काठमाडौँ, मङ्सिर ७ गते । मिर्गौला प्रत्यारोपण गरेपछि पनि आत्मनिर्भर भएर परिवार पाल्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ– गजेन्द्र मुडभरी । कैलालीका मुडभरीले मिर्गौला प्रत्यारोपणपछि पनि व्यवसाय गर्दै परिवारको सम्पूर्ण जिम्मेवारी समाल्दै आउनुभएको छ ।
स्थायी घर कैलालीको लम्कीचुहा नगरपालिकानिवासी उहाँले हाल धरानमा फलफूल व्यवसाय गर्दै आउनुभएको छ । मुडभरी सुरुमा सशस्त्र प्रहरीमा प्रहरी सहायक निरीक्षकका रूपमा कार्यरत हुनुहुन्थ्यो । जागिर खाएको सात वर्षपछि उहाँले उपदान लिएर जागिर छाड्नुभयो । त्यो बेला उहाँको रोजगारी धरानमा थियो । जागिर छाडेपछि उहाँ वैदेशिक रोजगारीका लागि मलेसिया जानुभयो र चार वर्ष बसेर नेपाल फर्कनुभयो । मलेसियाको कमाइले धरानमा छ धुर घडेरी पनि जोड्नुभयो । घर बनाउने दृढ अठोटले उहाँ पुनः रोजगारीका लागि २०६७ सालमा दुबई जानुभयो । नेपालबाट स्वास्थ्य परीक्षण गरेर जाँदा स्वास्थ्य ठिक थियो । दुबई गएको एक वर्षपछि उहाँलाई गाह्रो हुन थाल्यो । कम्पनीसँग बिदा मागेर ४५ दिनका लागि नेपाल फर्कनुभयो । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदा थाहा भयो कि उहाँको दुवै मिर्गौला फेल भइसकेको रहेछ । मिर्गौला फेल भएको थाहा भएपछि उहाँलाई बिपी प्रतिष्ठानले भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पठायो ।
काठमाडौँमा २०६९ माघदेखि डाइलासिस सुरु भयो । पाँच महिना डाइलासिस गरेपछि उहाँको २०७० साल जेठ २९ गते मिर्गौला प्रत्यारोपण भयो । मुडभरीले झन्डै एक वर्ष भक्तपुरको सल्लाघारीमा कोठा लिएर उपचार गरेको अनुभव सुनाउनुभयो ।
अहिलेसम्म मुडभरीको स्वास्थ्य स्थिति एकदम ठिक छ । मासिक नौ हजार रुपियाँको औषधीले पुगिरहेको छ । २० वर्षदेखि धरानमै बसिरहनुभएका मुडभरी पत्नीसँगै ठेलागाडामा राखेर फलफूलको व्यापार गर्नुहुन्छ । यसबाट उहाँले छोरालाई पढाउनदेखि कोठाभाडा तिर्ने, घर खर्च चलाउने काम गर्दै आउनुभएको छ । ‘‘दुवै जना सडकमा फलफूल बेच्छौँ,” मुडभरीले भन्नुभयो, “सिजनमा ६० हजारसम्म कमाइ हुन्छ, अफसिजनमा २० हजारमा चित्त बुझाउनु पर्छ ।”
ठेलामा फलफूल बेच्दा गाह्रो हुन्छ, राजमार्ग भएकाले फलफूलबाटै जिन्दगी चलिरहेको छ । उहाँको छोरा स्नातक पढ्ने भइसक्नुभयो । अहिले होटल म्यानेजमेन्ट अध्ययनरत हुनुहुन्छ । मुडभरीले भन्नुभयो, “अहिले छोराको पढाइ शुल्क वार्षिक दुई लाख तिर्नु पर्छ, त्यही पसलले छोराको पढाइदेखि सबै खर्च धानेको छु ।”
यसै गरी हेडौँडा–८, कमानेकी सर्मिला अधिकारी मकवानपुर बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्दै हुनुहुन्थ्यो । कलेज जाउआउ गर्ने क्रममा एक्कासि सर्मिलालाई गाह्रो भयो र हेटौँडा अस्पतालमा उपचारका लागि जानुभयो । हेटौँडाबाट थप उपचारका लागि चितवन मेडिकल कलेज, काठमाडौँस्थित आर्मी अस्पताल हुँदै भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पुग्नुभयो । त्यहीँ २०६९ फागुन १९ गते डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा उहाँको मिर्गौला प्रत्यारोपण भयो । सर्मिलालाई आमा सीतामाया अधिकारीले मिर्गौला दिनुभएको थियो । “स्नातक पहिलो वर्षमा अध्ययन गर्दागर्दै मिर्गौला फेल भयो, त्यो बेला मैले पढ्न पाइनँ,” सर्मिलाले भन्नुभयो, “मेरो एक वर्ष ग्याप भयो तर पछि स्नातक उत्तीर्ण भएँ ।”
मिर्गौला प्रत्यारोपण गरिएकी सर्मिला आठ वर्षदेखि रोजगारी गर्दै आउनुभएको छ । नक्सालमा एउटा अडिट फर्ममा कार्यरत हुनुहुन्छ । “म मेरो रोजगारीप्रति एकदम सन्तुष्ट छु,” सर्मिलाले भन्नुभयो, “केही समस्या भइहाल्यो भने फलोअपका लागि धर्मभक्त प्रत्यारोपण केन्द्रमा जाने गरेकी छु ।”
सर्मिलाले मिर्गौला प्रत्यारोपण गरिसकेपछि विवाह गर्नुभयो । अहिले उहाँको एक छोरा र एक छोरी छन् । विद्यालयमा पढ्छन् । श्रीमान् रोजगारी गर्नुहुन्छ । सर्मिला भन्नुहुन्छ, “मेरो मिर्गौला प्रत्यारोपण गरेको १३ वर्ष भइसक्यो । अझै मासिक १६ हजारको औषधी खाइरहनु पर्छ ।”
१५ वर्षअघिसम्म मिर्गौलाको उपचार गर्न विदेश जानुपर्ने नेपालमा अहिले यसको उपचार यहीँ सहज बन्दै गएको छ भने उपचार पाएकाहरू आफ्नै खुट्टामा उभिएर जीविकोपार्जन गरिरहेका छन् । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले १५ वर्षअघिसम्म मिर्गौला उपचार गर्न नेपालबाट विदेश जाने गरेकोमा हाल नेपालमै प्रत्यारोपण हुन थालेको जानकारी दिँदै भन्नुहुन्छ, “विगतमा भन्दा अहिले मिर्गाैला उपचारमा धेरै प्रगति भएको छ । नेपालमा विदेशीसमेत प्रत्यारोपणका लागि आउनु नेपालले स्वास्थ्यमा गरेको ठुलो प्रगति हो ।”
नेपालमा हाल वार्षिक तीन हजार जनाको मिर्गौला फेल हुने गरेको अनुमान छ । वार्षिक २५० जनाको मात्र मिर्गौला प्रत्यारोपण हुने गरेको छ । नेपालमा वीर अस्पतालबाट सन् १९९८ बाट पहिलो पटक हेमोडाइलासिस सेवा सुरु भएको थियो भने त्रिवि शिक्षण अस्पतालबाट सन् २००८ अगस्ट ८ मा पहिलो पटक मिर्गौला प्रत्यारोपण सुरु गरिएको थियो । त्यसको तीन महिनापछि वीर अस्पतालबाट पनि मिर्गौला प्रत्यारोपण गर्न सुरु गरिएको थियो ।