गुआङझाउ, मङ्सिर १ गते । चीनको १५औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अहिले अत्याधुनिक प्रविधिको प्रदर्शन हुँदैछ । रोबोटले खेलाडीलाई मेडल प्रदान गर्दै दर्शकको ध्यान तानेका छन् । प्रविधिको शहरका रूपमा चिनिने शेन्जेनमा रोबोटले पोडियमसम्म पदक पुर्याउँदा दर्शक उत्साहित हुँदै तस्बिर खिचिरहेका छन् ।
९२ किलोग्राम बक्सिङका रजत पदक विजेता मेङ फानलोङ्ग भन्नुभयो, “म निकै आश्चर्यचकित छु । भविष्यमा रोबोट हामीभन्दा धेरै सक्षम हुने जस्तो लाग्छ ।” यस पटकको ‘क्रस-बाउन्डरी’ खेलकुदमा विभिन्न प्रतिस्पर्धामा रोबोटको व्यापक र प्रभावकारी प्रयोग भइरहेको छ ।
एथलेटिक्स मैदानमा रोबोटिक कुकुरले जेभेलिन बोकेर कर्मचारीको काम सजिलो बनाइरहेका छन्, जबकि अन्य रोबोट स्थल गस्ती, पावर प्रणाली निरीक्षणको भूमिकासमेत निभाइरहेका छन् । आयोजकका अनुसार प्रतियोगितामा कृत्रिम बुद्धिमत्ता (एआई) र उन्नत सूचना प्रविधिसहित १३० भन्दा बढी हाई-टेक उपकरण प्रयोगमा छन् । उद्योग विशेषज्ञ पान हेलिनका अनुसार, यस्तो ठूलो स्तरको प्रतियोगिताले रोबोटिक्स र स्वचालित सवारीहरूको वास्तविक परीक्षण गर्ने उत्कृष्ट अवसर प्रदान गर्छ ।
साइकल दौडमा उच्च प्रविधिको योगदान
हङकङ-झुहाइ-मकाउ पुल हुँदै तीनै क्षेत्र जोड्ने पुरुष रोड साइकल दौडमा प्रविधिले सुरक्षा र व्यवस्थापनमा महत्वपूर्ण भुमिका खेलेको छ । लिङडिङयाङ समुद्री क्षेत्रमा चालकविहीन गस्ती र एचडी क्यामेरासहित गस्ती गरिरहेका छन् ।
दर्शकका लागि समावेशी प्रविधि
दर्शक अहिले एकै क्लिकमा साङ्केतिक भाषा सुविधा प्रयोग गरिरहेका छन्, जसले खेल हेर्ने अनुभवलाई अझ समावेशी बनाइरहेको छ ।
उद्योगमा दीर्घकालीन प्रभाव
विशेषज्ञका अनुसार राष्ट्रिय खेलकुदमा प्रयोग भएका यी प्रविधिले खेल प्रविधि उद्योगमा सकारात्मक र दिगो प्रभाव पारिरहेका छन् । शेन्जेनस्थित एक प्रविधि कम्पनीका प्रमुख ली जीले एआईको विकाससँगै खेल प्रकाश प्रणाली र डिजिटल सामग्रीको संयुक्त प्रदर्शन समाधान झनै लोकप्रिय बन्दै गएको बताउनुभएको छ । पान हेलिनका अनुसार, खेलकुदमा देखाइएको प्रविधिले उद्योग उत्पादनकर्तालाई व्यावहारिक सन्दर्भ र दिशा प्रदान गर्दै ग्रेटर बे एरियाको डिजिटल तथा बुद्धिमान विकासलाई मजबुत बनाइरहेको छ । रासस/सिन्ह्वा