अहिलेसम्म कसैले गरेका छैनन् जस्तो लाग्छ ! उहाँका कवितामा गर्न सके राम्रो हुने सुझाव दिनुभयो । उहाँको सुझाव मलाई एकदमै उपयुक्त लाग्यो । विमल निभाका कवितामा यसअघि कसैले पनि थेसिस लेखेका रहेनछन् । यो मेरा लागि अति नै खुसीको कुरा थियो । त्यसबेलासम्म विमल निभाका दुई थान कवितासङ्ग्रह मात्र प्रकाशित भएका थिए । पहिलो ‘आगोनेर उभिएको मानिस’ र दोस्रो ‘एउटा बाहुला नभएको बुसर्ट’ । मलाई हतार थियो, म तुरुन्तै कवि विमल निभाको घर डल्लु चागालमा पुगेँ र सबै वृत्तान्त सुनाएँ । सजिलो के थियो भने म विमल निभा दाइसँग राम्रो परिचित थिएँ र मलाई पनि यहाँले राम्ररी जान्नुबुझ्नु भएको थियो र मेरा अति आदरणीय दाइ हुनुहुन्थ्यो । खुसी भएर उहाँले आफ्ना दुई थान कवितासङ्ग्रह र अन्य केही सन्दर्भ सामग्री पनि दिनुभयो र भन्नुभयो, “सीतारामजी केही पर्दा मलाईभन्दा बढी मेरोबारे श्यामलजीलाई थाहा छ, उहाँसँग आवश्यक सम्पर्क गर्नुहोला ।” म मनमनै गम्दै सडकमा हिँडिरहेको थिएँ, एक्कासि सोचेँ, के भनेको होला ? भनेर । विमल दाइले कति भरोसा गरेको होला श्यामल दाइमाथि आफूभन्दा बढी ! म श्यामल दाइको पनि उस्तै भाइ थिएँ । संयोग के जुर्न पुगेको थियो भने श्यामल दाइ पनि सोही ब्याचको स्नातकोत्तर तहको प्राइभेट परीक्षार्थीका रूपमा परीक्षा उत्तीर्ण गरेर बस्नुभएको थियो । उहाँ सो समयमा युएनडिपी नेपालगन्जमा कार्यरत हुनुहुन्थ्यो । श्यामल दाइको पनि थेसिस लेख्ने काम बाँकी नै थियो ।

म थेसिसको काममा लागेँ, विभागले मेरा गाइड रामप्रसाद ज्ञवाली सरलाई तोक्यो । युएनडिपीको जागिरको समय सकिएपछि श्यामल दाइ पनि काठमाडौँ आउनुभएको थियो । मैले उहाँसँग सम्पर्क गरेर पूर्वकार्यको समीक्षा लेखेर पहिले हेमनाथ सरलाई देखाएर रामप्रसाद ज्ञवाली सरलाई देखाउन पुगेको थिएँ । ज्ञवाली सर त्यो समयमा धेरै नै व्यस्त हुनुहुन्थ्यो । बानेश्वरतिर उहाँहरूले एउटा स्कुल पनि चलाउनुभएको थियो । सिर्जनात्मक लेखन त छँदै थियो, त्यसका साथै विश्वविद्यालयका नेपाली विषयका परीक्षाका सहयोगी गाइडसमेत लेख्ने गर्नुहुन्थ्यो क्यार ! त्यसैले ज्ञवाली सरसँग समय असाध्य कम थियो त्यसबेला । म पहिले श्यामल दाइ, त्यसपछि हेमनाथ सर अनि मात्रै ज्ञवाली सरसँग भेटेर थेसिसको काम अगाडि बढाइरहेको थिएँ । साथमा अङ्कसँग खेल्ने राष्ट्रिय वाणिज्य बैङ्कको अति व्यस्त शाखा विशालबजारमा कार्यरत पनि थिएँ । १० देखि ५ बजेसम्मको समय त त्यसैले खान्थ्यो ।

म धिमा गतिले थेसिसको काममा थिएँ, साह्रै हतारो पनि थिएन । त्यो पेस गरेर कतै जागिरका लागि तुरुन्त निवेदन गर्नु पनि थिएन । बढुवाका लागि तत्काल त्यो तहको शैक्षिक योग्यता आवश्यक परेको पनि थिएन । म भोजपुरीको उखान ‘पढे फारसी बेचे तेल’ जस्तो थिएँ । नेपालीको विद्यार्थी र बैङ्कको जागिरे तर काम छिट्टै सक्न पाए हुन्थ्यो भन्ने हुटहुटी मनमा थियो । त्यहीबेला २०६२ असार १२ गते मेरा बुवा धनपति उप्रेतीको ५९ वर्षको उमेरमा झापामा निधन भयो । केही समय त्यसले पनि खायो । त्यसपछि मेरो दिमाग केही समयसम्म स्थिर रहन सकेन अर्थात् लेख्न पढ्न मलाई फिटिक्कै मन लागेन । म ज्ञानशून्यको अवस्थामा पुगेँ ।

काम सक्नुपर्ने बाध्यता पनि छँदै थियो, म केही समय अफिसबाट बिदा नै लिएर थेसिस लेख्ने काममा लागेँ । धेरै मानिसलाई भेटेर सामग्री सङ्कलन गर्नुपर्ने थियो । कतै पुस्तकालयमा गएर आवश्यक सामग्री खोज्नुपर्ने पनि हुन्थ्यो । यसअघि कसैले पनि विमल निभाका कविताबारे थेसिस नगरेका कारण उहाँबारे अन्य सन्दर्भ सामग्री पाउने सम्भावना पनि पटक्कै भएन । त्यही वर्ष त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागबाट दैलेखका भक्तिराम उपाध्यायले ‘कवि विमल निभाको जीवनी व्यक्तित्व र कृतित्व’ बारेमा थेसिस गरिरहनुभएको रहेछ । दैलेखतिर नै शिक्षण पेसामा आबद्ध उहाँ एक पटक मलाई नै खोज्दै आइपुग्दा मैले उहाँलाई सकेको सहयोग गरेर पठाएँ । मैलेभन्दा केही समयअघि उहाँले आफ्नो थेसिस बुझाउनुभएको थियो ।  

त्यसबेला मेरो बसाइ कुलेश्वर नयाँ बस्तीमा र श्यामल दाइको बाफलमा थियो । जाउआउ गर्न पनि असाध्यै सजिलो । श्यामल दाइले रत्तिभर पनि झिँजो नमानी मेरो थेसिस तयार गर्न सघाउनुभयो । त्यसलाई लेखेर हेमनाथ सरलाई देखाउन पुग्थेँ । त्यो समयसम्म मेरो मोबाइल बोक्न सक्ने हैसियत थिएन । कहिले क्याम्पसमा सरसँग भेट पनि हुँदैन्थ्यो । सरको घर कपनसम्म पुगेर उहाँलाई पनि दुःख दिने काम गरेँ तर हेमनाथ सरले पनि कहिल्यै दुःख माने जस्तो मलाई लागेन । हेमनाथ सरले दिएको आवश्यक सुझावपछि र त्यसलाई सच्याएपछि मात्र मेरो काम ज्ञवाली सरसँग भेट्ने हुन्थ्यो । थेसिसलाई त सूत्रबद्ध ढङ्गले लेख्नुपर्ने हुनाले सिर्जनात्मक लेखन जस्तो नहुने । एवंरीतले मैले आफ्नो काम सकेँ । थेसिसलाई अन्तिम रूप दिइसकेपछि ज्ञवाली सर पनि खुसी हुनुभयो र भन्नुभयो, “अब कम्प्युटर टाइप गराएर बाइन्डिङ गरेर ल्याउनु होला ।”

अब अर्को काम आफूलाई कम्प्युटर टाइप गर्न नआउने । अन्त कतै गराउँदा समयमा गर्न नसकिने जस्ता कुराले म साहै्र नै पिरोलिएको थिएँ । त्यो समयमा मेरा भावी बनेर आउनुभयो– मेरा मित्र र सोही क्याम्पसका सहपाठी झापा धुलाबारी निवासी ‘घनश्याम ओली’ जो तिनताका कान्तिपुर दैनिक पत्रिकासँग आबद्ध हुनुहुन्थ्यो । मैले आफूलाई परेको समस्या उहाँसमक्ष राखेँ, उहाँ पनि आफ्नो थेसिस लेख्दै हुनुहुन्थ्यो । ओलीजीले मेरो प्रस्तावलाई सहर्ष स्वीकार गरेर भनेको समयभन्दा चाँडै नै काम तामेल गरिदिनुभयो । त्यो पनि एक पैसा पनि पारिश्रमिक नलिईकन । उहाँको त्यो गुन मैले कहिले तिर्नुहोला ? 

यसरी मैले मेरो सानैदेखिको पूरा गर्न खोजेको थेसिसको इच्छा पनि पूरा गरेँ उमेरको ३५ औँ वर्षमा । साथीहरूले थेसिसका कथा पनि धेरै सुनाए । कसैसँग थेसिसको विषयमा कुरा गर्दा आफ्नो पुस्तक पनि किनेर लिनु भन्ने गरेको । कोही कोहीले चाहिँ मेरा विषयमा थेसिस लेखेका खण्डमा खर्चबर्चसहित थेसिसको पुस्तकसमेत छापिदिने आश्वासन पनि दिने गरेका थिए अरे ! खै कुन्नी त्यस्ता थेसिस लेखिए कि लेखिएनन् होला ?