• १२ असार २०८१, बुधबार

मजदुर कटौती गर्दै उद्योग

blog

नवराज कट्टेल

विराटनगर, असार २३ गते । सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा रहेका एमएस वायरमा आधारित उद्योगले मजदुर र कर्मचारी कटौतीको प्रक्रिया बढाएका छन् । आव २०७८/७९ को बजेटमा करको दर बढाइएकाले एमएस वायरमा आधारित उद्योग सञ्चालन समस्यामा परेको भन्दै कोरिडोरका पाँच उद्योगले कर्मचारी कटौतीको प्रक्रिया अगाडि बढाएका हुन् । 

शारडा ग्रुपको पायनियर वायर्सले ९० मजदुरलाई अवकाश दिएको जनाएको छ । कानुनअनुसार अवकाश दिने प्रक्रिया अगाडि बढाइएको सञ्चालक अनिल शारडाले जानकारी दिनुभयो । मोरङको बूढीगङ्गा गाउँपालिकामा रहेको पायनियर वायर्सले मङ्गलबार सूचना जारी गर्दै ८४ जना मजदुर र २८ कर्मचारीलाई साउन २० गतेदेखि बाध्यात्मक अवकाश दिइने जनाएको छ । 

प्रिमियर वायरमा दुई सय मजदुर कटौती गरिसकिएको बताइएको छ । कोरिडोरमा रहेका पाँच उद्योगमध्ये बाँकी चारवटा उद्योगले समेत मजदुर तथा कर्मचारी कटौती गर्ने प्रक्रिया सुरु गरिसकेको जनाएका छन् । पाँचवटा उद्योगका एक हजार मजदुर तथा कर्मचारीको रोजगारी गुम्नेछ । 

बूढीगङ्गा गाउँपालिकाको कमला स्टिलले दुई सय कर्मचारी तथा मजदुर कटौतीको प्रक्रिया अगाडि बढाएको जनाएको छ । हुलास वायरले समेत एमएस युनिटका १५० मजदुर कटौती गर्ने तयारी गरिरहेको सञ्चालक युक्ती गोल्छाले जानकारी दिनुभयो । महालक्ष्मी वायर्सले प्रक्रिया सुरु गरेको सञ्चालक गिरीश लुनियाको भनाइ छ । उद्योगले कर्मचारी तथा मजदुरलाई सेवाबाट हटाउन एक महिनाअघि नै सूचना दिनुपर्छ । श्रम ऐन, २०७४ को दफा १४५ को दफा २ अनुसार कुनै पनि उद्योगले श्रमिक वा कर्मचारी कटौती गर्नका लागि ३० दिनअघि सूचना जारी गरेर श्रम कार्यालयलाई जानकारी गराउनुपर्ने प्रावधान छ ।

एमएस वायर कच्चापदार्थका रूपमा आयात गरेर जीआई वायर, ग्याबिन बक्स, बाँटी, पिसी वायर उत्पादन गर्दै आएको सो उद्योगले बजेट पुनरवलोकनको सम्भावना नदेखिएको बताउँदै समयमै सूचना जारी गरेको हो । कच्चापदार्थ सकिएका कारण उद्योग बन्द गर्नुपर्ने स्थिति आएको उद्योगी शारडाले जानकारी दिनुभयो । 

महसुल र शुल्क दोब्बर

जेठ १५ गते ल्याएइको सङ्घीय बजेटमा कच्चापदार्थ एमएस वायर रडको भन्सार महसुल पाँच प्रतिशतबाट वृद्धि गरेर १० प्रतिशत गरेको छ । यसैगरी अन्तःशुल्कमा प्रतिकिलो दुई रुपियाँ ५० पैसाबाट चार रुपियाँ ५० पैसा पु¥याएको छ । जीआई वायरको आयातमा ३० प्रतिशत र अन्तःशुल्क दस हजार रुपियाँ बनाएको छ । 

उद्योगी शारडाले भारतले समेत एमएस वायर निर्यातमा १५ प्रतिशत शुल्क तोकेकाले कच्चापदार्थ आयात गरेर वस्तु उत्पादन सम्भव नभएको दाबी गर्नुभयो । उहाँले कच्चापदार्थ आयात गरे वस्तु उत्पादन गर्नुभन्दा तयारी वस्तु आयात गर्दा फाइदा हुने भएकाले उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । 

उद्योगले श्रम कार्यालय विराटनगरलाई समेत जानकारी गराएर जारी गरेको सूचनामा बजेटमा राखिएका प्रावधानले कच्चापदार्थ आयात गरेर वस्तु उत्पादन गर्न नसकिने उल्लेख गरेको छ । हुलास वायरका सञ्चालक युक्ति गोल्छाले करको दरका प्रावधानले रोजगारी कटौतीसँगै उत्पादन बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । सरकारले करका दरमा हेरफेर नगरे एमएस वायर रडमा आधारित देशभरका १२ उद्योगले मजदुर तथा कर्मचारी कटौती गर्नुपर्ने अवस्था आउने उद्योगीको भनाइ छ ।