अमृतप्रसाद पौडेल
म्याग्दी, मङ्सिर १७ गते । मालिका गाउँपालिकाको आयोजनामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ पश्चिम म्याग्दीको दरवाङमा सुरु भएको छ । मङ्गलवारदेखि पालिकाको केन्द्र दरबाङमा शुरु भएको प्रतियोगितामा मालिका गाउँपालि भित्र सञ्चालित १० वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । एथ्लेटिक्स, भलिबल र कबड्डी गरी कुल ३० स्वर्णपदकका लागि विद्यालयहरुबीच प्रतिस्पर्धा सुरु भएको हो ।
एथ्लेटिक्स विधातर्फ एक सय, दुई सय, चार सय, आठ सय, १५ सय, तीन हजार मिटर दूरीको दौड तथा सय मिटर गुण चार र चार सय मिटर गुण चार रिलेदौड प्रतियोगिता ट्रयाक तर्फ हुने छ । त्यसैगरी फिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट हुने छ । त्यस्तै भलिबल र कबड्डी गरी सबै प्रतियोगिता छात्रछात्राको हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा भएको मार्चपासमा जनप्रिय माध्यमिक विद्यालय दरबाङ प्रथम, भीम मावि देवीस्थान द्वितीय र केबि एकेडेमी दरबाङ तृतीय भएका थिए ।
पहिलो दिन भएको १५ सय मिटर दौडको छात्र तर्फ जनप्रिय माविका निलबहादुर किसान प्रथम, गौवमबस्त मावि देवीस्थानका रुपेश सुनार द्वितीय र राष्ट्रिय मावि रुमका नगेन्द्र घर्ती तृतीय हुनुभएको थियो । त्यस्तै छात्रातर्फ किसानी मावि विमका हिमा जुग्जाली प्रथम, जनप्रिय माविका विविका भण्डारी द्वितीय र भीम माविका श्रीया पुन तृतीय स्थान हासिल गर्न सफल हुनुभएको थियो ।
प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद ५० हजार, द्वितीय र तृतीयले क्रमशः ४० हजार तथा ३० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
प्रतियोगिताको उद्घाटनको क्रममा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले खेलकुद प्रतियोगिताले विद्यार्थी खेलाडीहरुमा शारिरीक, मानसिकसहित समग्र पक्षको चौतर्फी विकास गराउने बताउनुभयो । जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले खेलकुद प्रतियोगिताले शारिरीक, मानसिक र व्यक्तिगत जीवनमा समेत धेरै परिवर्तनहरु ल्याउने बताउँदै विद्यार्थी खेलाडीहरुले निष्पक्ष खेल प्रदर्शन, खेल भावना र अनुशासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।