• २८ वैशाख २०८१, शुक्रबार

आमसंचार विधेयक प्रेसमैत्री हुनेछ : मुख्यमन्त्री पोखरेल

blog

पोखरा समाचारदाता 

पोखरा, असार २२ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आमसंचार विधेयक सञ्चार मैत्री हुने बताउनु भएको छ।

नेपाल प्रेस युनियन कास्कीले पोखरामा बुधबार आयोजना गरेको महाधिवेशन लक्षित भेलालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रका लागि लडेका संचारमाध्यममाथि अंकुश लगाउने गरी आमसंचार विधेयक सरकारले नल्याउने विश्वास दिलाउनुभयो।

उहाँले आमसंचार विधेयक संसदमा छलफलका क्रममा रहेकाले पत्रकारको सल्लाह सुझाव अनुसार नै प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताउनु भयो। मुख्यमन्त्री पोखरेलले यो वा त्यो बहानामा प्रेसमाथि नियन्त्रण गर्न नहुने भन्दै त्यसबारे आफूले निर्देशन दिएको समेत बताउनुभयो। उहाँले लोकतन्त्रको धरोहरनै प्रेस स्वतन्त्रता भएकाले प्रेसमाथि कुनै पनि बहानामा अंकुश लगाउने गरी आमसंचार विधेयक नआउने विश्वास दिलाउनुभयो। 

आमसंचार विधेयक संसदमा छलफलका क्रममा रहेकाले पत्रकारको सल्लाह सुझाव अनुसार नै प्रक्रिया अघि बढाउन निर्देशन दिएको उहाँको भनाइ थियो। प्रेस रजिष्ट्रारको विषयमा मात्रै कुरा मिलेको छैन। कुन श्रेणीमा राख्ने भन्नेमा मात्रै अलमिलएको छ,’ उहाँले भन्नुभयो, ‘यसले छिट्टै निकास दिनेछ।’ 

गण्डकी प्रदेश सरकारले लोककल्याणकारी काम गरेको उहाँको दाबीसमेत रहेको थियो। गठबन्धनको सरकार भएका कारण पार्टीले सोचेअनुरुप काम नभए पनि तुलनात्मक सन्तोषजनक भएको बताउनुभयो। नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले आर्थिक वृद्धिदर ८ प्रतिशतसम्म पुग्ने दाबी गर्नुभयो।

 नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेल, सहसंयोजक शिरोमणि बराल, कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देल, युनियनका सल्लाहकार गंगाधर पराजुली, राजबहादुर गुरुङ, नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष अनिता बिन्दु, युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल, पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनी, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइराला, कांग्रेस महासमिति सदस्य सरस्वती गुरुङ लगायतले प्रेस युनियनको महाधिवेशनको बारेमा बोल्नुभयो।