• ४ असार २०८१, मङ्गलबार

प्युरे पहिरोको पिरलो

blog

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), असार २३ गते । जब आकाश मडारिएर पानी पर्न सुरु हुन्छ, रोङ गाउँपालिका–४, प्यूरेका टङ्क बस्नेतको होस र चेत हराउँछ । प्यूरेको पहिरो आसपासका स्थानीयलाई वर्षा याममा न भोख लाग्न न तिर्खा नै । “जग्गा जमिन बगाई सक्यो, मानिस जोगाउन पनि सकस पर्छ । पहिरो रोकिने छाँटकाँट छैन, बर्षेनि पहिरो बढेर गइरहेको छ, यस्तै रह्यो भने त गाउँ नै रहँदैन होला ?,” उहाँले भन्नुभयो । वर्षायाम सुरु भएसँगै पहिरोले यहाँका बासिन्दालाई धेरै सताउने गर्छ । 

वर्षौंदेखि झर्न थालेको पहिरोले धेरै परिवारको बिचल्ली बनाइसकेको छ । पहिरोले हालसम्ममा सयौँ रोपनी जमिन बगाइसकेको छ । पहिरोबाट हालसम्ममा टङ्क बस्नेत, नरबहादुर बस्नेत, टेकबहादुर पिठाकोटे, इन्द्रबहादुर पिठाकोटे, भीमबहादुर मगर, बलबहादुर मगर, हस्तकुमारी मगर, भुवनकुमार बस्नेत, सन्तबहादुर लाप्चा, यामप्रसाद मगर, मनकुमारी लाप्चा, कौशिला खड्का र खड्गबहादुर राईको परिवार विस्थापित भइसकेका छन् । विस्थापित हुने क्रम झन् थपिँदै गएको छ । 

यस पटकको पहिरोले थप परिवार विस्थापित बनाएको छ । बर्सेनि पहिरोले जमिन बगाउने क्रम बढेपछि पहिरो नियन्त्रणका लागि रोङ गाउँपालिकाले विकल्प खोजी गरिरहेको छ । गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले पहिरो नियन्त्रणका लागि सङ्घीय सरकार र प्रदेश सरकारसँग आग्रह गरेको बताउनुभयो । “गाउँपालिकाले मात्र यो पहिरो नियन्त्रण गर्न सक्दैन, माथिल्ला सरकारले ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो ।

पहिरो नियन्त्रणका लागि पालिका अध्यक्ष स्याङ्बो र उपाध्यक्ष विष्णुमाया भुजेलसहित प्राविधिक टोलीले स्थलगत अध्ययन गरेको छ । सङ्घीय सरकारको प्राविधिकसहितको टोलीले पहिरोको अध्ययन गरी माथिल्लो निकायमा पहिरो नियन्त्रणको प्रयास थालेको गाउँपालिकाले जनाएको छ । 

पहिरोले खेतीयोग्य जमिन बगाएर सुकुम्बासी बनेकाको अन्यत्र कतै जमिन नभएकाले पालिकाले विभिन्न स्थानमा जमिनको व्यवस्थापन गर्ने योजना बनाएको छ । चालु आर्थिक वर्षमा रोङ गाउँपालिकाले पहिरो पीडितको व्यवस्थापनका लागि १३ परिवारलाई एक÷एक लाखका दरले आर्थिक सहयोग गरेको थियो । २०६८ सालदेखि सामान्य पहिरो जान थालेको उक्त क्षेत्रमा २०७२ सालबाट पहिरोले गाउँ नै बगाएपछि ती परिवार विस्थापित भएका हुन् । हालसम्म १३ परिवारको लालपुर्जा भएको पाँच सय रोपनी जमिन पहिरोले बगाएको छ ।