अजय शाह
गौशाला (महोत्तरी), मङ्सिर १७ गते । भारतमा हालै सम्पन्न भएको १२ औं राष्ट्रिय ड्रैगन बोट प्रतियोगितामा महोत्तरीका राजु महतोले उत्कृष्ट प्रदर्शन गर्दै दुई वटा काँस्य पदक जित्न सफल हुनुभएको छ ।
भारत महाराष्ट्रको नान्देडमा ईण्डिया एण्ड ट्रेडिसनल स्पोट्र्स फेडरेसनले आयोजना गरेको उक्त प्रतिस्पर्धामा महतोले भाग लिनुभएको थियो । भारतीय प्राधौगिकी संस्थान (आई आई टी) रुडकीमा एमटेक ग्राउण्ड वाटर हाईड्रोलोजीमा महतो अध्यनरत छात्र हुनुहुन्छ । उहाँले डि २२ मिक्स ५ सय मिटर स्पर्धामा प्याडलरको रुपमा तथा यु २३ पुरुष १ सय मिटर स्पर्धामा स्टियर्स पर्सनको रुपमा भाग लिनुभएको थियो । जसमा उहाँले ती दुई खेलमा गरी दुई काँस्य पदक हासिल गर्नुभएको हो । उक्त प्रतियोगितामा नेपालका एकमात्र सहभागीको रुपमा छात्र महतोले सहभागीता जनाउनुभएको थियो ।
राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागी भई पदक जित्न सफल भएकोमा उहाँले आफ्नो सफलताको श्रेय प्रशिक्षक करमबिर सिंह तथा अध्यनरत संस्थाका स्पोट्र्स अफिसर आलोक पाण्डेय लगायतका सहभागी टोलीलाई दिनुभएको छ ।
शिक्षासँगै खेलकुद प्रति अग्रसर रहँदै आएका महतोले मेहनत गरे विश्वको कुनै ठाँउमा आफ्नो लगनशिलता र प्रयासले सफलता हासिल गर्न सकिने बताउनुभएको छ ।
महोत्तरीको मनराशिसवा नगरपालिका ६ सरपल्लो घर भएका राजु महतो नेपालमा रहदा विभिन्न समयमा समाजिकस्तरबाट जनचेतना जगाउने कार्यमा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँले विभिन्न आन्दोलन र न्यायका लागि आवाज उठाउने अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
यसअघि महतो युथ एसोसिएसन अफ नेपाल– यानको प्रवक्ता तथा महोत्तरी युवा सञ्जालको सचिबको रुपमा सक्रिय भुमिका सहित विभिन्न समाजसेवी कार्यहरुमा समेत सहभागी हुनुहुन्थ्यो ।