नेपालमा विद्यालयदेखि उच्च शिक्षासम्म सिकाइमा सुधार गरी दक्ष जनशक्ति उत्पादन गर्न धेरै प्रयास भएका छन् । शिक्षण संस्थाका लागि भवन, पुस्तकालय तथा प्रयोगशाला जस्ता भौतिक अवस्थामा ध्यान दिनुका अतिरिक्त समय अनुसार पाठ्यक्रम निर्माण, प्रबोधीकरण, तालिम, पुनर्ताजगी तालिम, शिक्षण सामग्री निर्माण र शिक्षण विधिका बारेमा धेरै लगानी भएको छ । शैक्षिक जनशक्ति पनि पर्याप्त मात्रामा व्यवस्थापन गरिएको छ । न्यून जनशक्तिले भने सम्पूर्ण तह पार गरेको देखिन्छ । तह पार गरेका जनशक्तिमा गुणस्तरको अभाव देखिन्छ । उत्पादित जनशक्तिमध्ये धेरै कमले मात्र रोजगारी प्राप्त गरेको वा स्वरोजगारी सिर्जना गरेको पाइन्छ । धेरै कम मात्र जनशक्ति उत्पादन हुनु, उत्पादित जनशक्तिले पनि रोजगारी पाउन मुस्किल हुनुमा कक्षाकोठामा पूर्ण सिकाइ नहुनु नै हो । पूर्ण सिकाइका लागि कक्षाकोठामा विद्यार्थीले ज्ञान, सिप, अभिवृद्धि र कार्यदक्षता प्राप्त गर्नु पर्छ ।
ज्ञान भन्नाले दिमागले प्राप्त गर्ने सूचना हो । तथ्य, सिद्धान्त, नियम, विषयवस्तुको अवधारणा मासपटलमा बस्नु नै ज्ञान हो । यस प्रकारको ज्ञान दिमागमा बस्छ र केही समयपश्चात् विस्मृति पनि हुन सक्छ । ज्ञानलाई व्यवहारमा उतार्नु सिप हो । समस्या समाधान गर्ने, हात खुट्टाले चलाउने, बनाउने, खेलाउने, तालिका बनाउने, प्राप्त ज्ञानलाई दिगो बनाउन आफ्नै तरिकाले व्यक्त गर्ने जस्ता कुरालाई सिप भन्ने गरिन्छ । कम्प्युटर चलाउने, भलिबल खेल्ने, नक्सा बनाउने, सञ्चार गर्न सक्ने आदि सिपका उदाहरण हुन् ।
सकारात्मक सोच, दृष्टिकोण, परिवार, समाज, राष्ट्र अनि विश्वमा आफूलाई समायोजित गर्न सक्ने, बाबु, आमा, इष्टमित्र तथा ठुलाबडालाई सम्मान गर्र्ने, मधुर वचन, लोभ मोह ज्यादै कम भएको व्यक्ति बन्ने कुरा अभिवृत्तिभित्र पर्छ । आफ्नो समाज तथा समग्र देशको सभ्यता, संस्कृति, संस्कारलाई माया गर्ने अपनाउने, बाह्य लवाइ खवाइलाई तिरस्कार होइन सम्मान गर्ने आफ्नोलाई सगौरव अपनाउने सच्चा देशभक्त नागरिक बन्ने र परिवार, समाज, राष्ट्रको हितमा लाग्ने असल नागरिक बन्नु नै व्यावहारिक प्रवृत्ति वा अभिवृत्तिगत विषय हो । ज्ञान, सिप र अभिवृत्तिलाई व्यवहारमा उतार्ने अवस्था कार्यदक्षता वा योग्यता हो । ज्ञान, सिप, अभिवृत्ति मिसिएर प्राप्त हुने समग्र क्षमता नै कार्यदक्षता वा योग्यता हो । प्राप्त ज्ञान, सिप, अभिवृत्तिलाई प्रदर्शन गर्न सक्ने क्षमता, प्रत्यक्ष रूपले अरूलाई देखाउन, बुझाउन सक्ने क्षमता कार्यदक्षता हो । कम्तीमा पनि विद्यालय शिक्षा पूरा गरेको जनशक्ति आआफ्नो विधाको बजारमा जान सकोस् । आवश्यक परेको अवस्थामा मात्र उच्च शिक्षा लिन सक्ने स्थिति बनोस् ।
यी चार पक्षलाई विकास गर्न निरन्तर सिकाइको आवश्यकता पर्छ । स्वःअनुभव, प्रशिक्षणबाट प्राप्त गर्न सकिन्छ । ज्ञान बढाउनका लागि स्रोतसामग्रीको पहुँच गर्न सक्नु पर्छ । पुस्तकालयमा पर्याप्त पुस्तक तथा विषेश गरी विद्युतीय (डिजिटल) सामग्री, उपलब्ध अर्थात् पहुच हुनु पर्छ । एउटै विषयलाई विभिन्न कोणबाट बुझ्ने, समस्याको समाधान स्वयम्ले गर्न सक्ने बनाउनु पर्छ । सिप पक्षको विकास गर्न व्यावहारिक अभ्यास, सहकार्यमा आधारित क्रियाकलाप, सहपाठी बिच ज्ञानको आदानप्रदान, सिकाइमा प्रविधिको प्रयोग गर्नुपर्ने देखिन्छ । एक्काइसौँ शताब्दीमा आवश्यक पर्ने सिपको हासिल सिकाइको क्रममा नभए व्यक्ति समाजमा स्थापित हुन सक्दैन ।
अभिवृत्ति पक्षको विकास गर्न सकारात्मक सोचको विकास गर्नु पर्छ । रचनात्मक प्रतिक्रिया दिन सक्ने, नैतिक मूल्यलाई सिकाइमा जोड दिने, परिवार, समाज, देशलाई माया गर्ने, आमाबाबु, छरछिमेक, इष्टमित्रलाई यथोचित सम्मान गर्ने, समग्रमा मानवमात्रको भलाइमा दत्तचित्त हुने, स्वआत्म विश्वास बढाउने खालको शैक्षिक वातावरण बनाउनु पर्छ । नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बनाउनु पर्छ । कार्यदक्षता वा क्षमता बढाउन वास्तविक जीवनका समस्या समाधान गर्न सक्ने, अनुभवबाट सिक्दै जाने, आत्ममूल्याङ्कन गर्न सक्ने, परियोजना बनाउने, सम्पन्न गर्ने, निष्कर्ष निकाल्ने, त्यसको सम्प्रेषण गर्न सक्ने, ज्ञानको सिर्जना गर्न सक्ने जनशक्ति तयार गर्न सक्नु पर्छ ।
सम्पूर्ण सिकाइका लागि आधारभूत सिकाइ वातावरण बनाउनु पर्छ । विद्यार्थी केन्द्रित शिक्षण पद्धति नै महत्वपूर्ण पक्ष हो । प्रश्न सोध्न प्रेरित गर्ने, खुला संवाद गर्न सक्ने, कक्षाकोठालाई समावेशी बनाउने र सबैले आआफ्नो गतिमा सिक्न सक्ने वातावरण बन्नु पर्छ । शिक्षक केवल परामर्शदाता भएर विद्यार्थीलाई सिक्ने वातावरण बनाइदिन सक्षम हुनु पर्छ । शिक्षक त एउटा रङ्गमञ्च निर्माणकर्ता हो भो विद्यार्थी कलाकारका रूपमा आफ्नो कला प्रदर्शन गर्छन् । समग्र शिक्षालयको व्यवस्थापन, कक्षा कोठाको व्यवस्थापन, प्रविधिको जडान र प्रयोग, उचित शिक्षण विधि अपनाउनु नितान्त आवश्यक छ । कक्षाकोठामा पर्याप्त छलफल, सिर्जना वा निर्माण, प्रस्तुतीकरण, प्रबोधीकरणको पर्याप्त वातावरण मिलाउन सक्नाले चारै पक्ष प्राप्त हुन्छ र पूर्ण सिकाइ हुन्छ ।
नेपालमा स्कुलमै बालकको जन्मजात गुण अर्थात् अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्ने वातावरण र शिक्षण सिपको विकास गर्दै विद्यार्थीले पूर्ण सिकाइ गर्ने वातावरण बनाउन सकिएको छैन । अन्तर्निहित प्रतिभा पहिचान गरी उसले कुन कुरा अध्ययन गर्दा पूर्ण रूपमा हासिल गर्न सक्छ भन्ने कुराको परामर्श दिन सक्ने शिक्षक जनशक्तिको पनि अभाव देखिन्छ । अध्ययन अध्यापनलाई बालक केन्द्रित गर्न सफल भएका र शिक्षा मात्र होइन समग्र राजनीति, सरकार सञ्चालन, पारदर्शिता, सही स्थानमा सही जनशक्ति व्यवस्थापन गरेर समग्र राष्ट्रलाई केही वर्षमा उच्चकोटीमा पु¥याउन सफल देशका शिक्षक र प्राध्यापक परामर्श सेवा दिन सक्षम हुन्छन् । विद्यार्थीलाई सही मार्गदर्शन गरेर सिकाइमा सहयोगी बनेको पाइन्छ । नेपालका शिक्षालयमा पनि कम्तीमा एक जना परामर्शदाता शिक्षक उत्पादन गर्न सकेमा बेलैमा परामर्श दिएर विद्यार्थीलाई दिग्भ्रमित हुनबाट बचाएर उस्को क्षमताले भ्याउने र चाहेको अध्ययन विषय चयन गर्न सक्ने र त्यसलाई हासिल गरेर आफूलाई समाजमा स्थापित गर्न सक्ने बनाउन सकिन्छ । आफ्नो त्यस्तो जनशक्ति समाजको असल असल नागरिक बन्न सक्छ । देशको मात्र होइन विश्वलाई योगदान दिन सक्ने नागरिक बन्न सक्छ ।
शिक्षकलाई व्यावसायिक बनाउनु पर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यको अवस्था सिर्जना गर्नु पर्छ । समय र परिस्थिति अनुकूल सिकाइको स्थानान्तरण गर्न सक्ने, शिक्षणमा परिवर्तन ल्याउन सक्ने, प्रविधिलाई शिक्षण विधिमा समायोजन गर्न शिक्षक तयार गर्नु पर्छ । आजको जमानामा एक्लै केही गर्छु भन्ने दृढ विश्वास त हुनै पर्छ । जसले उसलाई आत्मविश्वासी बनाउँछ तर सहकार्यबाट गरिने कार्य ज्यादै भरपर्दो र विश्वासिलो हुन जान्छ । अझै माथि उठ्न अन्तर्राष्ट्रिय सहकार्य गर्न सकेमा झनै राम्रो हुन्छ र शिक्षकमा झनै आत्मविश्वास बढ्न जान्छ । शिक्षक प्राध्यापकलाई सेवाकालीन तालिम, पुनर्ताजगी तालिम नभएको होइन । माथि उल्लिखित सक्षमता पनि नभएको होइन । विश्वस्तरको नभए पनि आत्मविश्वासको खडेरी परेको पनि होइन तर कक्षाकोठामा त्यसको भरपुर प्रयोग भएको छैन । शिक्षकको अभिवृद्धिमा परिवर्तन ल्याउन पर्ने देखिन्छ । शिक्षक होस् वा प्राध्यापक आफ्नो परिवार, समाज, देशको विकासका साथै आफ्नो शैक्षिक संस्थाका खातिर अहोरात्र खट्न सक्ने वातावरण बन्नु पर्छ ।
शिक्षक प्राध्यापकलाई मात्र दोष दिएर पन्छिन मिल्दैन । विद्यालयको समग्र व्यवस्थापन मिलाउन सकेनन्, कक्षाकोठाको मात्र पनि व्यवस्थापन गर्न सकेनन्, प्राप्त शिक्षण कलालाई कक्षाकोठामा प्रदर्शन गर्न सकेनन्, विद्यार्थीमा पूर्ण सिकाइ गर्न सकेनन्, उत्पादित जनशक्ति बेरोजगार भए, स्वरोजगार पनि बनाउन सकेनन्, शुद्ध प्राज्ञिक बन्न सकेनन्, व्यावसायिक बन्न सकेनन् भनेर हुँदैन । उनीहरूले प्राप्त गरेका सेवा सुविधाले जीवन यापन गर्न सक्ने न्यूनतम आवश्यकता धान्न सकेको छ कि छैन ? आफ्नो घर चलाउन र आफ्ना बालबच्चालाई शिक्षादीक्षा दिन चिन्ता गर्नु परेको छ कि छैन ? छिमेकी देशका शिक्षकले पाउने सेवा सुविधाको केही अंश पनि प्राप्त गर्न सकेका छन् कि छैनन् ? भन्ने तर्फ सोच्नु पर्छ ।
शैक्षिक जनशक्तिलाई कर्तव्यपथमा अग्रसर गराउन पक्कै उनीहरूको जनजीविकामा ध्यान दिनै पर्छ । उनीहरूलाई अभिप्रेरित गर्न आवश्यक पारिश्रमिक दिन सक्नु पर्छ । त्यसको जोहो गर्न अन्य संस्थामा समेत दौड्न पर्ने स्थिति आउँछ । सङ्घ, प्रदेश तथा स्थानीय सरकारका सरोकारवालाको ध्यान जानु पर्छ । भोको पेट र निरास अनुहार भएको जनशक्ति कसरी आफ्नो कर्तव्यमा सजग रहन सक्ला ? मर्यादाक्रमकै कुरा गर्दा पनि नेपाल सरकारका समानस्तरका कर्मचारीले पाउने सेवा सुविधामा पनि पक्षपातपूर्ण व्यवहार भएको आभास हुन्छ । दिने र लिने जस्तो व्यवहार देखिन्छ । शिक्षण पेसामा अब्बल जनशक्ति आकर्षित हुने वातावरण बनाउनु पर्छ । कतै नपाए शिक्षण पेसा रोज्न पर्ने स्थितिले के शिक्षा प्रणालीलाई सुधार गर्न सक्ला ? सेवा सुविधाका लागि सधैँ चिन्तित हुने र आन्दोलित मनस्थितिले कसरी शिक्षण अब्बल होला र माथि उल्लिखित पूर्ण सिकाइ भएका जनशक्ति उत्पादन हुन सक्लान् विचारणीय विषय बनेको छ । आजको आवश्यकता समग्र शैक्षिक वातावरणले पूर्ण सिकाइ होस् । ज्ञान मात्र नभएर व्यावहारिक सिप, सकारात्मक सोच र वास्तविक जीवनमा प्रयोग गर्न सकिने सक्षमता विकास गर्न सकोस् ।